सन्तानको रहर पुगेपछि पनि अनिच्छित गर्भ रहने जोखिम हुन्छ । यसले कतिपय दम्पतीको यौनजीवनलाई प्रभावित बनाउँछ । हुन त यसबाट बच्नका लागि केही उपाय प्रचलनमा छन् । त्यसमा अस्थायी साधनको प्रयोग, आकस्मिक चक्की खानेदेखि अस्थायी बन्ध्याकरणसम्म उपलब्ध छन् ।
यद्यपि यसरी अनिच्छित गर्भधानको जोखिमबाट बच्ने अधिकांश विधि महिलाको हकमा प्रयोग गरिन्छ । जबकि पुरुषको हकमा पनि यस किसिमको विधि अपनाउन सकिन्छ । जस्तो कि, बन्ध्याकरण अर्थात भ्यासेक्टोमी ।
यो स्थायी बन्ध्याकरणको विधि हो । यसका लागि पुरुषको अण्डकोषमा एउटा सानो प्वाल पारिन्छ । त्यहीबाट शुक्रकिटका नलीहरु काटेर बाँधिन्छ । महिलाको तुलनामा यस्तो शल्यक्रिया एकदमै छिटो, सुरक्षित र सामान्य हो ।
कतिपय बन्ध्याकरण भन्नसाथ डराउने गर्छन् । यसको कुनै साइड इफेक्ट हुन्छ कि भन्ने सोच्छन् । साथसाथै यसले यौन जीवनमा कुनै कमी वा समस्या ल्याउने हो कि भन्ने चिन्ता पनि हुनसक्छ ।
वास्तवमा यो सुरक्षित र भरपर्दो विधि हो । यसको कुनै साइड इफेक्ट हुँदैन । किनभने यसमा कुनै रसायनको प्रयोग हुँदैन । केवल शुक्रकिटको नली बाँधिन्छ ।
यद्यपि जुन पुरुषको बन्ध्याकरण गरिन्छ, उनीहरु शारीरिक रुपमा अशक्त वाक मजोर भएमा, मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घरोग भएमा समस्या आउन सक्छ । यस्तो अवस्थामा शल्यक्रिया गरेको गरेको ठाउँमा संक्रमण हुने, घाउ पाक्ने समस्या हुनसक्छ । त्यसैले बन्ध्याकरण अघि नै पुरुषको स्वास्थ्य स्थिती परीक्षण गरिन्छ ।
सामान्य अवस्थामा आउन कति दिन लाग्छ ?
बन्ध्याकरण गरेको २४ घण्टामा नै पुरुषले सामान्य कामकाजमा फर्कन सक्छन् । यद्यपि बन्ध्याकरणपछि पूर्ण निको हुन भने हप्ता दिन जति लाग्न सक्छ ।
बन्ध्याकरण पुरुषले बढी गर्छन् वा महिलाले ?
घाउँ ठूलो नहुने, शल्यक्रिया गर्न पनि सहज हुने भनेको पुरुष बन्ध्याकरण हो । तुलनात्मक रुपमा बन्ध्याकरण गर्न महिलालाई जटिल हुन्छ । यद्यपि तथ्यांक हेर्दा महिलाले बढी बन्ध्याकरण गरेको पाइन्छ । पुरुषले बन्ध्याकरण गरेमा यौन जीवनमा समस्या हुनसक्छ भन्ने वा पितृसत्तात्मक सोंच हावी छ । त्यही कारण यस्तो कुरामा महिलालाई नै धेरैजसो अगाडि सारिएको पाइन्छ ।
पुरुष बन्ध्याकरणपछि यौन जीवनमा समस्या हुनसक्छ ?
बन्ध्याकरणपछि पुरुषको यौनजीवनमा समस्या हुन्छ भन्ने केवल भ्रम हो । किनभने बन्ध्याकरण मान्छेको यौन चाहना र सक्रियातासँग सम्बन्धित छैन । यौन इच्छा हुनु र नहुनुमा हर्मोनको काम हुन्छ । स्थायी बन्ध्याकरणले हर्मोनमा कुनै असर गर्दैन ।
यद्यपि मानसिक रुपमा कमजोर छन् वा यौन जीवनमा समस्या हुन्छ कि भन्ने भ्रम पालेका छन् भने उनीहरुले मानोविज्ञसँग परामर्श लिन सक्छन् ।
सन्तान जन्माउनु परेमा पुनः बन्ध्याकरण फुकाउन सकिन्छ ?
यदि सन्तान जन्माउनु परेमा पुरुषको बन्ध्याकरण गरिएको भाग फुकाउन सकिन्छ । पुरुष बन्ध्याकरण गर्नुको एउटा फाइदा यो पनि हो । प्राय पुरुषमा यस किसिमको अभ्यास सफल भएको पनि छ ।
तर, महिलाहरुमा यस्तो अनुकुलता र संभावना कम हुन्छ ।
पुरुष बन्ध्याकरणपछि के कुरामा ध्यान दिने ?
पुरुषको स्थायी बन्ध्याकरण गरेपछि ज्वरो आएमा, घाउ पाकेको शंका लागेमा, सुन्निएर दुखेमा तुरुन्तै उपचार गराउनुपर्छ ।
शल्यक्रिया गरेको एक हप्तासम्म भारी उचाल्ने, बल प्रयोग गर्ने काम बन्द गर्नुपर्छ । बन्ध्याकरणपछि तीन महिनासम्म यौन सम्पर्क गर्दा अनिवार्य रुपमा कन्डम प्रयोग गर्नुपर्छ । वीर्य जाँच गर्ने सुविधा भएको ठाउँ छ भने् भ्यासेक्टोमी गरेको तीन महिनापछि वीर्य जाँच गराएर त्यसमा शुक्रकिट भए वा नभएको थाहा पाउन सकिन्छ ।
प्रतिक्रिया 4