
काठमाडौं । स्वर्गिय लेखक, संगीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम उपन्यास ‘अ योङ वान्डरिङ मडलार्क इन ओल्ड काठमान्डू’ लोकापर्ण गरिएको छ ।
काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थक पत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
यो पुस्तक संस्करणात्मक आख्यान हो । यसमा विशेषगरी सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ । त्यति बेला पश्चिमा युवा–युवती स्वतन्त्रता र निर्वाणको खोजीमा हिप्पी ट्रायल पछ्याउँदै नेपाल आउँथे । यस पुस्तकले त्यसैको कथा भन्छ ।
‘पिटरको स्वतन्त्र लेखन र व्यंग्यात्मक भाषाशैलीले पुस्तकलाई थप रोचक बनाएको छ’ उपन्यास सार्वजनिक गर्दै केदारभक्त माथेमाले सुनाए, ‘यसले मलाई असाध्यै तान्यो ।’
पुस्तकका पात्र यथार्थ रहेको र यसले त्यति बेला अर्थात् पञ्चायतको समयताकको चित्रणलाई राम्ररी अभिव्यक्त गरेको प्रा. अभि सुवेदीले बताए । ‘कतैकतै साथीहरूको खुबै प्रशंसा छ,’ पुस्तकबारे सुवेदी भन्छन्, ‘कतैकतै भने यहाँका साथीहरू कोही रहेनछन्, उतै पो रहेछन् कि भनेर दार्जीलिङलाई पिटरले सम्झिएका छन् ।’
कार्यक्रममा कार्थक पत्नी रञ्जनाले यसअघिका पुस्तक लेखनका विषयमा आफुहरूलाई थाहा भए पनि यो अप्रत्याशित कृति भएको बताइन् । ‘यो पुस्तक तयार पारिसकेको कुरा पिटर दिवंगत हुनु केही अघि मात्र हामीलाई भनेका थिए’ उनले भनिन्, ‘त्यसैले पनि यो पुस्तक हाम्रा लागि विशेष छ ।’
दार्जीलिङबाट नेपाल आई लामो समयसम्म नेपाली साहित्य, सङ्गीत र सम्पादनमा महत्वपूर्ण योगदान दिएका कार्थकप्रतिको श्रद्धाञ्जलिका रूपमा आफूहरूले यो पुस्तक प्रकाशन गरेको प्रकाशक अजित बरालले जनाए । ‘काठमाडौं सेरोफेरोमा बस्नेहरूले यस उपन्यासमा आफूलाई पनि पाउनुहुनेछ,’ उनले भने ।
कार्यक्रममा निर्मलमान तुलाधरले पिटर जे कार्थकको एउटा गीत ‘मायालु’ शीर्षकको गीत गाएर स्वर्गीय कार्थकको सम्झनासमेत गरेका थिए ।
प्रतिक्रिया 4