
काठमाडौं । प्रदर्शन तयारीमा रहेको सामाजिक कथावस्तु बारेको फिल्म ‘सतीदेवी’लाई केन्द्रिय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ । लक्ष्मण सुवेदी निर्देशित यो फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन् ।
सेन्सर बोर्डले फिल्मको रनटाइम २ घण्टा १५ मिनेट ४५ सेकेण्डमा सीमित गरिदिएको छ । शुक्रबार फिल्म हेरिसकेपछि बोर्डका सदस्यले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक सुवेदीले जनाए ।
फिल्मले मंसिर ७ गते टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मको मनोविज्ञान र कथावस्तुबारे महत्वपूर्ण प्रकाश पारेको छ । उक्त पोस्टरले सामाजिक-राजनीतिक आन्दोलनको औचित्यलाई प्रश्न गर्छ ।
पोस्टरमा फिल्मकी शीर्ष अभिनेत्री मलिका महतलाई जुत्ताको माला र मोसो लगाएर गाउँलेले लखेटेको देखिन्छ । ग्रामीण सेटिङमा खिचिएको फिल्मको यो पोस्टरले गणतन्त्रमा महिला, दलित, सीमान्तकृत र अपहेलित पात्रको दुदर्शाको कथा पेश गर्छ । सुवेदीले सतीदेवी चरित्रमार्फत आफूले भोगेको र देखेको जीवनको कथालाई फिल्ममा पस्किएका छन् ।
नारीप्रधान फिल्ममा मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ । समग्रमा यो बाउछोरीबीचको सम्बन्धको कथा हो । छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा ।
फिल्मलाई वर्षको अन्त्यतिर रिलिज गर्ने निर्माताको तयारी छ । फिल्ममा मलिकासहित सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।
प्रतिक्रिया 4