काठमाठौं । इंग्लिस क्लब आर्सनलले फ्रेन्च क्लब लेन्सलाई ६-० ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलललाई सानदार जित दिलाउन ६ फरक खेलाडीले गोल गरे ।
लण्डन क्लब आर्सनल सात वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।
आर्सनलका लागि काऐ हाभार्ट, गाब्रीएल जेसस, बुकायो साका, गाब्रीएल मार्टिनेली र मार्टिन ओडेगार्डले पहिलो हाफमा गोल गरे । यस्तै जर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।
जितपछि समूह बी मा आर्सनल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ र एक खेलअघि नै समूह विजेता बन्ने पक्का भएको छ ।
यस्तै सेभियालाई ३-२ ले पराजित गर्दै पीएसभी आइन्डहोभन पनि समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । पीएसभीको ५ खेलबाट ८ अंक छ । लेन्स र सेभिया भने समूह चरणबाटै बाहिरिएका छन् ।
युनाइटेडले अझै कुर्नुपर्ने
आर्सनल नकआउट चरण पुग्दा म्यानचेष्टर युनाइटेडले भने अझै कुर्नुपर्ने भएको छ ।
समूह ए मा रहेको युनाइटेडले दुई गोलको अग्रता गुमाउँदा टर्किस क्लब गालातासारेसँग ३-३ को बराबरी खेल्दै अंक बाँडेको हो । युनाइटेडका लागि अलेजान्द्रो गार्नाचोले १८ मिनेटभित्रै दुई गोल गरेका थिए । अर्को गोल स्कट म्याक टोमिनेले गरे ।
गालातासारेका लागि हाकिम जियाचले दुई तथा के अक्टुरकोग्लुले एक गोल गरे । यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेल्यो ।
बायर्न यसअघि नै नकआउट चरणमा पुगिसकेको छ र दुई बराबरीपछि नकआउट चरणमा पुग्ने होडमा तीन टिम छन् ।
कोपनहेगन र गालातासारेको समान ५ अंक छ भने युनाइटेड ४ अंकसहित पूछारमा छ । युनाइटेडले अन्तिम खेल बायर्नसँग खेल्दैछ । नकआउट चरणमा पुग्न युनाइटेडले बायर्नलाई हराउनैपर्नेछ भने गालातासारे र कोपनहेगको खेल बराबरी हुनुपर्नेछ ।
बेलिङघमको कीर्तिमान
समूह सी अन्तर्गत खेलमा रियल मड्रिडले नापोलीलाई ४-२ ले पराजित गर्दा युवा स्टार जुड बेलिङघमले कीर्तिमान बनाए । नापोली विरुद्धको गोलपछि बेलिङघम च्यामपियन्स लिगको पहिलो चारै खेलमा गोल गर्ने रियल मड्रिडका पहिलो खेलाडी बने ।
२० वर्षीय बेलिङघहमले यस सिजन रियलका लागि सबैखाले प्रतियोगितामा १६ खेल खेल्दा १५ गोल गरिसकेका छन् ।
रियलका लागि रोड्रिगो, निकोलस पाज मार्टिनेज र जोसेलुले पनि एक एक गोल गरे । नापोलीका लागि जिओभानी सिमिओनी र आन्द्रे अङगुएसाले एक एक गोल गरे ।
जितपछि रियल ५ खेलमा शतप्रशति नतिजासहित १५ अंक जोडेर शीर्ष स्थानमा छ । रियल यसअ३ नै नकआउट चरणमा पुगिसकेको छ । नापोली ७ अंकसहित दोस्रोमा छ । एससी ब्रागा ४ अंकसहित तेस्रोमा छ ।
नापोलीले भने नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । अब नापोलीले ब्रागासँग बराबरी मात्र खेले पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्नेछ ।
प्रतिक्रिया 4