+

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

२०८० मंसिर  १४ गते १४:४९ २०८० मंसिर १४ गते १४:४९
शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ?

काठमाडौं । अक्सिजन शरीरको लागि एकदमै आवश्यक तत्त्व हो । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको मात्रा कायम हुनुपर्छ । किनभने शरीरमा अक्सिजनको मात्रा घट्दा सबैभन्दा बढी असर हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पर्छ ।

शरीरमा अक्सिजनको स्तरले हाम्रो रगतबाट शरीरभरि कति अक्सिजन फैलिरहेको छ भनेर बताउँछ । शरीरमा अक्सिजन पुर्‍याउने काम रातो रक्त कोषिकाले गर्छ, तिनीहरूले फोक्सोबाट अक्सिजन लिएर शरीरको हरेक कोषमा पुर्‍याउँछन् । कोषिकाहरुलाई ऊर्जा उत्पादन गर्न अक्सिजन चाहिन्छ । जबसम्म शरीरमा अक्सिजनको मात्रा सामान्य रहन्छ, तबसम्म शरीर स्वस्थ रहन्छ ।

कति हुनुपर्छ शरीरमा अक्सिजन ?

औंलामा नाप्ने पल्स अक्सिमिटरले मापन गर्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेवल ९५ देखि ९८ प्रतिशतसम्म हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या हुँदा शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । समुन्द्री सतहमा बसेको मान्छेको अक्सिजन लेवल ९७ प्रतिशत हुन्छ ।

अलिकति उचाइको पहाडी क्षेत्रमा बसेको मान्छेको अक्सिजन लेवल ९५ देखि ९८ को रेन्जमा हुन्छ । धेरै उचाइ सगरमाथा वा बेस क्यापमा भएका मान्छेमा अक्सिजनको मात्रा ८५ प्रतिशत जति पनि हुन सक्छ । उचाइले हावामा अक्सिजनको चाप र बिरामीको अवस्थाले शरीरमा अक्सिजनको मात्रा निर्धारण गरेको हुन्छ ।

कसैलाई लामो समयदेखि फोक्सोको समस्या छ भने उनीहरूमा ९० प्रतिशत अक्सिजन छ भने पनि त्यो सामान्य नै हो । तर कसैलाई निमोनिया भएर अक्सिजन घटेको छ भने त्यस्तो व्यक्तिलाई अतिरिक्त अक्सिजन नै दिनुपर्ने हुन सक्छ ।

शरीरमा अक्सिजनको मात्रा घट्दै गएको कसरी थाहा पाउने ?

अक्सिजनको कमी भएमा कतिपयलाई सास फेर्न गाह्रो हुन थाल्छ । शरीरमा रगतको प्रवाह सुस्त हुन्छ, जसले गर्दा बेचैनी र घबराहट बढ्छ । यस्तो अवस्थामा मुटुको धड्कन असामान्य रूपमा बढ्छ । साथै अन्य लक्षण टाउको दुख्ने, छाती दुख्ने, दृष्टिमा समस्या, चक्कर लाग्ने र बेहोस भएर ढल्ने पनि हुन्छ ।

शरीरमा अक्सिजनको कमी हुनुको कारण के हो ?

वायुमण्डलमा अक्सिजनको कमी भयो भने वा विभिन्न स्वास्थ्य समस्यामा शरीरमा अक्सिजनको कमी हुन सक्छ । हामी धेरै उचाइमा गयौं भने त वायुमण्डलमा नै अक्सिजनको कमी हुन्छ र शरीरमा पनि कमी हुन्छ ।

झ्याल-ढोका बन्द गरेर ग्यास गिजर वा हिटर बाल्दा कोठामा अक्सिजनको कमी हुन्छ र शरीरमा पनि अक्सिजन कम हुन्छ ।

विभिन्न समस्याका कारण फोक्सोले राम्रोसँग काम नगर्दा पनि यो समस्या हुन सक्छ । फोक्सोमा रक्तसञ्चार राम्ररी नपुगेमा शरीरमा अक्सिजनको कमी हुन्छ ।

शारीरिक रूपमा सक्रिय नहुने मानिसको पनि शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । फोक्सोको दीर्घकालीन रोगहरू निमोनिया, दम रोगमा पनि शरीरमा अक्सिजनको मात्रा घट्छ । फोक्सोको बाथ रोग भएर अक्सिजन रगतमा पुग्न नपाउँदा वा मुटु रोग भएकाहरूमा पनि अक्सिजनको कमी हुन सक्छ ।

यदि आहारमा आइरनको मात्रा कम छ भने रगतमा अक्सिजनको मात्रा कम हुनेछ । आइरन रातो रक्त कोषिकाहरुको एक प्रमुख तत्त्व हो । रातो रक्त कोषिकाहरुले फोक्सोसहित सम्पूर्ण शरीरमा अक्सिजन प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

शरीरमा अक्सिजनको आपूर्ति बढाउने विधि के हो ?

शरीरमा अक्सिजनको कमी हुनु भनेको आकस्मिक अवस्था हो । त्यसैले अस्पताल पुग्नुभन्दा अघि घरमै केही प्राकृतिक विधिबाट शरीरमा अक्सिजन आपूर्ति गर्न सकिन्छ । घरमा अक्सिजनको मात्रा बढाउन झ्याल-ढोका र भेन्टिलेटर खुल्ला छोड्नुपर्छ । हिटर, गिजर चलाएको छ भने बन्द गर्नुपर्छ । घरमा अक्सिजनको मात्रा बढाउने स्नेक प्लान्ट, मनी प्लान्ट जस्ता बिरुवा रोप्नुपर्छ ।

छातीमा खकार जमेर श्वासप्रश्वासमा समस्या भएको छ भने खोकेर त्यो खकार बाहिर निकाल्ने प्रयास गर्नुपर्छ । लामो सास फेर्नुपर्छ । शरीरमा अक्सिजनको कमी भयो भने कोरोना संक्रमणको बेलामा एकदमै प्रचलित विधि घोप्टो परेर सुत्ने त्यो पनि गर्न सकिन्छ । घोप्टो परेर सुत्दा शरीरमा अक्सिजन बढाउन मद्दत गर्छ ।

कसैलाई दम रोग छ र शरीरमा अक्सिजनको कमी भएको छ भने ‘नेबुलाइजर’ बाफ लिने मेसिन र तान्ने औषधिको प्रयोग गरेर पनि शरीरमा अक्सिजन बढाउन सकिन्छ । यी औषधिले श्वास नलीलाई फुलाउँछ र अक्सिजन शरीरमा पुग्छ ।

यी सबै अस्थायी विधि हुन कुनै रोगको कारण शरीरमा अक्सिजन कमी भएको हो भने त्यो रोग पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

अक्सिजन डा. राजु पंगेनी शरीर
डा. राजु पंगेनी
लेखक
डा. राजु पंगेनी
छातीरोग तथा सघन उपचार विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४४५१ एमडी, डीएम हाल काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?