+
+
विचार :

राष्ट्र निर्माणमा देश बाहिरको राष्ट्र नछुटोस्

अहिले सीमित भूगोलभित्र रहेको जनसंख्यालाई मात्र सम्बोधन गर्ने राज्यका नीति, योजना र कार्यक्रम पूर्ण हुनसक्दैन। सम्भावना र समस्या सवालमा भूगोल बाहिरको राष्ट्रलाई भित्रकोलाई जत्तिकै महत्व दिएर मात्र राष्ट्र निर्माणको प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ।

सन्तोष गौतम सन्तोष गौतम
२०८० मंसिर २५ गते ११:२९

हामी बाँचिरहेको युग गतिशील छ। सम्भावना नै सम्भावनाहरूको वर्तमान समयमा हरेक देशका नागरिक आफ्नो बहुआयामिक रूपान्तरणको प्रयासमा विश्वका कुनाकाप्चामा पुगेको अवस्था छ। हेजल मार्कस् र पाउला न्युरियसको अनुसन्धानमूलक पुस्तक ‘पोसिबल सेल्भ्स्’ को अवधारणामा व्यक्त भए जस्तै व्यक्तिमा के बन्ने सम्भावना छ, के बन्न चाहन्छ र के बन्ने भय छ लगायत कुराहरूले उसलाई डोर्‍याउने गर्दछ। मान्छे सम्भावनाको गगनमा विचरण गर्ने र उपलब्धिका नयाँ उचाइहरू प्राप्त गर्ने दिशामा सधैं अग्रसर रहन्छ।

त्यसैले मान्छे तिनै ‘पोसिबल सेल्भ्स्’का सम्भावनाहरूलाई पछ्याउँदै वृद्धिका धेरैभन्दा धेरै अवसरहरूको खोजीमा विश्वका विभिन्न भूभागमा पुग्ने गर्दछ। भूमण्डलीकरणको वर्तमान युगमा यो एक युगीन वास्तविकता भइसकेको छ तर यसको बढी मारमा विकासशील राष्ट्रहरू परिरहेका छन्।

वैदेशिक रोजगार विभागको तथ्याङ्कले आर्थिक वर्ष २०६४/६५ मा २ लाख ४ हजार, २०७१/७२ मा ६ लाख ९३ हजार र २०७९/८० मा ७ लाख ७५ हजार ३२७ जनाले कामको लागि देश छोडेको कहालीलाग्दो यथार्थ देखाउँछ। प्रत्येक दिन वैदेशिक अध्ययनका लागि एनओसी लिनेको बढ्दो भीड, त्रिभुवन विमानस्थलबाट बाहिरिने युवाको हुल अनि कन्सल्टेन्सीहरूमा देखिने विद्यार्थीको चाप सबैले भौतिक रूपमा देश रित्तिंदै गएको विडम्बनापूर्ण चित्र प्रस्तुत गर्दछन्। ११/१२ कक्षामा पढ्ने विद्यार्थीमा अलिकति सर्वेक्षण गरौं त लगभग सबैको चाहना बाहिर जाने नै देखिन्छ। गहन रणनैतिक तथा सुझबुझपूर्ण प्रयास नगर्ने हो भने देश गम्भीर संकटको भुमरीमा फस्ने निश्चित छ।

ब्रेन ड्रेन होइन, ब्रेन सर्कुलेसन

भूमण्डलीकरणको युग वास्तवमा रिसोर्स सर्कुलेसन (स्रोत सञ्चार) र ब्रेन सर्कुलेसन (प्रतिभा सञ्चार) को युग हो। यो युगमा कुनै पनि राष्ट्रका प्राकृतिक र मानवीय स्रोत साधनहरू केवल त्यसै राष्ट्रका सम्पदाको रूपमा मात्र सीमित रहने स्थिति छैन। कच्चा पदार्थको रूपमा निर्यात गरिएका प्राकृतिक स्रोत तथा साधनहरू प्रशोधित औद्योगिक उत्पादनको रूपमा आयात हुने गर्छन्।

