
१४ मंसिर, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि किनेको च्याङ्ग्रा प्रतिकिलो १२५ रुपैयाँ मूल्य घटाएर बिक्री गर्ने भएको छ ।
लामो समयदेखि बिक्री नभएर बसेका ९० वटा च्याङ्ग्रालाई अब एकै जना व्यापारी र खरिदकर्ताले जति वटा पनि खरिद गर्न सक्ने गरी बिक्री गर्ने र मूल्य पनि घटाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार चन्दले अब जुनसुकै व्यापारी वा ग्राहकले जति ओटा पनि च्याङ्ग्रा खरिद गर्न सक्ने बताए । यसअघि प्रतिउपभोक्ता एउटा मात्रै च्याङ्ग्रा किन्नु पर्ने व्यवस्था थियो ।
दशैंमा ल्याएको च्याङ्ग्रा तिहार र छठ सकिंदा पनि बिक्री नभएको कम्पनीले जनाएको छ । ‘अहिले खोरमा रहेको ९० वटा च्याङ्ग्रा बिक्री गर्न अब थप सहज गरेका छौं,’ चन्दले भने, ‘अब ग्राहकले जति वटा पनि किन्न सक्छन् । मूल्य पनि प्रतिकिलो १ हजार १२५ रुपैयाँ तोकिएको छ ।’
अहिले खोरमा रहेको च्याङ्ग्राको औसत जिउँदो तौल ३० देखि ३५ किलोको बीचमा छ । यस अघि दशैंमा कम्पनीले १ हजार २५० रुपैयाँ प्रतिकिलोमा च्याङ्ग्रा बिक्री गरेको थियो ।
प्रतिक्रिया 4