+
+

अप्ठ्यारो नामका सजिला गायक डिजराज पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १२:३१

काठमाडौं । हुन त धेरैतिर भनेको सुनिन्छ- नाममा के छ र ? कुनै व्यक्ति, जनावर वा वस्तुलाई चिनाउन नाम प्रयोग गरिन्छ । यो एक हिसाबले पहिचान हो । हिजोआज अरुले धेरै प्रयोग नगरेको नाम राखेर बच्चाको न्वारान गरिदिने चलन छ, किनकि ‘युनिक’ नाम हुँदा अरुले सहजै चिन्छन् पनि ।

तर कतिपय अवस्थामा अत्यन्त दुर्लभ र झट्टै अर्थ दिने नाम नहुँदा सकस पनि भोग्नुपर्ने रहेछ । त्यसैमध्येको एक उदाहरण हुन् गायक डिजराज पौडेल । डिजराजलाई आफ्नो नाम मन नपर्ने होइन, तर सांगीतिक क्षेत्रमा आफू यसैकारण अलि ओझेलमा परेको हो कि जस्तो लाग्छ । ‘तिमी आउने बाटोमा’ जस्तो लोकप्रिय गीतका यी गायक अरुले गीतले चिन्ने तर नामले नचिन्ने अप्ठ्यारो भोगिरहेका छन् ।

‘धेरै ठाउँमा मलाई कार्यक्रममा बोलाउनुहुन्छ । मेरो नामै शुद्धसँग उच्चारण गरिदिनुहुन्न धेरै ठाउँमा । कतिले आउँदैहुन्छ डिजेराज भनिदिनुहुन्छ, यस्तो सुन्दा योङ दर्शकहरु डिजे राजु पो आउन लागेको हो कि भनेर बेग्लै हुटिङ गर्छन्,’ अनलाइनखबरसँग उनी सुनाउँछन्, ‘अनि म स्टेजमा पुग्दा आउट भनेको हुटिङ पनि सुन्छु । जब मेरा चर्चित गीतको एक लाइन सुनाउँछु अनि उहाँहरु ए यो गीत तपाईंको पो हो । राम्रो लाग्छ भनेर भन्नुहुन्छ ।’

डिजराजको यो दु:खेसोमा नामप्रतिको आक्रोश होइन, आफैंले नामलाई ब्राण्डिङ गर्न सकिएन कि भन्ने पनि हो । नाममा ‘कन्फ्युज’ भए पनि उनका गीतमा भने श्रोता-दर्शक पटक्कै कन्फ्युज छैनन् । अहिले पनि स्टेजमा उनको माग उत्तिकै छ जतिबेला ‘तिमी आउने बाटोमा’ सुपरहिट भएको बेला थियो । स्टेजमा दर्शक तताउने र मन्त्रमुग्ध पार्ने एकसे एक गीत छन् उनका ।

‘तिमी आउने बाटोमा फूल रोपिदिएँ’ त उनको सिग्नेचर गीत नै भइहाल्यो । त्यसबाहेक ‘सुनैको दरबार दिन तिमीलाई सक्दिनँ’, ‘चोका परेपछि’, ‘तिमी करोडमा म त रोडमा’, ‘फूलबुट्टे सारीमा,’ सुनको पैंचो सुनैले तिरौंला’ उनको रुचाइएका गीत हुन् । कन्सर्टमा यी गीत सुन्न श्रोताले वान्समोरको हुटिङ नै गरिरहेका हुन्छन् ।

डिजराजको नाम उनका बुबाले अरुभन्दा फरक हुन्छ भनेरै राखिदिएका थिए । न्वारानमा ‘ड’ बाट नाम राख्नुपर्ने भएपछि उनका बुबाले छोराको नाम ‘डिजराज’ राखिदिए । खासमा आफ्नो नामको शाब्दिक अर्थ नै भेटेका छैनन् डिजराजले । ‘तर पनि नामसँग खास गुनासो त होइन, स्टेजमा सही रुपमा उच्चारण गरिदिएर गीत मात्र होइन, नामको पहिचान पनि बनाइदिन सहयोग गरिदिए हुन्थ्यो भन्ने मेरो आग्रह हो,’ उनी भन्छन् ।

सिन्धुलीको दुधौली नगरपालिका स्थायी घर भएका डिजराजको सानैदेखिको सपना नै गायक बन्ने थियो । गायक बन्न सिन्धुलीदेखि काठमाडौंसम्मको यात्राको आफ्नै कथा छ । सुरुमा शिक्षण पेशा गरेका उनलाई गायकहरु रामकृष्ण ढकाल, यम बराल, राजेशपायल राईजस्तै आफ्नो पहिचान बनाउँछु भन्ने थियो । उनले नेपाली सुगम संगीतमा आफ्नो जबर्जस्त पहिचान पनि बनाएका छन् । तर उनलाई लाग्छ नामको ‘पहिचान’ चाहिं अझै बनेन कि !

डिजराज भन्छन्, ‘भन्नलाई त नाममा के छ र ? भन्छन् । तर धेरैथोक हुँदोरहेछ आफ्नो पहिचानका लागि । त्यसैले म आफूलाई अप्ठ्यारो नामको सजिलो गायक भन्न रुचाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?