सन्तोष गौतम

त्यसैगरी मानव स्रोतको पनि एक देशबाट अर्को देशमा आवतजावत र बसाइसराइ नियमित रूपमा हुने गर्दछ। यही नियमित अनि स्वतस्फूर्त रूपमा हुने मानवस्रोतको आवतजावत र बसाइसराइ नै ब्रेन सर्कुलेसन हो। अर्थात् कुनै राष्ट्रबाट बाहिरिएका अदक्ष, अर्धदक्ष वा दक्ष जनशक्ति थप ज्ञान, क्षमता, दक्षता र सुझबुझका साथ राष्ट्रिय स्वार्थसँग जोडिनु ब्रेन सर्कुलेसनको एक उदाहरण हो र यसका बहुआयामिक र बहुक्षेत्रीय फाइदा छन्। यो एउटा युगीन वास्तविकता पनि हो।

त्यसैले अहिले सीमित भूगोलभित्र रहेको जनसंख्यालाई मात्र सम्बोधन गर्ने राज्यका नीति, योजना र कार्यक्रम पूर्ण हुनसक्दैन। सीमा बाहिरको राष्ट्रलाई नजरअन्दाज गर्ने भुल कुनै पनि सरकारले गर्न मिल्दैन। सम्भावना र समस्या दुवै सवालमा भूगोल बाहिरको राष्ट्रलाई भूगोलभित्रको राष्ट्रलाई जत्तिकै महत्व दिएर मात्र राष्ट्रनिर्माणको प्रक्रियालाई अझ प्रभावकारी बनाउन सकिन्छ।

अहिले कुनै राष्ट्रले चाहेर पनि आफ्ना नागरिकहरूलाई आफ्नै भूगोलभित्र मात्र सीमित गरेर राख्न सक्ने स्थिति छैन। अन्तरदेशीय आवागमन र बसाइसराइ नियमित प्रक्रिया भइसकेका छन्। सूचना र सञ्चारको चरम विकासले गर्दा विश्व परिवेशमा आफ्नो अस्तित्व र सम्भाव्यताको राम्रो आकलन गर्न सक्ने अवस्थामा मानिस पुगेका छन्। सम्भावनाका द्वारहरू अनेक दिशाबाट खुल्न सक्ने वर्तमान युगमा आफ्ना आकांक्षालाई निमोठेर सपनाको बलि चढाउन र आफूलाई कुनै सीमित भूगोलको बन्धक बनाउन मान्छे चाहँदैन।

राज्यका सीमाभित्र वा बाहिर रहेर हरेक सचेत व्यक्ति विश्वव्यापी सम्भावनाहरूको खोजीमा निरन्तर तल्लीन रहन्छ। अनि कुनै पनि देशका नागरिकको पहिचानसँग त्यो देशको राष्ट्रिय पहिचान पनि गाँसिएको हुनाले देशका नागरिकहरू सम्भावनाको गगनमा विचरण गर्ने कुरा त्यो देशको राष्ट्रिय स्वार्थको दृष्टिले पनि स्वागतयोग्य हो।

विभिन्न देशका दृष्टान्त
विश्वका ब्रेन गेनका उल्लेखनीय उदाहरणहरू हेर्दा चीनमा केन्द्रीय सरकारका नीतिहरूले ब्रेन गेनमा महत्वपूर्ण भूमिका निभाएको देखिन्छ। घरेलु वातावरणमा परिवर्तन, अरु देशमा जान आउनमा स्वतन्त्रता, राजनैतिक स्थिरता, सरकारको मानव स्रोत उपयोग नीति, देश फर्केपछिको उच्च सामाजिक हैसियत, पेशागत अवसरहरू र राष्ट्रियताको भावनाले प्रवासी चिनियाँहरूलाई स्वदेश फर्काउनमा योगदान दिएको पाइन्छ भने दक्षिण कोरियामा सरकारले संगठित प्रयास गरी उपयुक्त र सहज वातावरण निर्माण गर्ने अनि फिर्ता भएकाहरूको सम्मान र सशक्तीकरण गर्ने कार्यहरू अगाडि बढाएको पाइन्छ।

त्यस्तै ताइवानले शक्ति सम्पन्न राष्ट्रिय युवा आयोग जस्ता निकायहरू गठन गरी यो कार्यलाई तीव्रता दिएको देखिन्छ। साथै स्वदेशमा रहेका उच्च शिक्षासँग सम्बन्धित संस्थाहरूको सशक्तीकरण गर्ने र बाहिर रहेका विज्ञहरूलाई स्वदेश फर्कन वा स्वदेशको विकासमा योगदान दिन प्रेरित गर्ने नीति लिएको थियो। त्यस्तै मेक्सिकोले विज्ञान र अनुसन्धानको सहयोगको लागि राष्ट्रिय कार्यक्रमद्वारा घरेलु शैक्षिक बजारको अन्तर्राष्ट्रियकरण गर्ने नीति लियो।

यसको उद्देश्य विदेशमा पढेका मेक्सिकन वैज्ञानिकहरूलाई फिर्ता ल्याउने थियो। यसमा उनीहरू सफल पनि भए। अफ्रिकाले विदेशमा पढेका विद्यार्थीलाई फिर्ता ल्याउन ती देशहरूसँग विद्यार्थीले अध्ययन पूरा गरेपछि अनिवार्य रूपमा स्वदेश फिर्ता हुनुपर्ने सम्झौता गरेको थियो।

तसर्थ आफ्ना नागरिकहरूलाई देशभित्रै सम्भव भएसम्म अवसरहरू उपलब्ध गराउनुका अलावा भूगोलका विभिन्न भागमा रहेका आफ्ना नागरिकहरूलाई सरकारका विभिन्न नीति र कार्यक्रमद्वारा समेटेर उनीहरूका सवालहरूको सम्बोधन गर्ने र ज्ञान, सीप र पूँजीलाई राष्ट्रहितमा उपयोग गर्ने नीति विश्वका धेरै देशले लिएको देखिन्छ।

चीन, भारत, ताइवान, मेक्सिको, दक्षिणकोरिया, दक्षिण अफ्रिका लगायत देशहरूले विगतदेखि प्रतिभा प्राप्ति र सदुपयोगका लागि अवलम्बन गरेका नीति र कार्यक्रमहरू धेरै हदसम्म सफल प्रमाणित भए। यी देशहरूले व्यवसायमैत्री नीतिहरूको प्रवर्धनद्वारा उद्यमीहरूलाई देशमै रहन र प्रवासमा रहेकालाई स्वदेश फर्कन प्रेरित गर्ने प्रयास गरे र ती प्रयासहरू परिणाममुखी समेत रहे।

समग्रमा प्रवासी विज्ञहरूसँग नेटवर्किङ गर्ने, आकर्षक सुविधाहरू प्रस्ताव गरी स्वदेश फर्किन आह्वान गर्ने, प्रवासी विज्ञहरूको डेटाबेस तयार र व्यवस्थापन गर्ने र देशमा रहेका आकर्षक अवसरहरूबारे जानकारी विश्वका कुनाकाप्चामा रहेका विज्ञहरू समक्ष पुर्‍याउने अनि स्वदेश आगमनमा विविध छुटहरू उपलब्ध गराउने लगायत कदमहरू यी देशहरूले चालेको देखिन्छ।

हृदयमा रहेको राष्ट्रप्रेमको बीउ अंकुराउने, हुर्कने र फल दिने काम तब मात्र सम्भव छ जब सरकारले उनीहरूलाई उपयुक्त मलजल र संरक्षण प्रदान गर्दछ। अन्यथा हृदय र नसा–नसामा रहेको राष्ट्रियता निमिट्यान्न नभए पनि सुषुप्त भने हुन पुग्छ।

त्यसैगरी आफ्नो उच्च शिक्षाको सबलीकरण गर्ने तथा बाहिर रहेका प्रतिभाहरूलाई या त फर्काउने या कुनै न कुनै हिसाबले राष्ट्रहितसँग जोड्ने नीति यी देशहरूले लिएको देखिन्छ। यी राष्ट्रहरूको अध्ययन गर्दा फर्कन चाहनेहरूले प्राप्त गर्ने अवसर र सुविधाहरूका अलावा ती प्रतिभाहरू बारेको नकारात्मक प्रतिक्रिया, उनीहरूले भोग्ने विपरीत सांस्कृतिक आघात (रिभर्स कल्चरल शक), अन्तर-सांस्कृतिक समायोजन (क्रस कल्चरल रि–एडजस्टमेन्ट) मा समस्या, अपूर्ण आकांक्षाहरू लगायत सवालहरूले पनि उनीहरूको स्वदेश फिर्तीमा प्रभाव पारेको देखिन्छ।

हाम्रो आगामी बाटो
शिक्षाको सान्दर्भिकता र प्रभावकारिताको प्रश्न र शिक्षापछिको अवसरको पहुँचमा जटिलताले हाम्रो स्थानीय तहबाट केन्द्रतर्फ तथा देशबाट अन्य देशतर्फ युवा अनि युवाका साथमा सम्पूर्ण परिवारकै पलायन भएको अवस्था यथार्थमै सोचनीय छ। आज भौतिक पूर्वाधारको यथेष्ट प्रबन्ध हुँदा समेत हाम्रा गाउँठाउँले किन स्थानीय बासिन्दालाई त्यहाँ अडाउन सकेनन् ? विगतका हराभरा गाउँहरू आज सीमित नै भए पनि भौतिक विकासका बावजुद किन उजाड र मानवविहीन बन्दैछन् ? सरोकारवाला सबैले आ-आफ्नो जिम्मेवारी र भूमिकाको निर्मम मूल्यांकन गर्नुपर्छ कि पर्दैन ?

