+
+

अर्थतन्त्रले छिट्टै सही ‘ट्र्याक’ समात्ने छ

पूर्णबहादुर खड्का/कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का/कार्यबाहक प्रधानमन्त्री
२०८० मंसिर १५ गते १५:२९

कोभिड-१९ को विश्वव्यापी संकट, रुस-युक्रेन युद्ध र इजरायल र प्यालेस्टाइनबीचको संघर्ष लगायतका कारण अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ । सानो अर्थतन्त्र भएको नेपाल पनि यसबाट अछुतो छैन । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ।

बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैब दबाबमा रहिरहेको छ । त्यसमाथि पूँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मिहिनेत गर्नुपर्ने स्थिति छ । सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमहरूले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ । मुलुकसँग यतिबेला दश महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति छ । यो सुखद कुरा पनि हो । यसो भएतापनि अर्थतन्त्रका धेरै परिसूचकहरू अझै पनि पूर्णतः जोखिम मुक्त भइसकेका छैनन् । यस्तो परिस्थितिमा सरकार, निजी क्षेत्र र सेजन लगायतका संस्थाहरू एकै ठाउँमा उभिएर अर्थतन्त्रको स्थायित्व र सबलीकरणका लागि रचनात्मक संवाद र सहकार्य गर्दै अघि बढ्नुपर्ने स्थिति छ।

अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर छ र सुधारका लागि यथासम्भव प्रयास गरिरहेको छ ।

बाह्य क्षेत्र सुधार भइरहँदा यतिबेला आन्तरिक अर्थतन्त्र सुधारको विषयलाई प्राथमिकतामा राखी अघि बढाउनुपर्ने खाँचो छ। उच्च ब्याजदर, घट्दो माग, पूँजीबजार र घरजग्गामा छाएको मन्दी लगायतका समस्या निजी क्षेत्रले बारम्बार उठाइरहेको छ । अर्थतन्त्रमा देखिएका यी सबै समस्या समाधानमा सरकार गम्भीर छ र सुधारका लागि यथासम्भव प्रयास गरिरहेको छ । सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ । घरजग्गा कारोबार र पूँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रूपमै विभिन्न कदमहरू चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा विस्तारै सुधारका संकेत देखिन पनि थालेका छन् । निजी क्षेत्रले उठाएका अन्य विषयको सम्बोधनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले पनि चासो लिनु भई उहाँहरूसँग नियमित छलफल गरी सुधारका लागि हरसम्भव प्रयत्न गरिरहनु भएको छ । सरकारले देखाएको सक्रियताका कारण निजी क्षेत्र पनि विश्वस्त हुने अवस्थामा पुगेको छ।

वर्तमान सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध छ । यसका लागि सरकारले निजीक्षेत्र मैत्री नीति तथा उपायहरू कार्यान्वयनमा ल्याइरहेको छ । अब निजी क्षेत्रले पनि सरकारले उपलब्ध गराएको लचिलो र अनुकूल नीतिगत संरचना तथा सरकारले तयार गरेका औद्योगिक तथा व्यापार पूर्वाधारहरूको फाइदा उठाउँदै लगानी र रोजगारी वृद्धि मार्फत अर्थतन्त्रको विकासमा थप सहयोग पुर्‍याउनु पर्दछ ।

एकअर्कालाई दोषारोपणभन्दा पनि सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौं भने अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण सहयोग हुन सक्छ ।

अर्थतन्त्रमा समस्या मात्र छैन । केही आशा र सुधारका प्रष्ट चित्र पनि देखिएका छन् । पर्यटक आगमन बढ्दो छ, सेवा क्षेत्रमा लगानी बढ्न थालेको छ, विप्रेषण पनि उत्साहजनक छ । सूचना प्रविधि क्षेत्रमार्फत नेपाल भित्रने आम्दानी अर्थतन्त्रको नयाँ आयामको रूपमा देखापरेको छ । राजस्व बढाउने सन्दर्भमा सरकारले निरन्तर प्रयास गरिरहेको छ। पूँजीगत खर्चलाई उच्च र गुणस्तरीय बनाउन योजनाबद्ध कार्यतालिकामा सरकारले काम गरिरहेको छ । लगानी बढाउन लगानी सम्मेलनको तयारी पनि भइरहेको छ । अर्थतन्त्रमा देखिन थालेका यस्ता सकारात्मक प्रगतिलाई पनि हामीले बिर्सनु हुँदैन । अर्थतन्त्र समस्यामा पर्‍यो मात्र भनिरहँदा त्यसले सकारात्मक कुराहरू छायामा पर्ने भएकोले अर्थतन्त्रको समीक्षा गर्दा यी कुराहरूलाई पनि ध्यान दिनु पर्छ ।

हाम्रो अर्थतन्त्र हामीले नै सुधार गरी बलियो बनाउने हो । अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक सम्वाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार छ । अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौं । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौं भने अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण सहयोग हुन सक्छ ।

देशको अर्थतन्त्रमा देखिएको केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा उठाउन खोजेको प्रति पनि सरकार गम्भीर छ । सरकार आम जनताको हरेक सुख–दुखको साथी हो। सर्वसाधारण जनसमुदायलाई सरकारमाथि भरोसा राख्न विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । हजारौं नागरिकको बलिदान र लामो समयको राजनैतिक संघर्षबाट प्राप्त यो संघीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन । यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सुदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो । सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको छ र चाँडै अर्थतन्त्रले सही ट्रयाक समाउने छ ।

(आर्थिक पत्रकार समाज (सेजन) नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा कार्यबाहक प्रधानमन्त्री खड्काले राखेको मन्तव्यको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?