२५ मंसिर, काठमाडौं । नेपाली फुटबलको विकासमा सहयोग गर्ने लक्ष्यसहित भइरहेको नेपाल सुपर लिग एनएसएल दोस्रो सिजनको मध्यतिर आइपुग्दा फुटबलको माहोल तातिरहेको छ ।
९ टोली सहभागी लिग सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन भइरहेको छ र लिगको अन्त्यमा फाइनल र प्लेअफका चार खेल हुनेछन् ।
यसरी ४० खेल हुने लिगमा आधा अर्धात २० खेल सकिएका छन् । सहभागी ९ मध्ये चार टोलीले ५-५ खेल खेलिसकेका छन् बाँकीले समान चार खेल खेलेका छन् ।
आधा खेल सकिँदा शीर्ष चारमा रहेर प्लेअफमा कुन टोली पुग्ला भन्ने अड्कलबाजी सुरु हुन थालेको छ ।
अहिलेसम्म ललितपुर सिटी एफसी धनगढी एफसी र पोखरा थण्डर्स अपराजित रहँदै शीर्ष तीनमा दुई नयाँ टोली झापा एफसी र वीरगञ्ज युनाइटेड जितिविहीन हुँदै अन्तिम दुईमा छन् ।
ललितपुर धनगढी र पोखरा प्लेअफका लागि प्रमुख दाबेदारको रुपमा छन् । बुटवल लुम्बिनी एफसी चौथो स्थानमा छ । त्यसपछि साविक विजेता काठमाडौं रेजर्स, एफसी चितवन र स्पोर्टिङ इलाम एफसी मिड टेबलमा छन् ।
कोरोना महामारीका कारण पहिलो सिजन बिना दर्शक आयोजना भएको एनएसएलमा यस पटक दर्शकले रंगशालमै उपस्थित भएर खेल हेर्न पाएका छन् । तर अपेक्षा गरिए अनुसारको दर्शक रंगशालासम्म पुगेका छैनन् ।
यस्तै यस पटक विदेशी खेलाडीको संख्या पनि बढाइएको छ । हरेक टिमले ६ विदेशी अनुबन्ध गर्न पाउने र त्यसमा पनि ५ विदेशी एकै पटक मैदान उतार्न पाउने प्रावधान छ । जसले गर्दा धेरै खेलको नतिजा विदेशी खेलाडीकै प्रदर्शनमा निर्भर भएको छ ।
गोल गर्ने र गोल बचाउने तथ्याङ्कले पनि यसलाई पुष्टी गर्छ । अहिलेसम्म सर्वाधिक तीन गोल गर्ने बुटवल लुम्बिनीका स्टेफन विनोङ क्यामरुनमा खेलाडी हुन् ।
यस्तै दुई-दुई गोल गर्नेमा पाँच खेलाडीमा तीन विदेशी र दुई नेपाली छन् ।
ललितपुरबाट फ्रान्सका पापा इबोउ केबे, धनगढीबाट खेल्ने नाइजेरियाका ओलावाले आफिज र पोखराबाट खेल्ने मोसेस ग्याबाहले २ गोल गरेका छन् ।
नेपाली खेलाडीतर्फ बुटवलका कप्तान एरिक विष्ट र राजीव लोप्चनले समान २ गोल गरेका छन् । काठमाडौं रेजर्स राजिवले दुवै गोल सब्सिच्युट खेलाडीको रुपमा खेल्दै गरेका छन् ।
यस्तै ललितपुरका फ्रेन्च गोलकिपर जेफ्री बाल्टुस र पवोखराका क्यामरुनेली किपर प्रिसोले सर्वाधिक ३-३ खेलमा क्लिनसिट (गोल नखाएको) राखेका छन् ।
कसको अवस्था कस्तो?
