
२३ मंसिर, काठमाडौं । बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रा शनिबार बागमती प्रदेशमा प्रवेश गरेको छ ।
शनिबार गोरखामा अन्तर्क्रिया गरेर अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली धादिङ प्रवेश गरेको छ । शनिबार नै नुवाकोटको बट्टारमा सभा राखिएको छ र साँझ अबेरमात्र ओली त्यहाँ पुग्दैछन् ।
यसअघिका सभाहरुलाई पनि अध्यक्ष ओली आफैंले सम्बोधन गरिरहेका छन् । अरु पदाधिकारी पनि यात्रामै भएपनि अधिकांश सभालाई ओलीले मात्रै सम्बोधन गर्दै आएका छन् ।
सभामा सम्बोधनबाहेक अन्तर्क्रिया, भेटघाट र अवलोकन पनि ओली केन्द्रित चलिरहेको छ । अरू नेताले स्वागत लिने–दिने गरिरहेका छन् ।
बरू यो संकल्प यात्रामा ओलीपछि उनकी पत्नी राधिका शाक्यको आकर्षण देखिएको छ । अरु पदाधिकारीले समेत शाक्यलाई विशेष सम्मान दिएको दृष्य सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देख्न सकिन्छ ।
शुक्रबार लमजुङको सुन्दरबजारमा आयोजित सभामा राधिका शाक्य गुरुङ पोशाकमा थिइन् । ओली र राधिका सँगै गुरुङ पोशाक लगाएर बसेको तस्वीर एमालेका पदाधिकारीहरुले नै सामाजिक सञ्जालमा राखेका छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शाक्यलाई ‘विशिष्ट अतिथि, अध्यक्ष पत्नी र समाजसेवी’ सम्बोधन गरेर तस्वीर पोष्ट गरेका छन् ।
‘लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा आयोजित जनसभाका विशिष्ट अतिथि, श्रद्धेय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूकी जीवन संगिनी, समाजसेवी राधिका शाक्यज्यूले घलेक र मुगाको माला लगाएर गुरुङ समुदायको भेषभूषा र समस्त गुरुङ समुदायप्रति सम्मान व्यक्त गर्नुहुँदै…’, पौडेलले लेखेका छन् ।
पौडेलकै जस्तो भाषा नलेखे पनि अरु पदाधिकारीहरुले पनि शाक्यको प्रशंसा गरेका छन् । अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मञ्चको पहिलो लहरमा अध्यक्ष ओलीसँगै राखिएको राधिका शाक्यको कुर्सीमा लेखिएको अक्षर देखिने गरी फेसबुकमा तस्वीर राखेका छन् ।

कुर्सीमा लेखिएको छ, ‘श्रद्धेय अध्यक्षज्यूकी धर्मपत्नी समाजसेवी राधिका शाक्य ।’ एमालेमा राधिकाको कुनै पदीय जिम्मेवारी नभएकाले समाजसेवी लेखिएको बुझ्न गाह्रो छैन ।
यात्रामा सहभागी एक नेताका अनुसार, संकल्प यात्राको सुरुबाटै राधिका शाक्य विशेष अतिथि रहँदै आएकी छन् । १४ मंसिरमा बैतडीको सदरमुकाम गोठलापानीमा गरिएको सभामा सञ्चालक गोविन्द गिरीले शाक्यलाई विशेष अतिथि सम्बोधन गरेका थिए । त्यसपछि भएका सभाहरुमा ओलीपछिको वरियतामा शाक्यलाई मञ्चमा बोलाउने गरिएको छ ।
शनिबारसम्म गोठलापानी, स्याउले, सिलगढी, मंगलसेन, साफेबगर, राकम, वीरेन्द्रनगर, रिम्ना, रुकुमकोट, वामीटक्सार, कुश्मा र सुन्दरबजारमा सभा भएको छ ।
यी सभाहरुमा शाक्य विशेष अतिथि भएर बस्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तेस्रो नम्बरमा आसनग्रहण गर्दै आएका छन् । एमालेको विधान अनुसार भने वरिष्ठ उपाध्यक्ष पोखरेल दोस्रो वरियताका नेता हुन् ।
केन्द्रीय सदस्य विष्णु रिजाल, यात्रामा राधिका शाक्यलाई कार्यकर्ताले दिएको सम्मानलाई राजनीतिक आँखाले हेर्न नहुने बताउँछन् । ‘अध्यक्ष सँगसँगै हुनुहुन्छ, उहाँको सम्मानमा मञ्चमा बोलाउने कुरा मानवीय विषय हो । राजनीतिक रुपमा हेर्नुभएन’, रिजाल भन्छन् ।
यात्रामै रहेका एक पदाधिकारी राधिका शाक्यलाई ‘फर्स्ट लेडी’को सम्मान दिइएको तर्क गर्छन् । ‘अध्यक्षको पत्नीलाई हामीले फर्स्ट लेडीको रुपमा बुझ्नुपर्छ । संसारभर त्यस्तो अभ्यास हुन्छ’, उनी भन्छन् ।
पार्टी बैठक नभएर आमसभा भएकाले राधिका शाक्य विशेष अतिथि हुँदा अरु नेताले अप्ठ्यारो मान्न नहुने उनको तर्क छ ।
प्रतिक्रिया 4