स्थानीय तहदेखि समग्र राज्य अब यही प्रतिभा पलायन भनिएको चुनौतीलाई प्रतिभा सञ्चार वा ब्रेन सर्कुलेसनको रूपमा सदुपयोग गर्ने नीति लिनुपर्छ कि पर्दैन ? रित्तिंदै गरेका गाउँबस्तीलाई थप उजाडिन दिने कि ब्रेन सर्कुलेसनको नीति प्रभावकारी रूपमा लागू गरेर बाहिरिएका नागरिकहरूलाई योजनाबद्ध रूपमा देश र गाउँबस्तीसँग जोड्ने ?

स्थिर राजनैतिक प्रणाली व्यवस्थित गरी युवाहरूका आकांक्षाको अध्ययन गर्न र त्यसको सम्बोधन गर्न दिगो र योजनाबद्ध प्रयास गर्नु आवश्यक छ। राज्यको विश्वसनीयता बढाउने नीति तथा योजनाहरू निर्माण गरी लागू गर्नेतर्फ विलम्ब नगरी लाग्नु आजको आवश्यकता हो।

प्रवासी नेपालीलाई भौतिक रूपमा टाढा रहे पनि आत्मीय रूपमा देशसँग जोडिने वातावरण बनाउनु आवश्यक छ। प्रवासी नेपालीको तथ्यांक संकलन गरी उनीहरूसँग रहेको ज्ञान, सीप, पूँजी, प्रतिभा र सञ्जाललाई राज्यसँग जोड्ने दिगो र प्रभावकारी नीति बनाई कार्यान्वयन गर्न विलम्ब गर्नुहुँदैन।

आजको दिनमा प्रवासी र स्वदेशी नागरिकका बीचमा सहकार्य र समन्वयले मात्र देश बन्न सक्छ र राज्यका नीति बनाउँदा यो कुरालाई नजरअन्दाज गरेमा हाम्रा प्रयासहरू पूर्ण र परिणाममुखी हुन सक्दैनन्।

यसर्थ राज्यको भौगोलिक सीमा बाहिरको राष्ट्रमा पनि सरकारको उपस्थिति सशक्त हुनु आवश्यक छ। राज्यका नीति, योजना र कार्यक्रमहरूमा गैरआवासीय नागरिकहरूका सरोकारका विषय सम्बोधन गर्न सरकारले तत्परता देखाउनुपर्दछ। तब मात्र ब्रेन सर्कुलेसन प्रभावकारी भई त्यसबाट देशले लाभ लिन सक्छ। होइन भने भौगोलिक रूपमा टाढा रहेका प्रतिभाहरू भावनात्मक रूपमा पनि टाढा हुन पुग्दछन्।

हृदयमा रहेको राष्ट्रप्रेमको बीउ अंकुराउने, हुर्कने र फल दिने काम तब मात्र सम्भव छ जब सरकारले उनीहरूलाई उपयुक्त मलजल र संरक्षण प्रदान गर्दछ। अन्यथा हृदय र नसा–नसामा रहेको राष्ट्रियता निमिट्यान्न नभए पनि सुषुप्त भने हुन पुग्छ।

अर्कोतर्फ मान्छेमा स्वाभाविक रूपमै विभिन्न हिसाबले टाढा रहेका आत्मीयजन, भूगोल र परिवेशसँग जोडिने आकांक्षा हुने गर्दछ। त्यो भावनाको उचित कदर गर्ने कुरामा राज्यले कुनै कसर बाँकी राख्नुहुँदैन। केही सवालहरू हाम्रो देशले पनि सम्बोधन गरेको छ। अब योजनाबद्ध रूपमा उनीहरूलाई राष्ट्रहितसँग जोड्नु आवश्यक छ। हरेक प्रवासी नागरिक देशका अनौपचारिक राजदूतहरू बन्न सकून्।

-लेखक ब्रेन गेन सेन्टर नेपालका प्रथम संयोजक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?