+
+

भारतमा मोमो बेचेर अर्बपति बनेका विनोद हुमागाईं

बीकम पढ्दै गरेका विनोद र उनका एक भारतीय साथीले सन् २००८ मा ३० हजार भारुबाट सुरु भएको ‘वाउ मोमो !’ (मःम, मम, मोमो) ले गत आर्थिक वर्षमा ४ अर्ब ९० करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो । यो वर्ष ६ अर्ब ६० करोडसम्मको कारोबार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

जनार्दन बराल जनार्दन बराल
२०८० मंसिर २२ गते २२:२८

भारतमा सबैजसो ठूला शहरका ठूला मल, सुपरमार्केट, फुड पार्क तथा अन्य व्यस्त बजारहरूमा एउटा रेस्टुरेन्ट आउटलेट देखिन्छ– ‘वाउ मोमो’ । नदेखियोस् पनि किन ? भारत पुग्ने जो–कोही नेपालीलाई आफ्नै जस्तो लाग्ने यो रेस्टुराँका विभिन्न ३० भन्दा बढी शहरहरूमा ६०० भन्दा बढी आउटलेट खुलिसकेका छन् ।

आजभन्दा १५ वर्षअघि सन् २००८ मा ३० हजार भारु लगानीमा एक नेपाली युवाले भारतीय साथीसँग मिलेर खोलेको यो रेस्टुराँको चेनले वास्तवमा भारतीयहरूको स्वाद नै परिवर्तन गरिदिएको छ । एक दशक अघिसम्म नेपालको रैथाने खाजा मोमोका बारेमा सुन्दै नसुनेका भारतीयहरूको जिब्रोमा अहिले त्यसैको स्वाद झुन्डिएको छ ।

अहिले रेस्टुराँहरूमा मात्रै होइन, दिल्ली, कोलकाता, मुम्बई लगायत अधिकांश भारतीय शहरका गल्ली–गल्लीमा ठेलागाडामा समेत मोमो खानेहरूको भीड देखिन्छ । भारतमा मोमोका पारखी र पसलहरू धेरै अघिदेखि नै थिए । तर यसलाई एउटा खानाको परिकार मात्रै नभएर ‘क्याटगोरी’ कै रूपमा स्थापित गर्ने काम विनोद हुमागाईं र उनका साथी सागर जगदीश दर्यानीले सुरु गरेको वाउ मोमो ! ले नै गरेको हो ।

त्यही मोमोको ब्रान्डले विनोद लगायत उनका साझेदारहरूलाई स्थापित गर्दैछ । बीकम पढ्दै गरेका युवाहरूले सन् २००८ मा ३० हजार भारुमा ६ फिट लम्बाइ र ६ फिट चौडाइको एउटा सानो कियोस्कबाट सुरु भएको वाउ मोमोले गत आर्थिक वर्षमा ४ अर्ब ९० करोड भारतीय रुपैयाँ (करिब ७ अर्ब ८४ करोड नेपाली रुपैयाँ) को कारोबार गरेको छ । यो वर्ष ६ अर्ब ५० करोडदेखि ६ अर्ब ६० करोडसम्मको कारोबार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेतका विनोदका बुवा कामको सिलसिलामा कोलकाता गएका थिए । उतै जन्मेका विनोदको बाल्यकाल भने काभ्रेमै बित्यो । तर, स्कुल र कलेज भने उनले कोलकातामै पढ्ने अवसर पाए ।

कोलकाताको सेन्ट जेभियर्स कलेजमा बीकम तेस्रो वर्षमा पढ्ने साथीहरू समूह बनाएर अध्ययन गर्थे । उनी र उनका साथी सागर कलेजपछि व्यवसाय नै गर्न चाहन्थे । ‘ग्रुप स्टडी’ गर्ने क्रममा उनीहरूले के व्यवसाय गर्ने भन्ने विषयमा मन्थन गरे ।

‘म नेपाली, मोमोको स्वाद जिब्रोमा थियो । भारतमा पनि दार्जीलिङ लगायतमा यो परिकार लोकप्रिय थियो । यसलाई भारतभर स्थापित गर्न सकिन्छ भन्ने लाग्यो । मोमो व्यापार गरौं भनेर मैले प्रस्ताव गरें । उसले पनि नेपालीले बनाएको मोमो खाएको रहेछ । तुरुन्तै सहमत भयो’,  विनोदले भने ।

