
१४ मंसिर, काठमाडौं । नेपालमा कृषि क्षेत्रमा काम गर्ने महिलाको संख्या पुरुषको तुलनामा धेरै देखिएको छ । तर जमिनको स्वामित्वमा पुरुषहरुको बर्चस्व रहेको बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणना २०७८ अन्तर्गतको कृषि जग्गामा महिला र पुरुषको कानुनी स्वामित्व सम्बन्धी विवरणमा उल्लेख छ ।
नेपालमा सक्रिय रुपमा कृषिमा कुल एक करोड ३२ लाख ११ हजार ३४९ जनसंख्या संलग्न छ । त्यसमध्ये ६८ लाख ६३ हजार ४१२ जना महिलाहरु कृषि पेशामा संलग्न रहेको कार्यालयको तथ्यांक छ ।
यो कृषि पेशामा आबद्ध कुल जनसंख्याको ५२ प्रतिशत हो । त्यस्तै, कृषिमा सक्रिय सहभागी पुरुषको संख्या ६३ लाख ४७ हजार ९३६ जना छ, यो ४८ प्रतिशत मात्रै हो ।
तर, जमिनको स्वामित्वको हिसाबले भने महिलाहरु पछाडि रहेको तथ्य पनि सार्वजनिक भएको छ । नेपालको जनसंख्यामध्ये ४१ लाख ५४ हजार ३४३ जनाको नाममा महिला वा पुरुष छुट्टिने हिसाबले जमिनको स्वामित्व छ । तर, यसमध्ये ६५.५६ प्रतिशत हिस्सा पुरुषको छ भने ३४.४ प्रतिशत हिस्सा मात्रै महिलाको छ ।
विवरणअनुसार २७ लाख २३ हजार ६२५ जना पुरुषसंग खेतीयोग्य जमिनको कानुनी हक वा स्वमित्व हुने लालपुर्जा छ । यसैगरी १४ लाख ३० हजार ७ सय १९ जना महिलासँग जमिनको स्वामित्व भएको लालपूर्जा रहेको देखिन्छ । बाँकी स्वामित्व भने कि त संयुक्त रुपमा वा अन्य प्रकारको रहेको कार्यालयले जनाएको छ ।
कृषि पेशमा आबद्ध कुल महिलाको तुलनामा जग्गाको स्वामित्व भएका महिलाको हिस्सा २० दशमलव ८ प्रतिशत मात्रै छ, जबकि पुरुषहरुमा त्यस्तो हिस्सा ४२.९ प्रतिशत छ ।
पहिलो पटक भएको गणनाको तथ्याङ्कले खेतिपातीमा महिलाको सहभागिता धेरै रहे पनि जमिनमाथिको उनीहरुको स्वमित्वमा भने कमजोर पहुँच रहेको देखिएको छ ।
सार्वंजनिक भएको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा कृषियोग्य जमिनमा कुल जनसंख्याको हिस्सामध्ये महिलाको नाममा जमिनको स्वमित्व सबैभन्दा धेरै छ । यो प्रदेशमा जग्गाधनी महिलाको हिस्सा ३८.५ प्रतिशत छ ।
यस्तै सबै भन्दा कम मात्रामा जग्गामा महिलाको स्वमित्व रहेको प्रदेश कर्णाली हो । यो प्रदेशमा २८.७ प्रतिशत मात्रै महिलाहरु खेतियोग्य जमिनको लालपुर्जा माथिको पहुँचमा छन् ।
जमिनमा स्वमित्व रहने महिलाको हिस्सा धेरै रहेको दोस्रो प्रदेश कोशी हो । सो प्रदेशमा ३७.२ प्रतिशत महिलाको जमिनमा एकल स्वमित्व छ ।
यस्तै, मधेशमा ३५.८ प्रतिशत, लुम्बिनीमा ३४.४ प्रतिशत र केन्द्रीय राजधानी रहेको बागमती प्रदेशमा ३१.५ प्रतिशत महिलाले मात्रै जग्गाको एकल स्वमित्व पाएका छन् । सुदूरपश्चिम प्रदेशका महिलाहरुको जग्गा माथिको एकल स्वामित्व ३०.६ प्रतिशत मात्रै छ ।
तथ्याङ्क कार्यालयका अनुसार नेपालमा कृषि जग्गामा स्वमित्व वा हक सुरक्षित हुने वयस्क (१८ वर्ष नाघेका) कृषि जनसंख्या ३१.४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4