
काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । राजधानी र मोफसलका केही हलमा अहिले पनि फिल्म प्रदर्शन भइरहेको निर्माता राजेश वंशलले जानकारी दिए ।
५१ दिनको खुसी सेलिब्रेसन गर्न आयोजित समारोहमा कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी, निर्माता वंशल लगायत सहभागी रहे । निर्देशक रायमाझी भने फिल्म चलाउन अमेरिका दौडाहामा छन् ।
फिल्मले यो मितिसम्म आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता वंशलले जानकारी दिए । तर यो कमाइ आधिकारिक नभएको उनको भनाइ छ । ‘अहिले पनि कतिपय हलमा चलिरहेको छ । हिसाब आउन बाँकी छ । त्यो मोटामोटी हिसाब हो,’ उनले भने ।
डेब्यु अभिनेता सपुतले आफ्नो लागि यो अविश्वसनीय सफलता भएको बताए । ‘बच्चैदेखि चलचित्र खेल्ने सपना देखेको थिएँ । त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो,’ उनले भने, ‘यो मेरो लागि अविश्वसनीय सफलता हो । दर्शकबाट पाएको अपार प्रेमको हद हो । सबैप्रति कृतज्ञ छु ।’
केकीले ५१ दिनको सेलिब्रेसन आफ्नो लागि पहिलो अनुभव रहेको बताइन् । वितरक छविराज ओझाले फिल्मलाई हलमा एक साता पनि टिक्न मुस्किल भइरहेको समयमा ‘परदेशी २’ को यो सफलता आफैंमा ठूलो रहेको बताए । उनका अनुसार यो फिल्म काठमाडौंका आईएनआई, गोपीकृष्ण, अष्टनारायणसहित पोखराका हलमा चलिरहेको छ ।
तस्वीरहरु
प्रतिक्रिया 4