त्यसपछि २०–२१ वर्षको उमेरका उनीहरूले बल्लतल्ल ३० हजार भारु जम्मा गरे र मलमा एउटा सानो ‘मोबाइल कियोस्क’बाट व्यवसाय सुरु गरे– वाउ मोमो । पसल सानो थियो, तर उनीहरूले सपना निकै ठूलो देखेका थिए । उनीहरू वाउ मोमोलाई म्याकडोनाल्ड, केएफसी जस्तो ठूलो ब्रान्ड बनाउन चाहन्थे ।

कोलकाताका जनताले मोमोको स्वाद मन पराएपछि भारतका अन्य शहरमा पनि उनीहरू रेस्टुराँको चेन विस्तार गर्न थाले । सन् २०१५ सम्म उनीहरूले भारतका ६ शहरमा ४४ वटा आउटलेट खोलिसकेका थिए ।

अब उनीहरूलाई लगानीको लागि थप पूँजी आवश्यक भयो । त्यसपछि उनीहरूले एन्जल इन्भेस्टरहरूबाट पहिलो चरणको लगानी उठाए । त्यतिबेला नै कम्पनीको मूल्यांकन १०० करोड भयो र त्यसको १० प्रतिशत अर्थात् १० करोड भारु इन्डियन एन्जल नेटवर्कबाट उठाए । त्यसले उनीहरूलाई सञ्जाल विस्तार गर्न सजिलो भयो ।

उनीहरूको व्यापार वार्षिक ५० देखि ६० प्रतिशतका दरले बढिरहेको थियो । त्यसलगत्तै सन् २०१७ मा दोस्रो चरणमा र २०१९ मा तेस्रो चरणमा उनीहरूले फन्ड संकलन गरे । सन् २०१९ मा उनीहरूको कम्पनीको मूल्य ८ अर्ब ६० करोड तय भयो र उनीहरूले टाइगर ग्लोबल म्यानेजमेन्टबाट १ अर्ब ३० करोड रुपैयाँ पूँजी भित्र्याए ।

आजका दिनमा विभिन्न एजेन्सीले गरेको मूल्यांकनका आधारमा कम्पनीको मूल्य २९ अर्बदेखि ३४ अर्ब भारुसम्म रहेको हुमागाईंले बताए ।

हाल कम्पनीका ६०० भन्दा बढ़ी आउटलेटहरू छन् । तीन वटा ब्रान्डमा रेस्टुराँका चेन विस्तार भइरहेको छ– वाउ मोमो, वाउ चाइना र वाउ चिकेन । वाउ चाइनाका १२० भन्दा बढी आउटलेट छन्, जहाँ चिनियाँ खानाहरू सर्भ गरिन्छ । त्यस्तै– फ्राइड चिकेन बिक्री गर्ने वाउ चिकेनका ५५ भन्दा बढी आउटलेट पुगेको हुमागाईंले जानकारी दिए । कतिपय रेस्टुराँहरूमा भने तीन वटै खाना पाइने उनले बताए ।

कम्पनीले अहिले ६ हजार ८०० भन्दा बढीलाई रोजगारी दिइरहेको छ । ‘रेस्टुरेन्ट सेवामूलक व्यवसाय हो, यसमा धेरै मानिसले रोजगारी पाउँछन्’, उनले भने ।

यसरी कम्पनीले कसरी तीव्र विस्तार गर्न सक्यो भन्ने विषयमा विनोद भन्छन्– ‘हामीले परम्परागत मोमोलाई आधुनिकीकरण गर्‍यौं । भारतीयहरूको स्वाद अनुसार यसलाई ‘इनोभेसन’ पनि गर्‍यौं । हाम्रो अनुसन्धान र विकासको एउटा टिम छ, जसले विभिन्न स्वाद तथा परिकारको विकास गरिरहन्छ । सम्भाव्यताका आधारमा हामी बजारमा लैजान्छौं ।’

विगतमा मोमो एउटा प्रडक्ट मात्रै रहेकोमा आफूहरूले त्यसलाई ‘क्याटगोरी’ बनाएको उनको भनाइ छ । ‘फुडकोर्टहरूमा १०–१२ प्रकारका मोमोको विकल्पहरू उपलब्ध छन्’, उनले भने ।

