
१७ मंसिर, काठमाडौं । भक्तपुरको दुवाकोटका स्थानीयले सडक कालोपत्रेको माग राख्दै आइतबार प्रदर्शन गरेका छन् ।
ठेकेदार कम्पनीले ठेक्का सम्झौता अवधि सकिंदा समेत सडक कालोपत्रे नगरेपछि चाङ्गुनारायण नगरपालिका-२ का स्थानीय आन्दोलित भएका हुन् ।
संघीय सरकारको बजेटमा सल्लाघारी–वीर अस्पताल जाने सडक कालोपत्रेका लागि २ वर्ष अघि सीएम ब्राइट क्षितिज जेभी ठेकेदार कम्पनीसँग ३ कात्तिकभित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
स्थानीयहरुले पटक-पटक समयमै सडक कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालय भक्तपुरमा डेलिगेसन गएपनि सुनुवाइ नभएपछि आइतबार बिहानबाटै सडकमै खाजा र चिया पकाउँदै स्थानीय बासिन्दा र व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । बीच सडकमै ग्याँस चुलो लगाएर प्ले कार्ड सहित सडकमै स्थानीय बासिन्दा र व्यवसायीहरु बसेका कारण सो क्षेत्रको सडक अवरुद्ध भएको थियो । सडक कालोपत्रे थालेपछि मात्र आफूहरु सडकबाट हट्ने चेतावनी उनीहरूको छ ।
सडक कालोपत्रे नहुँदा दैनिक उढ्ने धुलो, धुवाँ र प्रदूषणका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहेको स्थानीय हरित न्यौपानेले बताए ।
४२ करोड रूपैयाँ बढी रकममा ठेक्का लागेको सो सडक कालोपत्रेका लागि चाँगुनारायण नगरपालिका-२ का वडाध्यक्ष सोम प्रधानसहितको टोलीले दशैं अघि डिभिजन कार्यालयका प्रमुखलाई भेटेर सडक कालोपत्रे तत्काल थाल्न दबाब दिएको थियो ।
सो क्रममा डिभिजन प्रमुखले ठेकेदार कम्पनीले १३ कात्तिकदेखि नै सडक कालोपत्रे गर्ने भन्दै आश्वासन दिएको उनले बताए । तर सडक डिभिजन प्रमुखले आश्वासन दिएको १ महिना कटिसक्दा पनि सडक कालोपत्रेको काम नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनले बताए ।
सडक कलोपत्रे गर्न सडक डिभिजन कार्यालय भक्तपुरले रकम निकासा नगरेकाले काम अगाडि बढाउन नसकेको जवाफ आफूहरुले ठेकेदार कम्पनीका प्रतिनिधिले दिने गरेको उनले बताए ।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्तरगर्तको बजेटमा सडक कालोपत्रेका लागि ठेक्का लागेकाले चाँगुनारायण नगरपालिकाले समन्वयकारी भूमिका र सहजीकरण मात्र गर्न सक्ने वडाध्यक्ष प्रधानले बताए ।
प्रतिक्रिया 4