
१७ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस–२०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो ।
सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवम् सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवम् सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु हुन् ।
राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एसियन पेन्टस् प्रालि, कृषि एवम् पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो ।
यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आईएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
परिसंघ सचिवालयमा आइतबार आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे ।
उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको समेत बताए । यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए ।
सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको समेत उनको भनाइ छ ।
प्रतिक्रिया 4