
काठमाडौं । चार महिनाअघिको म्युजिक भिडियोलाई लिएर अभिनेता तथा गायक प्रकाश सपुत यतिबेला विवादमा तानिएका छन् ।
जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने भनिएको इनारमाथि उभिएर सपुतले ‘कमाउनी नी हो, रमाउनी नी हो…’ गीतको छायांकनमा नाचेको दृश्य सामाजिक संजालमा भाइरल छ ।
यो विवादमा सपुतले गल्ती भएको भन्दै माफी पनि मागिसकेका छन् । साथै, उक्त म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले पनि गल्तीप्रति माफी मागेको छ । उसले उक्त दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको दावी गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘सामाजिक संजालमा देखाइएकोजस्तो दृश्य हाम्रो च्यानलमा रहेको आधिकारिक भिडियोमा प्रयोग नभएको कुरा समेत जानकारी गराउँदछौं । हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अन्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भए हामी क्षमाप्रार्थी छौं ।’
काठमाडौं महानगरबाट नियमानुसार राजस्व बुझाएर र हनुमान दरबार हेरचाह अड्डाबाट अनुमति लिएर गीतको छायांकन गरेको जनाएको छ ।
निर्माता कम्पनीले भनेजस्तै उक्त दृश्यलाई भिडियोमा देखिएको छैन । तर, छायांकन हेरेका दर्शकले भने सामाजिक संजालमा हालेको सुटिङ क्लिपमा इनारमाथि नाचेको देख्न सकिन्छ ।
प्रतिक्रिया 4