
१९ मंसिर, काठमाडौं । भारतको तेलंगानामा भारतका रेवन्त रेड्डी मुख्यमन्त्री बन्ने भएका छन् ।
विधानसभा चुनावमा बहुमत पाएको कांग्रेस पार्टीका महासचिवले रेड्डीको नाम अनुमोदन गरेका हुन् । उनले ७ डिसेम्बरमा शपथ लिनेछन् ।
कांग्रेसका तेलंगाना प्रदेश अध्यक्ष रेड्डीले नै राज्यमा पार्टीको चुनावी अभियानको नेतृत्व गरेका थिए । उनले सत्तारुढ बीआरएस (पहिले टीआरएस) र मुख्यमन्त्री चन्द्रशेखर रावविरुद्ध आक्रामक शैली अपनाएका थिए ।
उनले टीआरएसमाथि भ्रष्टाचारको आरोप लगाउनुका साथै भारतीय जनता पार्टी (भाजपा)सँग साठगाँठ गरेको दाबी गरेका थिए ।
चुनावका क्रममा उनले तेलंगानाको गठन कांग्रेसले नै गरेको मुद्दा जोडदार रुपमा उठाएका थिए ।
को हुन् रेवन्त रेड्डी ?
अविभाजित आध्र प्रदेशको महबुबनगर जिल्लामा सन् १९६९ मा जन्मिएका अनुमुला रेवन्त रेड्डीले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । उस्मानिया विश्वविद्यालयबाट ग्राजुएशन गरेका उनी त्यो बेला एबीवीपीसँग जोडिएका थिए ।
पछि चन्द्रबाबु नायडूको तेलुगू देशम पार्टीमा आवद्ध भए । टीडीपीको उम्मेदवारका रुपमा उनले २००९ मा आध्र प्रदेशको कोडांगल विधानसभा सिटमा चुनाव जिते ।
२०१४ मा तेलंगना विधानसभामा टीडीपीको संसदीय दलका नेता चुनिए । उनी २०१७ मा कांग्रेसमा आवद्ध भए । तर अर्को वर्ष भएको विधानसभा चुनावमा उनी टीआरएसका उम्मेदवारसँग पराजित भए । कांग्रेसले उनलाई २०१९ को लोकसभा चुनावमा मलकाजगिरीको टिकट दियो र थोरै मत अन्तरले विजयी भए ।
सन् २०२१ मा कांग्रेसले उनलाई प्रदेश अध्यक्ष बनायो । चुनावी पोष्टरहरुमा उनलाई टर्च बियरर (मशाल लिएर हिँडेका व्यक्ति) का रुपमा प्रचार गरिएको थियो ।
के छ चुनावी वाचा ?
कांग्रेसले चुनावका क्रममा तेलंगानामा आफ्नो सरकार बनेमा हरेक बेरोजगार युवालाई प्रति महिना चार हजार, महिलालाई साढे २ हजार र जेष्ठ नागरिकलाई ४ हजार, अनि किसानलाई १५ हजार रुपैयाँ दिने वाचा गरेको थियो ।
वेलफेयर र डेभलपमेन्ट मोडल कांग्रेस सरकारको दुई आँखा भएको रेड्डीको तर्क थियो । क्षमतावानलाई सरकारले अवसर दिने भन्दै उनले भनेका थिए, ‘जो मानिस अरुमा निर्भर छ, उसलाई सहारा दिनु सरकारको जिम्मेवारी हो ।’
प्रतिक्रिया 4