+

खेल संघ वर्गीकरण गर्न युवराज लामाको संयोजकत्वमा कार्यदल गठन

२०८० मंसिर  १४ गते १८:३७ २०८० मंसिर १४ गते १८:३७
खेल संघ वर्गीकरण गर्न युवराज लामाको संयोजकत्वमा कार्यदल गठन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्य–सचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने व्यवस्था भए अनुरुप राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ ।

सदस्यहरुमा राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सह–महासचिव पिताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स फेडरेसन, नेपालका अध्यक्ष गोविन्दप्रसाद भट्टराई रहेका छन् । प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन् ।

खेल संघलाई क्रियाशील बनाइ खेलकुद गतिविधिहरुको कार्यन्वयनमा प्रभावकारिता ल्याउन बुधबार सदस्य–सचिव टंकलाल घिसिङबाट कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।

कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र राखेपका सदस्य–सचिव टंकलाल घिसिङ समक्ष प्रतिवेदन पेश गर्नु पर्ने छ ।

घिसिङ राखेपको नेतृत्वमा आएपछि २४ वटा खेल संघको निर्वाचन भइसकेको छ । कराते, शारीरिक सुगठन, मुवाँथाइ र पेन्टाथलन संघको एकीकरण समेत भइसकेको छ ।

युवराज लामा राष्ट्रिय खेलकुद परिषद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय