
काठमाडौं । आइतबार बजार खुलेको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित भयो । बिहान ११:२५ मा दोस्रो पटक खुलेको बजारमा दुई मिनेटमै अर्को १ प्रतिशत बिन्दु अर्थात् कुल ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । दिउँसो १२:०७ बजे सुरु भएको अर्को कारोबारमा पनि दुई मिनेटमै थप १ प्रतिशत बिन्दु अर्थात् कुल ६ प्रतिशत बढेपछि आइतबारका लागि कारोबार नै बन्द भएको छ ।
यसअघि २ भदौ २०७८ मा नेप्से हालसम्मकै उच्च ३१९८ अंकमा पुगेको थियो । भदौकै २० गते ५ प्रतिशतले बजार घट्दा सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको थियो । सो ऋणात्मक सर्किट ब्रेकपछि बजारले ओरालो गति लियो । उच्चतम् बिन्दुबाट अहिले बजार ३८ प्रतिशत घट्दा करिब २८ महिना पुगेको छ । भदौ २० गते लागेको ऋणात्मक सर्किटले अन्ततः बजारको ओरालो गतिको सुरुवात रहेको पुष्टि गर्यो ।
सामान्यत: बजार उच्चतम् बिन्दुमा भएका बेला लाग्ने ऋणात्मक सर्किटलाई ‘बियरिस ट्रेन्ड’मा जाने संकेतका रुपमा लगानीकर्ताले बुझ्ने गरेका छन् । त्यसको उल्टो बजार बढ्दा लाग्ने सर्किट ब्रेकलाई बुलको संकेतमा रुपमा बुझिन्छ । ६ महिनाभन्दा बढी समयमा उच्चतम् बिन्दुबाट २० प्रतिशतभन्दा तल बजार झर्नु ‘बियरिस ट्रेण्ड’ मानिन्छ भने त्यसको उल्टो न्यूनतम बिन्दुबाट २० प्रतिशतभन्दा धेरै उक्लिनुलाई ‘बुल ट्रेण्ड’ मानिन्छ ।
तर हरेक सकारात्मक सर्किटपछि बुल आउने निश्चितता भने हुँदैन । यसअघि २८ मंसिर २०७८ मा पनि बजारले ६ प्रतिशत बढेर पोजेटिभ सर्किट लगाएको थियो । जुन ‘सर्किट ब्रेक’ले बुल ल्याउन सकेन । त्यसकारण आइतबारको सर्किट ब्रेककै आधारमा बजारको आगामी गति भन्न नमिल्ने जानकार बताउँछन् । जय शम्भो इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अयजसिंह थापा आइतबारको सर्किट ब्रेकलाई आफूले बुलको संकेतका रुपमा बुझेको बताउँछन् । ‘यसअघिको बुल सुरुवात हुँदा पनि दुई दिन सर्किट ब्रेक लागेर सुरुवात भएको थियो, आजको सर्किट ब्रेकले अहिले पनि त्यहीं संकेत देखिएको छ,’ उनी भन्छन्, ‘यसको अर्थ केही दिनमै बुल आउने भनेको होइन, केही वर्ष लाग्न सक्छ । तर बजारले न्यूनतम बिन्दु अब छोडिसकेको छ ।’
आइतबार बजार उच्च अंकले बढेकाले दोस्रो दिन केही घट्न पनि सक्ने उनले बताए । ‘बजार घटेपछि ढिलोचाँडो बढ्ने यसको विशेषता नै हो, बढ्ने क्रममा आज अलि उग्र बन्यो ।’ यस्तो बेला लगानीकर्ता पनि सम्हालिनुपर्ने उनको भनाइ छ । ‘घट्दा पनि धेरै आत्तिहाल्ने, बढ्दा पनि रेल नै छुट्यो जस्तो व्यवहार लगानीकर्ताले देखाउने गरेका छन्,’ उनी भन्छन् । आइतबार सेयर किन्न नपाएकाले सोमबार खरिद गर्ने र नाफा भएकाले पनि सोमबार बुक गर्न सक्ने उनी बताउँछन् । यतिबेला धेरैजसो कम्पनी तल्लो मूल्यमा आएकाले सेयर खरिदका लागि डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
सर्किट लाग्नेगरी किन बढ्यो बजार ?
