
कहिलेकाहीं मित्रताहरु सम्बन्धमा मात्र सीमित रहँदैनन् । त्यसले व्यावसायिक नाता पनि जोडिदिन्छ । जस्तो रेश्मा संजेल र सायशा लुइँटेललाई हेरौं ।
उमेरले उनीहरु २४ वर्ष हाराहारीका छन् । दुवै हितैषी साथी हुन् । तर, त्यति मात्र पनि होइन । उनीहरु व्यावसायिक साझेदार पनि हुन्, जसले आफ्नै बलबुतोमा ‘यात्रा’ नामक जुत्तालाई ब्रान्डिङ गरेका छन् र बजारमा ल्याएका छन्, खासगरी महिलालाई लक्षित गरेर ।
अहिले उनीहरु विभिन्न मोडलका जुत्ता तयार र बिक्री गर्छन् । यसले उनीहरुलाई आयआर्जनको मेलो त दिएकै छ, थप केही गर्ने उत्साह पनि ।
उनीहरुले यो उद्यम सुरु गरेको पुगनपुग दुई वर्ष भयो । यस अवधिमा उनीहरुले नेपाली महिलाको खुट्टाको साइज अनुसार करिब ६ दर्जन भिन्नाभिन्नै डिजाइन तयार गरिसकेका छन् । यी जुत्ता तीन वटा रंगमा उपलब्ध छ । बजार मूल्य भने १५ सयदेखि २५ सय रुपैयाँसम्म छ । जुत्ताको नाम जुराएका छन्, यात्रा ।
उनीहरुले किन ‘यात्रा’ नामकै जुत्ता तयार गर्ने योजना बनाए ? कसरी उद्यम सुरु गरे ? यी प्रश्नहरुको उत्तर खोज्नुअघि उनीहरुको हालको हिसाब किताब हेरौं ।
पाँच लाख रुपैयाँबाट सुरु भएको उनीहरुको यो यात्राले अहिले मासिक लगभग ८ लाखको कारोबार गर्छ । यात्रामा रेश्मा र सायशासँगै अन्य १२ जनाले काम गर्छन् ।
यात्रा सुजसँगै अहिले ‘जुनु’ लेदरको ब्यागहरू पनि बजारमा ल्याउने तयारीमा छन् रेश्मा र सायशा । छिट्टै पुरुषको जुत्ता उत्पादन गर्ने तयारी गरिरहेको र साथै अनलाइन प्लेटफर्मसँगै स्टोर खोल्ने तयारी पनि भइरहेको सायशाले बताइन् ।
यसरी सुरु भयो यात्रा
रेश्मा संजेल र सायशा लुइँटेलको मित्रताको सुरुवात स्नातक पढ्नको लागि ‘एसीइ इन्स्टिच्युट अफ म्यानेजमेन्ट’ कलेज पुगेको पहिलो दिनबाट भयो । कलेजको पहिलो दिनबाट साथी बनेका उनीहरू बिस्तारै घनिष्ठ साथी भए । एकअर्कालाई साथ र सहयोग गर्ने साथी ।
पढाइ राम्ररी नै चलिरहेको थियो । पढाइ अन्तिम वर्षमा चलिरहेको थियो । अचानक कोरोना महामारी र लकडाउनको कारण उनीहरूको परीक्षा सर्यो । व्यवस्थापनका विद्यार्थी भएका कारण फुर्सदको समयमा उनीहरू केही व्यवसाय गर्ने सल्लाह गरिरहन्थे । लकडाउनको समय त उनीहरुका लागि समस्या भन्दा पनि अवसर भइदियो । कारण, फुर्सदिलो समय ।
उनीहरु सोचिरहेका हुन्थे, केही त गर्नुपर्छ । तर के गर्ने ? टुंगो थिएन ।
केको व्यवसाय गर्ने होला ? अहिले बजारमा के चलेको छ ? भन्ने कुराको अन्योल थियो । उनीहरुले बजारमा के चल्छ, कस्तो चल्छ, के अभाव छ आदि कुराबारे चासो लिन थाले । यसरी हेर्दा नेपालमै उत्पादन गर्न सकिने सामानहरू एकदमै थोरै थियो । त्यसमा जुत्ता उत्पादन गर्न अलि सहज र बजार पनि राम्रो भएकाले जुत्ताबाट नै सुरुवात गर्ने सल्लाह गरे ।
