
१५ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाको ५० जना नगर प्रहरी पदका लागि ३१८ जना भिड्ने भएका छन् । महानगरपालिकाले ४ मंसिरमा समावेशी र खुल्ला गरी तह विहिन नगर प्रहरीको आवेदन खुलाएको थियो ।
महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाँईको अनुसार ५० पदको लागि ८२८ जनाको आवदेन परे पनि पहिलो चरणको परीक्षा (प्रारम्भिक स्वास्थ्य परीक्षण)को लागि ६३२ जना उपस्थित भएका थिए, जसमध्ये ३१८ ले अन्तिम शारिरिक परीक्षा दिने भएका हुन् ।
‘ललितपुरले सशस्त्र प्रहरी बल मार्फत नगरप्रहरी छानिरहेको छ । अब अन्तिम शारीरिक परीक्षामा उत्तिर्ण हुनेहरु लिखित परीक्षामा सहभागी हुन्छ र अन्तिममा अन्तर्वाता पश्चात ५० जना नगरप्रहरी छानिन्छन,’ गुरागाँईले अनलाइनखबरसँग भने ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले नगर प्रहरीको अभाव रहेको भन्दै अब थपिएपछि चक्रपथ बाहिर पनि ड्युटी बढ्ने बताए ।
‘अहिले ७० जना नगरप्रहरी मात्रै रहेका छन्, पहिले काम पनि फुटपाथ र ठेला हटाउने मात्रै थियो । अब सम्पदा संरक्षण, होर्डिङ बोर्ड हटाउने, सरसरफाई गने,आगजनी नियन्त्रण, विपद नियन्त्रणमा समेत हाम्रो टोली सक्रिय हुन्छ ।’
ललितपुर नगर प्रहरीले अब ५ मिनेट भित्र महानगरको सबै क्षेत्रमा नगर प्रहरीको पहुँच हुने बताए । हाछेथुले अब भैंसीपाटी, धापाखेल र लगनखेल बसपार्कमा नगर प्रहरीको एकाई थप गर्ने बताए ।
प्रतिक्रिया 4