ललितपुर सिटी एफसी
पेपरमा बलियो देखिएको ललितपुर सिटी एफसी उपाधि दाबेदार टिम मध्ये एक हो । ५ खेलबाट ९ अंक जोडेको ललितपुर हाल शीर्ष स्थानमा छ । ५ खेल खेलेको ललितपुर अपराजित छ । जसमा २ जित र ३ बराबरीको नतिजा निकालेको छ ।
पहिलो खेलमै बुटवल लुम्बिनीलाई २-० ले हराएको सानदार सुरुवात गरेको ललितपुरले त्यसपछि लगातार तीन बराबरी खेलेको थियो ।
पोखरा थण्डर्स र धनगढी एफसी विरुद्ध गोल रहित बराबरी खेलेको ललितपुरले त्यसपछि वीरगञ्ज युनाइटेडसँग २-२ को बराबरी खेलेको थियो । तर पछिल्लो खेलमा भने एफसी चितवनलाई ३-१ ले हराउँदै ललितपुरले आफू किन उपाधिको दाबेदार हो भनेर देखाएको छ ।
ललितपुरले ५ खेलमा ७ गोल गर्दा ३ गोल बेहोरेको छ ।
धनगढी एफसी
साविक उपविजेता धनगढी एफसी पनि यस सिजन उपाधि दाबेदारको रुपमा देखिएको अर्को टिम हो । चार खेल खेल्दा अपराजित रहेको धनगढी ८ अंकसहित दोस्रो स्थानमा छ । पोखरा थण्डर्सकै समान अंक भए पनि गोल अन्तरमा आधारमा धनगढी अघि छ ।
धनगढीले ४ खेल खेल्दा २ जित र २ बराबरी नतिजा निकालेको छ । सुरुवाती दुई खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ र बुटवल लुम्बिनीलाई १-० ले हराएर सानदार सुरुवात गरेको धनगढीले त्यसपछि लगातार दुई बराबरी खेल्यो ।
ललितपुर सिटी विरुद्ध गोलरहित बराबरी खेलेको धनगढीले पछिल्लो खेलमा स्पोर्टिङ इलाम विरुद्ध २-२ को बराबरी खेलेको थियो ।
इलाम विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको स्थिति उल्टाउदै धनगढीले उत्कृष्ट पुनरागमन गरेको थियो ।
धनगढीले चार खेलमा ५ गोल गरेको छ भने ३ गोल खाएको छ ।
पोखरा थण्डर्स
यस सिजन अपराजित तीन टिममध्ये पोखरा थण्डर्स तेस्रो टोली हो । पोखराले पनि ४ खेल खेल्दा २ जित र २ बराबरी नतिजा निकालेको छ ।
पहिलो खेलमै चितवनलाई १-० ले पराजित गरेको पोखराले त्यसपछि ललितपुर सिटी विरुद्ध गोलरहित बराबरी खेलेको थियो भने झापा एफसीसँग १-१ को बराबरीमा रोकिएको थियो । तर पछिल्लो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएर पोखरा फेरि विनिङ ट्रयाकमा फर्किसकेको छ ।
पोखरा यस सिजन थोरै गोल खाने टिम हो । उसका गोलकिपर प्रिसोले चार मध्ये तीन खेलमा क्लिन सिट राख्दा एक खेलमा जम्मा एक गोल मात्र बेहोरेका छन् ।
पोखरा आफैं पनि थोरै गोल गर्ने टिम मध्येमा छ । उसले विपक्षीको पोष्टमा चार खेलमा जम्मा ३ गोल गरेको छ ।
बुटवल लुम्बिनी एफसी
एरिक विष्टको कप्तानीमा रहेको बुटवल लुम्बिनीले खराब सुरुवात गरे पनि पछिल्लो खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै लयमा देखिएको छ । उसले ५ खेल खेल्दा २ जित १ बराबरी र २ हारको नतिजासहित ७ अंक जोडेर चौथो स्थानमा छ ।
पहिलो खेलमा ललितपुर विरुद्ध २-० र दोस्रो खेलमा धनगढी विरुद्ध १-० ले पराजित भएको बुटवललले सुरुवाती दुई हारपछि लय समातेको छ ।
त्यसपछि बुटवलले स्पोर्टिङ इलामलाई २-१ ले हराएर पहिलो जित निकालेको थियो । चितवनसँग १-१ को बराबरी खेलेको बुटवलले पछिल्लो खेलमा साविक विजेता काठमाडौं रेजर्सलाई २-१ ले पराजित गरेको छ ।
गोल पनि गर्ने र गोल पनि खाने टिमको रुपमा देखिएको बुटवलले ५ गोल गर्दा ६ गोल खाएको छ ।
काठमाडौं रेजर्स
पहिलो सिजनको च्याम्पियन टिम हो काठमाडौं रेजर्ज । दशरथ रंगशालमा एनएसएल भइरहेकोले काठमाडौंलाई घरेलु टिमको रुपमा समेत हेरिन्छ । तर यस सिजन काठमाडौंले त्यो च्याम्पियन छनक देखाउन सकेको छैन ।
पहिलो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएर जितसहित सुरुवात गरेको काठमाडौंले त्यसपछि भने लगातार तीन खेलमा जितविहीन छ ।
चार खेल खेल्दा १ जित, २ बराबरी र १ हारको नतिजाहसित काठमाडौं पाँचौ स्थानमा झरेको छ ।
