
१८ मंसिर, काठमाडौं । भारतीय राज्य मिजोरमको विधानसभा चुनाव जोरम पिपुल्स मुभमेन्ट (जेडपीएम) ले शानदार जित हात पारेको छ ।
जेडपीएमले बहुमतभन्दा बढी २७ सिट जितेसँगै पूर्व आईपीएस अधिकारी लालदुहोमा मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
४० सदस्यीय विधानसभाको निर्वाचनमा सत्तारुढ दल मिजो नेशनल फ्रन्टले जम्मा १० सिट जितेको छ । यो अघिल्लो पटकभन्दा १७ सिट कम हो । चुनावमा पार्टी प्रमुख एवं मुख्यमन्त्री जोरमथंगा स्वयं पराजित भएका छन् ।
उनलाई आइजोल इसट–१ मा जेडपीएमले मुख्यमन्त्रीका रुपमा अगाडि सारेका लालदुहोमाले हराएका छन् । हारसँगै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
यो चुनावी नजिताले मिजोरमको सत्तामा कांग्रेस र मिजो नेशनल फ्रन्टको दबदबा तोडिएको छ ।
कांग्रेसको १० वर्ष शासन तोड्दै १९९८ को विधान सभा चुनावमा मिजो नेशनल फ्रन्ट विजयी भएपछि जोरमथंगा मुख्यमन्त्री बनेका थिए । उनले १० वर्ष शासन गरे ।
२००८ देखि २०१३ मा फेरि कांग्रेसको सरकार बन्यो । तर जोरमथंगा २०१८ मा फेरि सत्तामा फर्किए । यो चुनावमा कांग्रेसले भारतीय जनता पार्टी (भाजपा) विरोधी मुद्दा उठाए । उसले मणिपुर संकटको मुद्दा पनि उठाएको थियो ।
जम्मा २३ सिटमा उम्मेदवारी दिएको भाजपालाई सरकार गठनमा आफ्नो भूमिका हुने अपेक्षा थियो । तर ६ वटा क्षेत्रीय पार्टीहरुलाई मिलाएर लालदुहोमाले २०१८ को चुनावपछि बनाएको जोरम पिपुल्स मुभमेन्टले चुनाव जितेको छ ।
प्रतिक्रिया 4