+
+

माउन्टेन इनर्जीको सेयरमा ४ दिनमै ३३ प्रतिशत गिरावट, किन घटिरहेको छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १७:०७

१९ मंसिर, काठमाडौं । माउन्टेन इनर्जीको सेयर मूल्य लगातार ४ दिनयता उच्च दरले घटिरहेको छ । गत बिहीबार, आइतबार र सोमबार लगातार १०–१० प्रतिशतले मूल्य घट्यो भने मंगलबार ८.९ प्रतिशत घट्यो । बिहीबार कारोबार खुल्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ थियो । त्यसयता ४ दिनसम्म उच्च दरले मूल्य घटेपछि मंगलबार कारोबार बन्द हुँदा मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ ९० पैसामा झरेको छ । ४ दिनमै कम्पनीको मूल्य ३३ प्रतिशत अर्थात् प्रतिकित्ता २१५ रुपैयाँले झरेको छ । यसरी कम्पनीको मूल्य झर्नुको मुख्य कारण संस्थापक सेयरको लकिङ पिरियड खुल्नु हो ।

जलविद्युत् कम्पनीहरुको साधारण सेयर सेयर बाँडफाँट भएको मितिले ३ वर्षपछि संस्थापकको सेयरमा लकिङ पिरियड खुल्छ । लकिङ पिरियड खुलेपछि संस्थापक सेयर पनि साधारण सेयरसरह उहीं मूल्यमा कारोबार गर्ने बाटो खुल्छ । यसरी ठूलो संख्यामा संस्थापक समूहको सेयर साधारणसरह बजारमा आउँदा आपूर्ति ह्वात्तै बढ्न जान्छ । सो सेयर नआउँदैबाट साधारण लगानीकर्ताले बेच्न थाल्छन् । माउन्टेनको अहिलेको अवस्थामा आपूर्ति बढ्न गई मूल्यमा ठूलो असर परेको लगानीकर्ता पिताम्बर खकुरेलले बताए ।

‘बिहीबार कम्पनीको मूल्य १० प्रतिशत घटेर पनि धेरैले बेच्न पाएनन्, आइतबार पनि त्यस्तै भयो, त्यसले लगानीकर्तामा झन् त्रास बढ्न गयो जसको असर सोमबार र मंगलबार पर्‍यो’ उनले भने ।

लकिङ पिरियड खुल्नुअघि नै ठूला लगानीकर्ताले आपूर्ति बढाउँदा कम्पनीको मूल्यमा विगत केही सातादेखि नै असर परिरहेको उनको भनाइ छ । ११ कात्तिकमा कम्पनीको सेयर ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

माउन्टेन इनर्जीको १७ मंसिर २०७७ मा सर्वसाधारण समूहको आईपीओ बाँडफाँट भएको थियो । जुन अवधि ३ वर्ष पूरा भएको छ । यसले गर्दा संस्थापकहरुले पनि साधारण सेयर बेचेर बाहिरिन खोज्दा आपूर्ति उच्च हुन गयो र मूल्यमा लगातार ठूलो गिरावट देखियो ।

‘केही दिन १० प्रतिशत मूल्य घटेर पनि बिक्री हुन नसकेपछि त होल्ड गरेका सर्वसाधारण पनि आत्तिएर बेच्न थाले,’ खकुरेलले भने ।

सीडीएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आईपीओ बाँडफाँट भएको ३ वर्ष पूरा भएपछि पनि सबै संस्थापक सेयरको लकिङ भने खुल्दैन । ‘त्यहाँ भएका सञ्चालकहरुको सेयरमा लकिङ खुलिसकेको हुँदैन, उनीहरुले बेच्न पाउँदैनन्,’ उनले भने ।

सञ्चालक पदबाट बाहिरिएको १ वर्षपछि मात्रै उनीहरुले सेयर बिक्री गर्न पाउँछन् । यद्यपि जलविद्युत् आयोजनाको कम्तीमा ५१ प्रतिशत सेयर संस्थापक समूहको हुने गरेको छ । त्यसमा केही हिस्सा सञ्चालकको रहने गरे पनि समग्रमा ठूलो परिमाणको सेयर साधारणमा रुपान्तरण हुँदा आपूर्ति बढ्न गई त्यसले मूल्यमा सिधा असर पार्ने गरेको छ ।

के कम्पनीको वित्तीय स्थिति खराब छ ?

कम्पनीको सेयर मूल्य निर्धारणमा आपूर्ति हुने सेयर संख्याका अलवा कम्पनीको वित्तीय स्थितिको प्रभाव महत्वपूर्ण हुन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी र नाफा केही संकुचन भए पनि वित्तीय स्थिति सबल नै छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट कम्पनीले कुल ४५ करोड ४८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा ४७ करोड २३ लाख कमाएको थियो । आम्दानी सामान्य घट्दा नाफामा पनि सामान्य असर परेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यो वर्षको सो अवधिमा २६ करोड ३६ लाख कमाएको छ । कम्पनीले ५ मेगावाटको टाडीखोला आयोजना र ४२ मेगावाटको मिस्त्रीखोला आयोजनाबाट आम्दानी गरिरहेको छ । पहिलो त्रैमासिक अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३९ पैसा छ । यही अनुपातमा वृद्धि हुँदा वार्षिक प्रतिसेयर आम्दानी ५३ रुपैयाँभन्दा धेरै हुन्छ । यद्यपि गत वर्षको पहिलो त्रैमासको तुलनामा प्रतिसेयर आम्दानी केही खुम्चिएको छ । गत वर्षको पहिलो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा छ । पहिलो त्रैमासिक विवरणअनुसार रिटर्न अन इक्विटी (आरओई) ३२ प्रतिशत छ । जसले गर्दा अन्य जलविद्युत् कम्पनीहरुको तुलनामा यसको वित्तीय स्थिति मजबुत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?