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले नै बजारलाई प्रभावित पारेको लगानीकर्ताको टिप्पणी छ । ‘राष्ट्र बैंकको नीतिकै कारण बजार थिचिएिको थियो, तिनै नीतिमा अहिले करेक्सन गर्न थालेपछि बढ्नु स्वभाविक हो,’ सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, ‘मुख्य कुरा राष्ट्र बैंकले परिस्थितिअनुसार आफ्ना नीति लिन्छ, सेयर बजारप्रति पनि सकारात्मक नीति ल्याउँदो रहेछ भन्ने संकेत दियो ।’
हालै राष्ट्र बैंकले ५० लाखभन्दा बढी रकमको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गर्यो । ५० लाखसम्मको हकमा यसअघि नै १०० प्रतिशत कायम छ । यो व्यवस्थाले सेयर धितोमा बैंकहरुलाई कर्जा दिन सहज भएको लगानीकर्ताको ठम्याइ छ ।
अर्कोतर्फ ब्याजदर घट्नेगरी मौद्रिक नीतिको समीक्षा आएको छ । नीतिगत दर ५.५ प्रतिशतमा झारिनु र बैंकदरलाई ७ प्रतिशतमा झारिनुले ब्याजदर घट्ने सुनिश्चित भएको फुल्लेलको तर्क छ । ‘आइतबारबाटै बैंकहरुले ब्याजदर घटाएको सूचना जारी गरिसकेका छन्, ब्याजदर घट्नेमा अब कुनै शंका रहेन, यसले आइतबारको बजार सबैभन्दा धेरै प्रभावित बनाएको हो,’ उनले भने, ‘मुख्य कुरा लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको छ ।’
दुई बैंकले आइतबार नै सूचना जारी गर्दै पुसदेखि ब्याजदर घटाएका छन् । ब्याजदर घट्दा सेयर बजारलाई सकारात्मक प्रभाव पर्ने गरेको छ । ‘थोरै ब्याजदरमा ऋण लिएर पनि सेयरमा लगानी गर्नेहरु हुन्छन्, बचत गर्नेहरुले पनि सेयरमै लगानी गर्न खोज्छन्, यसले सेयरको माग बढ्नु स्वभाविक हो,’ उनले भने ।
तर सेयर धितोमा व्यक्तिलाई दिने अधिकतम कर्जाको सीमा १५ करोड र संस्थालाई दिइने २० करोडको सीमा यथावत छ । यसको अर्थ सेयर बजारमा धेरै कर्जा लगानी गर्ने पक्षमा राष्ट्र बैंक अझै देखिएको छैन । अर्कोतर्फ बैंकहरुलाई सेयर खरिदमा गरिएका कडाइका व्यवस्थाहरु पनि यथावत् छन् ।
यतिबेला लगानीकर्ताले के गर्ने ?
सेयर लगानीकर्ताको मनोविज्ञान यतिबेला ‘बुलिस’ देखिएको छ । फियर एण्ड ग्रिड मिटरले लगानीकर्ताको मनोविज्ञान आइतबार ‘एक्स्ट्रिम ग्रिड’ जनाएको छ । बुलिस मारुबोजु क्यान्डिलस्टिक बनेको छ । एमएसीडीले सिग्नल लाइनलाई क्रस गरेर माथि उक्लिएको छ । यी प्राविधिक ट्रेण्डलाइनहरुले बजार बढ्ने संकेत देखाएको थापाको भनाइ छ । विगतको कारोबारका आधारमा प्राविधिक ट्रेण्डलाइन सिर्जित भएकाले आगामी दिनमा पनि त्यही अवस्था दोहोरिन्छ भन्ने सुनिश्चितता भने हुँदैन ।
‘सोमबार नै बजार केही घट्न पनि सक्छ, तर आज बढेको दरमा बजार घट्दैन, धेरै अंक बढेपछि थोरै अंक घट्नु सामान्य हो,’ थापाले भने ।
सेयर लगानीकर्तामा धैर्यता सधैं जरुरी रहेको लगानीकर्ता पिताम्बर खकुरेल बताउँछन् । ‘आइतबार बढ्यो भन्दैमा सेयर किन्नै पाइँदैन जस्तोगरी हतारिएको देखियो, बजारमा कोही पनि विज्ञ हुँदैनन्, कसैले भनेको मिल्यो भने संयोग मात्रै हो, हल्लाका भरमा उचालिनु हुँदैन,’ उनले भने ।
यद्यपि आफ्नै विवेकले कम्पनीको राम्ररी विश्लेषण गरेर घाटा पनि सहने क्षमता बोकेर मात्रै लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘यतिबेला बजार घटेका कारण राम्रा कम्पनीमा लगानी गर्नु उचित नै छ, तर लगानी आफ्नै विवेकपूर्ण हुनुपर्छ,’ खकुरेल भन्छन्, ‘यहाँ बजार घट्दा पनि धेरै आत्तिने र बढ्दा पनि धेरै हौसिने प्रवृत्ति देखिंदै आएको छ ।’
समग्रमा बजार अहिले पनि न्यूनतम बिन्दुमा रहेकाले राम्रा राम्रा कम्पनीका सेयर किन्न सकिने उनी बताउँछन् । नेप्सेको सर्किट ब्रेकलाई नहेरी कम्पनीका वित्तीय स्थिति हेर्न उनको सुझाव छ ।
आइतबारको बजारपछि बनेको ट्रेन्डलाइन
प्रतिक्रिया 4