पहिलो खेल जितेपछि चितवन विरुद्ध १-१ र झापा विरुद्ध गोलरहित बराबरी खेलेको काठमाडौंको अपराजित यात्रा बुटवल लुम्बिनीले टुङ्ग्याएको थियो । बुटवलले काठमाडौंलाई २-१ ले पराजित गरेको हो ।
काठमाडौंले अहिलेसम्म ३ गोल गरेको छ उति नै संख्यामा गोल बेहोरेको छ ।
एफसी चितवन
एफसी चितवन पहिलो सिजन ६ खेलमा जितविहीन थियो । यस सिजन पनि तेस्रो खेलमा पुगेर मात्र जित हात पारेको चितवन ५ खेलबाट ५ अंकसहित छैटौं स्थानमा छ ।
चितवनले जम्मा १ खेल जित्दा २ खेल बराबरी खेलेको छ भने २ खेलमा पराजित भएको छ ।
पहिलो खेलमैँ पोखरा विरुद्ध १-० ले पराजित भएको चितवनले त्यसपछि साविक विजेता काठमाडौं विरुद्ध १-१ को बराबरी खेलेको थियो । सिजनको तेस्रो तथा एनएसएलमा समग्रमा नवौँ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा चितवनले वीरगंज युनाइटेडलाई २-१ ले हरायो ।
त्यसपछि भने चितवन लगातार दुई खेलमा जितविहीन छ । बुटवल विरुद्ध १-१ को बराबरी खेलेको चितवन पछिल्लो खेलमा ललितपुर विरुद्ध ३-१ ले पराजित भएको थियो । चितवन यस सिजन एकै खेलमा धेरै गोल खाने टिम समेत बनेको छ ।
चितवनले ५ गोल गर्दा यस सिजन सबैभन्दा धेरै ७ गोल खाएको छ ।
स्पोर्टिङ इलाम डे मेची एफसी
यस सिजन थपिएका तीन नयाँ टोलीमध्ये स्पोर्टिङ इलाम एक हो । इलाम ५ खेल खेलिसक्दा ४ अंक जोडेर सातौं स्थानमा छ ।
मैदानमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न समस्या देखिँदा इलामले सबैभन्दा धेरै तीन खेल हारेको छ । उसले ५ खेल खेल्दा जम्मा १ खेल जितेको छ भने १ खेल बराबरी खेलेको छ ।
डेब्यू सिजनको उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको इलामले अर्को नयाँ टोली झापा एफसीलाई १-० ले हराएर पहिलो जित हात पारेको थियो ।
त्यसपछि भने इलाम बुटवल लुम्बिनीसँग २-१ र पोखरा थण्डर्ससँग १-० ले पराजित भयो । पछिल्लो खेलमा धनगढी एफसी विरुद्ध दुई गोलको अग्रता लिए पनि जोगाउन नसक्दा इलामले २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
इलामले अहिलेसम्म ४ गोल गर्दा ६ गोल खाएको छ ।
झापा एफसी
यस सिजन थपिएको अर्को नयाँ टोली हो झापा । र सुरुवाती चार खेलमा झापा जितविहीन छ । झापाले ४ खेल खेल्दा ३ बराबरी खेलेको छ भने १ हार बेहोरेको छ । झापा ३ अंकसहित आठौं स्थानमा छ ।
एनएसएलको डेब्यु खेलमै इलामसँग १-० ले पराजित भएको झापाले त्यसयता लगातार तीन बराबरी खेलेको छ ।
राष्ट्रिय टिमका स्टार अन्जन विष्ट कप्तान तथा मार्की रहेको झापाले विपक्षीको पोष्टमा गोल गर्न संघर्ष गरिरहेको छ । चोटका कारण अन्जनले पछिल्लो दुई खेल बेन्चमै बसेर हेरेका थिए ।
पोखरा विरुद्ध १-१ को बराबरी खेलेका झापाले काठमाडौं र वीरगंज विरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
सबैभन्दा कम गोल गर्ने टिम झापाले विपक्षीको पोष्टमा जम्मा १ गोल गरेको छ । यस्तै झापाले जम्मा २ गोल मात्र बेहोरेको छ ।
वीरगञ्ज युनाइटेड
यस सिजन थपिएको अर्को नयाँ टोली हो वीरगञ्ज युनाइटेड । झापा जस्तै वीरगञ्ज पनि चार खेल खेल्दा जितविहीन छ । उसले चार खेलमा दुई बराबरी गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
पहिलो खेलमै धनगढी एफसीसँग २-१ ले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा चितवन विरुद्ध पनि सोही नतिजामा पराजित भएको थियो ।
त्यसपछि वीरगञ्जले हाई स्कोरिङ खेलमा ललितपुर सिटीसँग २-२ को बराबरी खेल्दै पहिलो एक अंक जोडेको थियो । वीरगञ्जले पछिल्लो खेलमा झापासँग गोलरहित बराबरी खेल्दै लगातार दोस्रो खेलमा अंक बाँड्यो । आधा खेल सकिँदा जितविहीन रहेको वीरगञ्ज सबैभन्दा दबाबमा छ र प्लेअफ पुग्ने सम्भावना कठिन छ ।
वीरगञ्जले अहिलेसम्म ४ गोल गरेको छ भने ६ गोल खाएको छ ।
प्रतिक्रिया 4