+
+

स्वास्थ्यलाभपछि फिल्ममा फर्किंदै अभिनेता प्रकाश घिमिरे, शनिबारदेखि ‘महाजात्रा’मा जोडिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १३:०३
फाइल तस्वीर

काठमाडौं । घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्कने भएका छन् । शनिबार ‘महाजात्रा’ छायांकनसँगै उनी काममा फर्किन लागेका हुन् ।

‘शनिबारदेखि सेट ज्वाइन गर्दैछु । परिवारलाई बल्ल–बल्ल मनाएर काममा फर्किन लागेको हुँ । हल्का ढाड त अहिले पनि दुख्छ । मनले आँट्यो, शरीरले के भन्छ हेरौं,’ अहिले पोखरास्थित घरमै स्वास्थ्यलाभ गरिरहेका घिमिरेले अनलाइनखबरसँग भने ।

सुटिङका लागि घिमिरेलाई सघाउन उनकी सानी छोरी पनि काठमाडौं आउँदैछिन् । चार–पाँच दिनसम्म काठमाडौंमा बसेर महाजात्राको छायांकन गर्ने उनको तयारी छ । फिल्मका कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले पनि घिमिरेले सेट ज्वाइन गर्न लागेको बताए ।

डिसेम्बरमै अभिनेता हरिवंश आचार्य अमेरिका र बेलायत भ्रमणमा निस्किने भएपछि घिमिरे छायांकनलाई आउनुपर्ने भएको हो । निर्देशक प्रदीप भट्टराईले आचार्य र घिमिरेको एकसाथ छायांकन गर्ने तयारी गरिरहेका छन् ।

‘महाजात्रा’ सकिएपछि पुस मध्यदेखि रामबाबु गुरुङको डिग्री माइलाको सुटिङ थाल्ने घिमिरेको योजना छ । कात्तिक १० गते पोखराको नदीपुर–३ मा घाँस काट्ने क्रममा भीरबाट लडेर घिमिरे घाइते भएका थिए ।

चिकित्सकको सुझावअनुसार प्रकाशले अहिले पनि बिहान बेलुका हिंड्डुल गर्ने र फिजियोथेरापी गरिरहेका छन् । यसबाहेक बेलाबेलामा डाक्टरले फलोअपका लागि बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?