नेपालमा बन्ने जुत्ताहरू त धेरै छन् त्यसमा आफ्नो जुत्तालाई कसरी फरक बनाउने भन्ने चुनौती त थियो नै । नेपाली ब्रान्डको जुत्ता बनाउने ब्रान्डको नाम के राख्ने भनेर पनि दुवैले सल्लाह गरे । दुई साथीहरूको यात्रालाई अझै अघि बढाउन यो व्यवसायले सहयोग गर्छ भन्ने विश्वासका साथ उनीहरूले जुत्ताको ब्रान्डको नाम नै ‘यात्रा सुज’ राखे ।
अनि सुरु भयो यात्रा सुज
दुई साथीले नेपालमा जुत्ताको व्यवसाय गर्ने निधो त गरे । तर, कसरी सुरु गर्ने, कच्चा पदार्थ कहाँबाट ल्याउने, कहाँ बनाउने केही ज्ञान थिएन । पढाइ सकाएर अचानक नयाँ व्यवसाय सुरु गर्न सजिलो पनि कसरी होस् ।
अब उनीहरू बजार चहार्न थाले कच्चा पदार्थ जुटाउन । नयाँ व्यवसाय सुरु गर्न सहयोग गर्ने केही व्यक्तिसँग पनि भेटे । कच्चा पदार्थ र अन्य आवश्यक सामाग्री जुटाएर चाबहिलमा फ्याक्ट्री खोले यात्रा सुजको ।
‘व्यवसाय सुरु गर्ने निर्णय गर्यौं तर कसरी गर्ने भनेर केही आइडिया थिएन । त्यसैले हामीले नेपालमा जुत्ता चप्पल उत्पादन गर्न केके गर्नु पर्छ भनेर केही अध्ययन पनि गर्यौं’ सायशा सुनाउँछिन् ।
रेश्मा भन्छिन्, ‘बजारमा अहिले नेपाली ब्रान्डका थुप्रै जुत्ताहरू उपलब्ध छन् । त्यसमा आफ्नो जुत्तालाई कसरी फरक बनाउने भन्ने चुनौती थियो । तर हामीले हाम्रो डिजाइनलाई फरक बनायौं । डिजाइन मात्र हैन हाम्रो जुत्ता लगाउन आरामदायी होस् भन्ने कुरामा पनि त्यत्तिकै ध्यान दियौ ।’
उनी थप्छिन्, ‘हामीले सानो स्केलमा नै हेन्डमेड, विशेषगरी कामकाजी महिलाहरूलाई लक्षित गर्दै फेन्सी साथै आरामदायक जुत्ताहरू बनाउँछौं । प्रतिस्पर्धी बजारको बिच नै हामीले केही नयाँ गर्न सक्छौं भन्ने लागेर यसमा अघि बढ्यौं ।’
नयाँ डिजाइनको जुत्ता निस्किएपछि हामी आफैं लगाएर चित्त बुझेपछि मात्र बजारमा बिक्रीको लागि राख्ने गरेको सायशा सुनाउँछिन् ।
उनीहरूले सुरुवातमा करिब ५ लाखको लगानीमा सुरुवातमा रिसाइकल गरिएको सोलबाट दुई वटा डिजाइनको एक हजार थान जुत्ता उत्पादन सुरु गरे ।
उत्पादन गरेको जुत्तालाई आफ्नो घरपरिवार, साथी समूहलाई नै बिक्री गरे । साथै टिकटक, इन्स्टाग्राम र फेसबुक लगायतका सोसल मिडिया प्लेटफर्मबाट आफ्नो उत्पादनको प्रचार गर्न थाले ।
यात्रा सुजको आकर्षक डिजाइनलाई ग्राहकले रुचाए । एउटै ग्राहक दोहोरिन थाले र उनीहरूको माध्यमबाटै अरू पनि यात्रासँग जोडिन थाले । बिस्तारै व्यवसायले गति लिन थाल्यो । नेपाल मात्र हैन विदेशमा बस्ने नेपालीहरूले जुत्ता माग गर्न थाले ।
हरेक जुत्ता रेश्मा र सायशा मिलेर डिजाइन गर्छन् । मार्केटिङ र अन्य व्यवस्थापन पनि उनीहरू मिलेर नै गर्छन् ।
सुरुवाती दिनहरूमा त एक-दुई हप्तामा एउटा दुइटा मात्र जुत्ता बिक्री हुन्थ्यो । अहिले दैनिक १६० देखि १८० जोर जुत्ता बिक्री हुन्छ । पछिल्लो समय हामी दराजअनलाइन सपिङ प्लेटफर्ममा पनि जोडिएका छौं। साथै केही होलसेलमा पनि हाम्रो जुत्ता दिने गरेका छौं’ सायशाले भनिन् ।
प्रतिक्रिया 4