+

इन्जुरी टाइममा बुटवलले खोस्यो चितवनसँग अंक

२०८० मंसिर  २१ गते १९:३३ २०८० मंसिर २१ गते १९:३३
इन्जुरी टाइममा बुटवलले खोस्यो चितवनसँग अंक

२१ मंसिर, काठमाडौं । नेपाल सुपर लिग फुटबलमा बुटवल लुम्बिनी एफसीले चितवन एफसीलाई बराबरीमा रोकेको छ । बिहीबार भएको खेलमा बिनोङले अन्तिम समयमा गोल गरेसँगै बुटबलले चितवनबाट अंक खोसेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुबै टोलीले खासै अवसर सिर्जना गर्न सकेनन् । पहिलो हाफको अन्त्यतिर चितवनले एउटा अवसर गुमायो । ४२ औं मिनेटमा बिमल घर्ती मगर वान भर्सेस वानमा गोल गर्न चुके ।

दोस्रो हाफको सुरुमै चितवनले उत्सव राईको गोलबाट अग्रता लिएको थियो । ४८ औं मिनेटमा उत्सवले करिव ३५ यार्डबाट हानेको भलि बल बुटवलका गोलकिपर मोहमोदाउको हातमा लागेर गोलमा परिणत भएको थियो ।

खेलको अन्तिम समयतिर बुटवलले केही अवसर सिर्जना गर्‍यो । ७८ औं मिनेटमा वुटबलका जिलेस्पी जंग कार्कीको पासमा कप्तान एरिक विष्टले हानेको बल क्रसबाटभन्दा थोरै माथिबाट बाहिरियो ।

८० औं मिनेटमा मणिकुमार लामाको प्रहार चितवनका गोलकिपर विशाल श्रेष्ठले पञ्च गर्दै बचाए भने ९० औं मिनेटमा सर्ज सोङको प्रहार सेकेण्ड बार नजिकैबाट बाहिरियो ।

तर ३ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमै बुटवल बराबरी गोल गर्न सफल भयो । मणिकुमारले मध्यरेखा नजिकबाट दिएको लङ पासमा स्टेफेन बिनोङले गोल गरे । डि बक्समा रहेका चितवनका खेलाडीहरु बल क्लियर गर्न अलमलिए भने किपर विशाल श्रेष्ठ पनि निकै अगाडि आए । त्यसक्रममा विनोङले हानेको भलि खाली पोष्टमा गोलमा परिणत भयो ।

खेलपछि चितवनका प्रशिक्षक महराजुद्दीन वाडुले पहिलो हाफमा खेललाई नियन्त्रणमा राखेको र दोस्रो हाफको सुरुमै गोल गरेपनि इन्जुरी टाइममा गोल खाएका कारण जित्न नसकेको बताए । पछिल्ला दुई खेलमा गोल गरेर पनि त्यसको रक्षा गर्न नसकेको भन्दै उनले भने, ‘आगामी खेलमा यस्तो गल्ती दोहोर्याउनु हुँदैन ।’

बराबरीपछि चितवन ४ खेलबाट ५ अंकका साथ पाँचौं स्थानमा छ भने समान खेल खेलेको बुटबलको ४ अंक छ । लिग लिडर पोखरा थन्डर्सको ४ खेलबाट ८ अंक छ भने एक खेल कम खेलेको धनगढी ७ अंकसहित दोस्रो स्थानमा छ ।

एनएसएल चितवन एफसी नेपाल सुपर लिग फुटबल बुटवल लुम्बिनी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय