
काठमाडौं । इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुने भएको छ । व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले पूर्वी नवलरासीको अमरापुरीमा रेडबुलको कारखाना सञ्चालनमा ल्याएको छ । कारखानाको एक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरे ।
अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्ने जनाइएको छ । रेडबुलको स्थानीय रुपमा नेपालमै उत्पादन ब्रान्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुंगाको रुपमा रहेको कम्पनीले जनाएको छ ।
प्रतिष्ठित ब्राण्ड रेडबुल उत्पादन गर्ने नेपाल विश्वको चौथो मुलुक बनेको छ । यसअघि थाइल्याण्ड, भियतनाम र चीनमा रेडबुल कारखाना खुलिसकेको छ ।
पूर्वी नवलपरासीस्थित रेडबुल फ्याक्ट्रीमा जर्मन र स्वीस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड रहेको कम्पनीको दाबी छ । रेडबुल थाइल्याण्ड व्यावसायिक घराना योविध्या परिवारको स्वामित्वमा रहेको छ । कम्पनीले विश्वभरका पाँच हजार मानिसलाई रोजगारी दिएको कम्पनीको भनाइ छ ।
टीसीपी ग्रुपका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, ‘टीसीपी समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशील उत्पादन र सेवाहरूका साथ बदलिंदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ-नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहनेछ ।’
सरस बेभरेजेका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले अत्याधुनिक अमरापुरी फ्याक्ट्री वातावरणीय दिगोपनप्रति पनि प्रतिबद्ध रहेको बताए । ‘त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं,’ उनले भने ।
रेडबुल इनर्जी ड्रिंक नेपालमा पहिलो पटक सन् २०१० मा आयात गरेर बिक्री गरिएको थियो ।
प्रतिक्रिया 4