
काठमाडौं । आणविक बमका पिता समेत भनिने रोबर्ट जे ओपेइनहाइमरबारेको फिल्मलाई सन् २०२३ कै ब्लकबस्टर फिल्म मानिन्छ । आइएमडीबीले यो फिल्मलाई यसवर्षकै सर्वाधिक लोकप्रिय फिल्मको सूचीमा राखेको छ ।
गर्मीयाममा नेपालसहित विश्वभर प्रदर्शन हुँदा समेत यो फिल्म एसियाली मुलुक जापानमा रिलिज भएन । आणविक त्रासदीको अनुभव भोगेको जापानसँग यो घटनाको गहिरो मनोभावना जोडिएको छ । निर्माताले जापानीको संवेदनशिलताको कारण फिल्म रिलिज गरेका थिएनन् ।
अब भने, जापानी दर्शकले ‘ओपेनहाइमर’ हेर्न पाउने भएका छन् । टाइम म्यागजिनका अनुसार टोकियोको अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी बिटर्सले यसलाई देशभर रिलिज गर्न लागेको हो । २०२४ को सुरुआतमा फिल्म रिलिजको तयारी भैरहेको छ तर ठ्याक्कै मिति भने खुलाइएको छैन ।
फिल्मको विषयवस्तुलाई लिएर महिनौं लामो विचार विमर्श र जापानीको विशेष संवेदनशिलतालाई ख्याल राख्दै फिल्मलाई प्रदर्शन गर्न लागिएको जनाइएको छ । ‘फिल्म हेरेपछि हामीलाई निर्देशक क्रिस्टोफर नोलानले परम्परागत कथा कथनलाई ब्रेक गर्दै ठूलो पर्दामा हेर्नुपर्ने सिनेमाको जादूयी अनुभव सिर्जना गरेका छन् । हामी दर्शकलाई यो फिल्म जापानमा आउँदा आफ्नै आँखाले हेर्न आमन्त्रित गर्छौं ।’
हलिउड फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा विविध कारणले ढिलाइ हुनसक्छ । भएपनि अमेरिकी हलमा रिलिज हुने मितिको आसपासमा प्रदर्शन निर्धारित हुन्छन् । तर, जुलाई २१ मा अमेरिकामा रिलिज भएको ‘ओपेनहाइमर’ धेरैका लागि सांस्कृतिक घटना बनेको छ । खासगरि गर्मीयाममा जापानी दर्शकले ‘बार्बी’सँग ओपेनहाइमरलाई पनि प्रदर्शन गर्नुपर्ने माग राखे ।
केही मानिसले भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको सिर्जनामा २ लाखभन्दा बढी मानिसको ज्यान जाने घटनामा फिल्मलाई केन्द्रित नगरेकोमा आलोचना पनि गरेका छन् ।
लेखक, निर्देशक, र निर्माता नोलनलाई एनबीसीले जुलाईमा फिल्ममा हिरोशिमा र नागासाकीको बम विष्फोटलाई प्रत्यक्ष रूपमा चित्रण नगर्ने निर्णयको बारेमा सोधिएको थियो, जसमा उनले भनेका थिए– यो कथालाई ओपेनहाइमरको दृष्टिकोणबाट सुनाउनु जानाजानी छनोट थियो ।’
जापानमा रिलिजमा ढिलाइ भएपछि यो फिल्मले विश्व बक्सअफिसमा ९५० मिलियन डलरभन्दा बढी कमाइ गरेको छ । यो फिल्म सो वर्ष तेस्रो धेरै कमाउने फिल्म समेत बन्यो ।
प्रतिक्रिया 4