+
+
भ्वाइस अफ नेपाल सिजन ५ :

‘भ्वाइस’मा रकको जादु छर्ने तेन्जिङ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १४:४०

काठमाडौं । रक संगीतमा रुचि राख्नुहुन्छ भने, तेन्जिङ डोल्मा गुरुङको गायकीले तपाईंलाई मन्त्रमुग्ध तुल्याउने पक्का छ । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा उनले रकको जादू छरेकी छन् । ‘ब्लाइण्ड अडिसन’बाटै तेन्जिङ दर्शककी ‘फेवरेट ट्यालेन्ट’ हुन् ।

टीम प्रमोद खरेलकी यी प्रतिस्पर्धीले ‘ब्लाइण्ड अडिसन’मै सबै कोचको कुर्सी घुमाउन सफल भइन् । त्यसपछि ब्याटल र नकआउट राउण्डमा उनको प्रस्तुति हेर्दा लाग्छ, उनको गायकी अझै निखरिँदो छ । आगामी ‘लाइभ राउण्ड’ प्रतिस्पर्धात्मक बन्ने पक्का छ । तेन्जिङ यसका लागि मनोवैज्ञानिकरुपमा तयार छिन् ।

पुख्र्यौंली घर मनाङको खाङसार भएपनि काठमाडौंमा जन्मे, हुर्केकी यी तन्नेरीसँग संगीतको पारिवारिक नाता छ । उनका बुवा टीका गुरुङ रेकर्डिङ स्टुडियो चलाउँछन् । यसर्थ, उनी परिवारमा दोस्रो पुस्ताकी संगीतकर्मी हुन् । पारिवारिक विरासत बोकेकी तेन्जिङको संगीतको पृष्ठभूमि चाहिँ ठमेल वरपर भेटिन्छ ।

ठमेल वरपरका रेष्टुरेन्टमा संगीतको स्वाद पस्कँदै उनले संगीतको अभिरुचिलाई जीवन्त राखेकी छन् । उनको आफ्नै ब्याण्ड पनि छ- वाकिटकी । यो ब्याण्ड अहिले पनि ठमेलमा गुञ्जन्छ । सन् २०१९ मा गठन भएको यो ब्याण्डको भोकलिस्ट हुन् उनी ।

रक तेन्जिङको ‘फेवरेट जनरा’ हो । उनी नेपाली ‘हस्की’ स्वरका गायक सविन राईलाई पछ्याउँछिन् । अंग्र्रेजीमा चाहिँ केही रक ब्याण्ड छन् जसबाट उनी प्रभावित छिन् । ‘मेरो फेवरेट जनरा रक नै हो । पहिल्यैदेखि यस्तै गीत सुनिराख्ने । यस्तै गीत गुनगुनाउने गर्दै आएकी थिएँ । अहिले यस्तै गाउन मन छ’ उनले भनिन् ।

‘भ्वाइस अफ नेपाल’ले आफ्नो सांगीतिक क्षमतालाई निखार्न मद्दत गरेको अनुभव उनीसँग छ । ‘यहाँ आइसकेपछि ममा धेरै नै परिवर्तन भयो । कोचले गायनमा हेल्प गर्नुभएको छ । अरु प्रतिस्पर्धीबाट पनि सिकेकी छु । ममा राम्रो परिवर्तन आएको छ’ लाइभ राउण्डको तयारीमा जुटेकी तेन्जिङले अनलाइनखबरसँग भनिन् । भ्वाइसजस्ता प्लाटफर्मले आफूजस्ता सांगीतिक करिअर बनाउन खोज्नेलाई मद्दत गरेको उनको बुझाई छ ।

‘लाइभ राउण्ड’ प्रतिस्पर्धात्मक पक्का छ । प्रतिस्पर्धा गर्नेलाई भन्दा हेर्नेलाई मनोरञ्जन पनि । यसका लागि दबाब पक्कै हुन्छ । यो दबाबको महसुस तेन्जिङले गरेकी छन् । ‘मैले आफ्नो बेस्ट दिने हो । त्योभन्दा अरु गर्न सक्दिन । म यहाँसम्म आउनु नै ठूलो कुरा हो । मानसिकरुपमा हारेर वा जितेर गएपनि म तयार छु’ उनी सुनिइन्, ‘यो कम्पिटिसन हो । प्रेसर त भैहाल्छ ।’

उनी आफ्नो गायन क्षमता र पर्फमेन्सलाई प्रतिस्पर्धा जित्ने मुख्य आधार मान्छिन् । ‘अवश्य पनि अरुभन्दा मेरो गीतको जनरा भिन्न छ । बेस्ट पर्फमेन्स दिने हो । मेरो आत्मविश्वास भनेकै पर्फमेन्स र सिंगिग हो’ उनले भनिन् ।

भ्वाइस अफ नेपालको सिजन ५ को लाइभ राउण्ड आगामी सातादेखि सुरु हुँदैछ । उक्त राउण्डमा छनोट भएका प्रतिस्पर्धीसँगको कुराकानीलाई प्रस्तुत जाँदै जानेछौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?