+

कस्तो छ नयाँ ढाँचाको र टिम थपिएको टी-२० विश्वकप ?

२०८० मंसिर  १७ गते १६:०० २०८० मंसिर १७ गते १६:००
कस्तो छ नयाँ ढाँचाको र टिम थपिएको टी-२० विश्वकप ?

१७ मंसिर, काठमाडौं । सहभागी टोलीको संख्या थप र नया ढाँचामा हुने प्रतियोगिता । आईसीसी पुरुष टी-२० विश्वकपको २०२४ को संस्करणमा नयाँ र ऐतिहासिक क्षणहरु ल्याउने निश्चित छ ।

भर्खरै सम्पन्न अफ्रिका क्वालिफायरपछि अर्को वर्ष अमेरिका र वेष्ट इन्डिजमा हुने २० टिमको टुङ्गो लागिसकेको छ ।

नामिबिया र युगान्डा क्षेत्रीय छनोटबाट छनोट हुने अन्तिम दुई टोली रहे । यसअघि नै विभिन्न क्षेत्रबाट छनोट खेलेर ६ टोली छनोट भएका थिए ।

वेष्ट इन्डिजसँगै आयोजकको रुपमा अमेरिका सिधै छनोट भएको थियो । अमेरिकाको लागि यो महत्वपूर्ण प्रतियोगिता हुनेछ । उसले आयोजकसँगै टी-२० विश्वकपमा पनि डेब्यु गर्दैछ ।

यसपटक अमेरिकासँगै क्यानडा र युगान्डाले टी-२० विश्वकपमा डेब्यु गर्दैछन् । नवौँ संस्करणको टी-२० विश्वकप २०२४ जुन ४ देखि ३० सम्म हुनेछ ।

फरक हुनेछ ढाँचा

२०२४ मा हुने टी-२० विश्वकपको ढाँचा यसअघिका भन्दा फरक हुनेछ । २०२१ र २०१२ मा पहिलो चरण र सुपर १२ फर्म्याटमा टी-२० विश्वकप खेलाइएको थियो ।

यसपटक भने नयाँ फर्म्याटमा हुनेछ । नकआउट चरणअघि नै दुई चरणको खेल हुनेछ ।

सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ५-५ टोली हुनेछन् ।

समूह चरणको खेलपछि चारवटा समूहबाट शीर्ष दुई टोली सुपर एटमा पुग्नेछन् । त्यहाँ ८ टोलीलाई ४-४ टोलीको दुई समूहमा विभाजन गरिनेछ ।

त्यसपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

कुन टिम कसरी छानिए ?

आयोजकको रुपमा वेष्ट इन्डिज र अमेरिकाले आगामी टी-२० विश्वकपको पहिलो दुई स्थान सुरक्षित गरिसकेका थिए ।

त्यसपछि सन् २०२२ को टी-२० विश्वकपमा गरेको प्रदर्शनका आधारमा शीर्ष ८ टोली अनी त्यसपछि वरीयतामा रहेका दुई उत्कृष्ट टोली गरी १० टोली सिधै छनोट भए ।

२०२२ को टी-२० विश्वकपमा शीर्ष ८ मा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका सिधै छनोट हुँदा त्यसपछि टी-२० मा वरीयतामा माथि हरेका दुई टिम अफगानिस्तान र बंगलादेशले पनि सिधै स्थान पक्का गरेका थिए ।

बाँकी ८ टोलीको टुङ्गो भने रिजनल क्वालिफायरबाट लगाइएको थियो ।

फरक रिजनल क्वालिफायर

यसअघि टी-२० विश्वकपका लागि क्षेत्रिय छनोट हुँदै ग्लोबल क्वालिफायर सम्मको छनोट प्रतियोगिता खेल्नुपर्थ्यो । तर आइसीसीले यस पटक भने ग्लोबल क्वालिफायर नखेलाई क्षेत्रीय छनोट मात्र आयोजना गर्‍यो । जसले गर्दा आफ्नो क्षेत्रमा उत्कृष्ट हुने टोलीमात्र टी-२० विश्वकपमा छनोट भए ।

क्षेत्रीय छनोट अन्तर्गत अफ्रिका, एसिया र युरोपबाट दुई-दुई तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट एक-एक कोटा छुट्याइएको थियो ।

त्यसमा अमेरिका क्षेत्रबाट क्यानडा, एसियाबाट  नेपाल र ओमान, इस्ट एसिया प्यासिफिक पपुवा न्यु गिनी, युरोपबाट आयरल्याण्ड र स्कटल्याण्ड तथा अफ्रिकाबाट नामिबिया र युगान्डा छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाउन सफल भए ।

अमेरिका क्षेत्रबाट दुई चरणको छनोट भएको थियो । चार टोली सहभागी अन्तिम चरणको फाइनल प्रतियोगिता लिग चरणमा खेलाइएको थियो । त्यसमा शीर्ष स्थानमा रहँदै क्यानडा छनोट भयो ।

एसियामा क्षेत्रीय फाइनलअघि दुई समूहको छनोट प्रतियोगिता भएको थियो । त्यसबाट कुवेत र मलेसिया क्षेत्रीय फाइनलमा पुगे । क्षेत्रीय फाइनलमा कूल ८ टोली सहभागी थिए भने दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।

प्रतियोगिताको फाइनलमा पुगेका नेपाल र ओमान विश्वकपमा छनोट भए ।

युरोपको क्षेत्रीय फाइनलमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा खेलाइएको यस क्षेत्रबाट शीर्ष दुईमा रहँदै आयरल्याण्ड र स्कटल्याण्ड छनोट भए ।

इस्ट एसिया प्यासिफिकको अन्तिम चरणमा चार टोलीले प्रतिस्पर्धा गरेका थिए त्यसमा लिगको शीर्ष स्थानमा रहेर पपुवा न्य गिनी छनोट भयो ।

अन्तिममा भएको अफ्रिका छनोटमा फाइनलमा सात टोलीले प्रतिस्पर्धा गरेका थिए । जसबाट नामिबिया पहिलो र युगान्डा दोस्रो हुँदै विश्वकपमा छनोट भएको हो ।

टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय