
२४ मंसिर, काठमाडौं । सांसद अमरेश सिंहले प्रधानमन्त्री प्रचण्ड, सचिवालय र परिवारविरुद्ध भ्रामक प्रचार गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । मन्त्रिपरिषद्मा जान चाहेका अमरेशले आफू मन्त्री नबन्ने पक्का भएसँगै अराजनीतिक बार्गेनिङ गर्न थालेको प्रचण्ड सचिवालयको दाबी छ ।
‘देशलाई ठग्ने उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि बढाइसकेको सबैमा अवगत नै छ,’ आइतबार प्रकाशित प्रधानमन्त्री सचिवालयको वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउने बित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ । छानविन समितिको अध्ययन र छानबिनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ ।’
तर सांसद अमरेशले यो सत्य बेवास्ता गर्दै लगाएको निन्दनीय आरोपले व्यक्तिको इज्जत र कानुनी राज्यलाई नै चुनौती दिएको वक्तव्यमा भनिएको छ । अमरेशले नाघेको सीमाबारे प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको ध्यानाकर्षण समेत गराएको छ ।
यसअघि सांसद अमरेशले एनसेल प्रकरणमा प्रधानमन्त्रीसहित परिवारकै संलग्नताको आरोप लगाउँदै वक्तव्य दिएका थिए ।
प्रतिक्रिया 4