पछिल्लो समय वाउ मोमोले फास्ट मुभिङ कन्जुमर फुड्स (एफएमसीजी) को पनि व्यवसाय सुरु गरिसकेको छ । यो कम्पनीले फ्रोजन मोमो तथा कोको चार्जको नाममा नरिवलको पानी उत्पादन गरिरहेको छ ।

कम्पनी ठूलो हुँदै गएपछि हुमागाईं र दर्यानीले आफ्ना पूर्व सहपाठीहरूलाई पनि साझेदार बनाउँदै गएका छन् । अहिले उनीहरूसँगै सेन्ट जेभियर्समा पढेको साह एम रहमान र एल मुरलीकृष्णन सहसंस्थापकका रूपमा कम्पनीमा आबद्ध छन् ।

दर्यानी कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत हुन्, जसले ब्रान्ड विस्तार तथा मार्केटिङको काम हेर्छन् । हुमागाईं कम्पनीको प्रमुख सञ्चालन अधिकृत हुन्, उनको जिम्मामा उत्पादन, गुणस्तर नियन्त्रण तथा अनुसन्धान र विकासको जिम्मेवारी छ । पछि आबद्ध भएका रहमानले लेखा तथा मुरलीकृष्णनले ब्रान्डिङ र मार्केटिङ हेर्ने गर्छन् ।

विनोदका भाइ दिनेश हुमागाईं भाइस प्रेसिडेन्टका रूपमा कम्पनीमा काम गरिरहेका छन् । उनले विशेषगरी अन्य ब्रान्डसँगको सहकार्यको विषय हेर्ने गर्छन् । नयाँदिल्लीमा भेटिएका दिनेशले कम्पनीलाई विश्वका अन्य ठूला ब्रान्ड जस्तै अन्य मुलुकहरूमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

भारतमा स्टार्टअपहरूलाई विस्तारका लागि सरकारी नीतिहरूले पनि ठूलो सहयोग गरेको विनोद बताउँछन् । ‘भारतमा क्षमता भएकालाई ठूलो अवसर छ, भारतमा मात्रै होइन, विश्वभर नै छ, विश्वका ठूला कर्पोरेटहरूको नेतृत्वमा भारतीयहरू हुनुले पनि यो पुष्टि गर्छ’, उनले भने ।

त्यही अवसरलाई आफूहरूले उपयोग गरिरहेको र भविष्यमा पनि गर्ने विनोदको भनाइ छ । दुई वर्षभित्र १ हजार करोड अर्थात् १० अर्ब भारु कारोबार पुर्‍याउने लक्ष्य उनीहरूले राखेका छन् । ‘दुई वर्षकै बीचमा वाउ मोमोका आउटलेटको संख्या पनि १ हजार वटा पुर्‍याउँदैछौं’, उनले भने ।

उनीहरूले अहिले भारतमै बजार विस्तारलाई प्राथमिकता दिएका छन् । तर, अन्तर्राष्ट्रिय बजारमा वाउ मोमोलाई पुर्‍याउने दिशामा अनुसन्धान भइरहेको पनि उनले बताए । ‘आगामी केही वर्षभित्र मध्यपूर्वका केही देशमा वाउ मोमोका आउटलेटहरू खोल्छौं होला’, उनले भने ।

नेपालमा वाउ मोमो ल्याउने योजना के छ त भन्ने प्रश्नमा उनले भने, ‘आगामी तीन–चार वर्षमा दक्षिणएसियाका अन्य मुलुकमा पनि विस्तारको योजना छ, त्यसको पनि अनुसन्धान भइरहेको छ, त्यसै क्रममा नेपालमा पनि शाखा विस्तार हुनसक्छ ।’

यो कम्पनीलाई विस्तार गर्दै सन् २०२६–२७ सम्ममा आईपीओमा जाने तयारीमा उनीहरू छन् । ‘त्यसबेलासम्म कम्पनीको आकार ८ हजार करोड अर्थात् ८० अर्बको बन्ने लक्ष्य छ, त्यसपछि आईपीओमा जाने’, उनले भने । आफूहरूको लक्ष्य जतिसक्दो छिटो युनिकर्न (१ अर्ब अमेरिकी डलरको कम्पनी) बन्ने रहेको उनको भनाइ छ ।

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?