पछिल्लो तथ्यांकले के देखाएको छ भने, पुरुषको शुक्रकिटको गुणस्तरमा ह्रास आउँदै गएको छ । यसले बाँझोपनको समस्या बढाएको छ । सामान्यत विवाहपछि सन्तानको योजना बनाइरहँदा पनि गर्भधान हुन नसक्नु बाँझोपन हो । एक मेडिकल रिपोर्ट अनुसार गर्भधारणका प्रयास गर्ने प्रत्येक ६ दम्पतीमध्ये एकलाई बाँझोपनको समस्या छ । बाँझोपन हुनुमा पुरुषको हिस्सा पनि उत्तिनै छ, जति महिलाको छ ।
पुरुषमा किन बाँझोपन बढ्दो छ त ? यसमा एउटा मात्र कारण छैन । आन्तरिकदेखि बाह्य कारणहरुले पुरुषमा बाँझोपन बढ्दो छ । सामान्यत वीर्य नलीमा अवरोध हुँदा कुनैपनि पुरुष सन्तान जन्माउनमा असमर्थ हुने गर्छन् । कतिपयको जन्मजात यस्तो समस्या हुन्छ भने कतिपयको संक्रमणको कारणले पनि ।
पुरुषमा शुक्राणुको संख्या कम हुँदा बाँझोपन हुनसक्छ । यस किसिमको अवस्थालाई चिकित्सकिय भाषामा ‘ओलिगोस्पर्मिया’ भनिन्छ । यस्तो हुनुमा अत्याधिक मदिरा, धुम्रपान, लागुऔषध आदिको प्रयोग मूख्य जिम्मेवार मानिन्छ ।
वातावरणिय असर
वाह्य प्रभाव खासगरी प्रतिकुल वातावरणले गर्दा पनि पुरुषको शुक्राणु कमसल हुने जोखिम बढ्छ । उच्च तापमानमा बस्ने वा हानिकारक विकिरणको सम्पर्कमा रहने पुरुषको शुक्राणुको गुणस्तर कमसल हुनसक्छ । यसले बाँझोपनको जोखिम बढाइदिन्छ ।
प्रजनन अंगमा समस्या
अण्डकोष सुन्निने वा गोनोरिया र एचआइभी जस्ता यौनजन्य संक्रमण भएमा पनि पुरुषले सन्तान उत्पादन गर्न सक्दैनन् ।
त्यसबाहेक अस्वस्थ्यकर खानपान, तनाव, बढी तौल, क्यान्सर जस्ता रोगले पनि पुरुषमा निःसन्तानको समस्या बढाउँछ ।
कसरी थाहा हुन्छ ?
सुरुमा पुरुषको शारीरिक अवस्थासँगै पारिवारिक इतिहासको जानकारी लिइन्छ । त्यसपछि शुक्रकिट परीक्षण गरिन्छ । आवश्यक परेमा यौनाङ्ग, अण्डकोष र प्रोस्टेट ग्रन्थी जाँच गरिन्छ । यसका लागि अल्ट्रासाउन्ड, रगत परीक्षण, संक्रामक रोगको परीक्षण जरुरी हुन्छ ।
के यसको उपचार हुन्छ ?
पुरुषमा बाँझोपनको कारण व्यक्तिपिच्छे फरक हुनसक्छ । त्यसैले यसको उपचारमा पनि एकरुपता हुँदैन । यदि यौन क्रियामा सक्रिय हुन सकिरहेका छैनन् भने औषधि, मनोचिकित्सा र यौन थेरापी दिइन्छ । शुक्रकिट उत्पादनमा समस्या छ भने सोका लागि पनि औषधि दिइन्छ । साथै हर्मोन सन्तुलन राख्ने औषधि दिइन्छ । संक्रमण भएमा एन्टिबायोटिक दिइन्छ ।
यसपछि पनि बाँझोपन कायम रहेमा अन्य उपचार विधि प्रचलनमा छन् । अहिले पुरुषमा शुक्रकिटको कमी भएमा वा कमसल भएमा कृत्रिम गर्भाधान गर्ने प्रणाली पनि उपलब्ध छ । यस प्रक्रियामा धेरै पटक शुक्रकिट संकलन गरेर महिलाको पाठेघर वा फेलोपियन ट्युबमा प्रवेश गराइन्छ । यदि शुक्राणु नै उत्पादन नहुने अवस्था छ भने शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ ।
बाँझोपनबाट बच्न सकिन्छ ?
पुरुषमा आनुवंशिक समस्या वा अरु कति रोगको कारण हुनसक्ने बाँझोपन रोक्न सकिदैन । यद्यपि केही सावधानी अपनाएमा यो समस्याबाट बच्न सकिन्छ ।
–यौनजन्य रोग देखा परेमा तुरुन्तै उपचार खोज्ने ।
–विकिरण र विषादीको सम्पर्कबाट टाढा रहने ।
–रक्सी, चुरोट अत्याधिक मात्रामा नखाने ।
–मानसिक तनावलाई व्यस्थापन गर्ने ।
डा. श्रीश प्रजनन् तथा आइभीएफ विशेषज्ञ हुन्
प्रतिक्रिया 4