
काठमाडौं । अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ ।
सामाजिक सुरक्षा दिवसको अवसरमा शुक्रबार इन्स्पायर नेपालले काठमाडौंमा गरेको ‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनको सवालमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन कमजोर रहेको बताए ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा लामो समयदेखि सामाजिक संरक्षणका फरक-फरक कार्यक्रम सञ्चालित हुँदै आउँदा समस्या भइरहेको बताए । ती कार्यक्रम आ-आफ्नै ऐन, कानुन र कार्यविधिद्वारा निर्देशित हुँदै आएकाले कार्यान्वयनमा कानुनी र संरचनागत एकरूपता नभएको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक डा. दीपेश घिमिरेले सामाजिक सुरक्षाको वर्तमान अवस्था, उपलब्धि, समस्या र आगामी दिनमा सबै नागरिकको पहुँचमा सामाजिक सुरक्षा कार्यक्रम पुर्याउन के गर्न आवश्यक छ भन्ने सुझाव दिए ।
कार्यक्रममा सामाजिक संघसंस्थाका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधिलगायत ४५ जनाभन्दा बढीको सहभागिता थियो ।
प्रतिक्रिया 4