+
+

काठमाडौं–दिल्लीको हवाई भाडा अत्यधिक महँगो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १९:१०

१९ साउन, काठमाडौं । नेपालबाट भारत जाने हवाइ भाडा अत्यधिक महंगो पर्न थालेको छ । विगत केही सातादेखि भारतको दिल्ली जाने भाडा अत्यधिक महँगिएको हो । एक दुई दिनअघि मात्रै टिकट काट्न खोज्दा काठमाडौंदेखि दिल्लीको टिकट नै नपाउने अवस्था देखिएको छ ।

टिकेटिङ प्लाटफर्म टिकटभन्डार डट कममा २० मंसिर बुधबारका लागि हवाइ टिकट बुक गर्न खोज्दा टिकट नै उपलब्ध भएन । विहीबारका लागि पनि न्यूनतम भाडा नै ४६ हजार ९५ रुपैयाँ पुगेको छ ।

तीन दिनपछि शुक्रबारका लागि समेत न्यूनतम भाडा नै ३१ हजार ७३० रुपैयाँ पुगेको छ । एक सातापछिको मितिको टिकट पनि कम्तीमा १८ देखि २० हजार रुपैयाँ पर्न थालेको छ । जबकी, अन्य बेलामा दिल्लीका लागि ८ देखि १० हजार रुपैयाँदेखि टिकट पाइने गरेको थियो ।

यो पर्यटकीय सिजन भएकाले भारत जाने टिकट महँगो भएको ट्राभल एजेन्सीका सञ्चालकहरु बताउँछन् । नेपालको पर्यटकीय सिजनमा भारतबाट नेपाल आउने पर्यटक धेरै हुने र अहिले उनीहरु त्यही बाटो फर्कन खोज्दा दिल्ली जाने हवाइ भाडा महंगिएको गोरखा भिजन ट्राभल्सका प्रबन्ध निर्देशक केदार दवाडीले बताए ।

‘भारत आउने धेरै पर्यटक नेपाल पनि आउँछन्, त्यसो हुँदा एक महिनाजति अघि भारतबाट नेपाल आउने टिकट महंगो थियो, अहिले उनीहरु फर्किने बेला भएकाले नेपालबाट भारत जाने टिकट महँगो भएको छ’, उनले भने ।

भारतबाट धेरै मुलुकको कनेक्टिङ फ्लाइट पाइने भएकाले त्यसका लागि विदेश जाने नेपाली यात्रुले पनि भारतको बाटो प्रयोग गर्न थालेको उनको भनाइ छ । ‘भारतमा संसारभरिका एअरलाइन्सहरु आउँछन्, त्यसो हुँदा दिल्लीबाट जहाँ जान पनि सजिलो छ’, उनले भने । खाडी तथा मलेसियाबाहेका मुलुकमा यात्रा गर्ने नेपालीलाई दिल्लीको बाटो सजिलो भएकाले पनि भाडा महँगो भएको उनको भनाइ छ ।

नेपाल एअरलायन्सका प्रवक्ता रमेश पौडेल माग र आपूर्तिका आधारमा टिकट महंगो वा सस्तो हुने बताउँछन् । ‘सामान्यतया भारतको टिकट उस्तै रेञ्जमा रहन्छ । तर, माग बढी भयो भने स्वाभाविक रुपमा महँगो पर्न जान्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?