+
+
भ्वाइस अफ नेपाल सिजन ५ :

रैथाने गीतलाई ‘भ्वाइस’मा गुञ्जाउँदै नोगेन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १४:३९

काठमाडौं । नोगेन लिम्बुलाई हामीले सुरुमै सोध्यौं- ‘भ्वाइस अफ नेपाल’मा किन आउनुभयो ?

उनले एकै सासमा दूरदृष्टिपूर्ण जवाफ दिए- मैले सकिन भनेपनि भोलिको पुस्ताको लागि बाटो खन्न खोजेको छु ।’ पाँचथर फिदिमका यी ठिटा कोच प्रमोद खरेलको टीमबाट ‘भ्वाइस अफ नेपाल’को सिजन पाँचमा प्रतिस्पर्धा गर्दैछन् ।

आउने सातादेखि ‘लाइभ राउण्ड’ सुरु हुँदैछ र उनीसामु आफूलाई अब्बल पेश गर्नुपर्ने चुनौति छ । उनको टीममा तेन्जिङ डोल्मा गुरुङदेखि प्रशान्त शिवाकोटीजस्ता जबर्जस्त ट्यालेन्ट पनि छन् ।

एक किसिमले भन्दा ‘भ्वाइस’को जारी सिजनमा नोगेन ‘भाग्यमानी’ पनि हुन् । किनभने, ब्लाइण्ड अडिसनमा एउटा कुर्सी घुमाएर उनी छनोट भए । बल्लतल्ल सेलेक्ट भएका उनले ब्याटल र नकआउट राउण्ड पनि पार गरे । उनको प्रस्तुति हेर्दा लाग्छ- भ्वाइसमा उनको यात्राको ग्राफ उकालो चढ्दैछ ।

लाइभ राउण्डका लागि नोगेनको रणनीति छ- दर्शकले रुचाउने भिन्न जनराका गीत गाउने । लोकगीत गाउन सके दर्शकको बृहत क्षेत्रफललाई समेट्न सकिने सोच उनको रहेछ । ‘हामी कोचको हातबाट बाहिरियौं । अब पब्लिकको भोट आयो भने अघि बढ्न सकिन्छ’ उनी सुनिए ।

अहिले मानविकीमा स्नातक पढ्दै गरेका नोगेनको ‘भ्वाइस अफ नेपाल’को यात्राको थालनी केही भिन्न छ । उनी केही वर्षपछि आउने तयारीमा थिए तर परिवारको सल्लाहपछि उनी यही सिजनमा जोडिए ।

‘यति चाँडो आउँछु भनेर सोचेको थिइँन । सिकेर र धारिलो भएर दुईचारवर्षपछि आउने सोच थियो । फेमिली र समुदायबाट जानुपर्छ नत्र ढिलो हुन्छ भनेपछि अडिसन दिएँ । पास भएँ, यहाँसम्म पुगेको छु’ उनले भने ।

नोगेनको परिवारमा सबै गीत गाउँछन् । उनको सांगीतिक विरासत रहेछ । काकादेखि परिवारका अन्य सदस्य पनि गाउँछन् । यो विरासतको हुटहुटीले यी ठिटालाई भ्वाइससम्म ल्यायो । ‘गीत गाउँदा गाउँदा खालको सर्कल पनि बन्यो । स्कुलमा पढ्दाखेरी नै गाउन थालेको हुँ । अहिलेसम्म गाउँदै छु’ उनी पछाडि फर्किए ।

रैथाने लोकगीत गाउन मन पराउँछन् । नारायणगोपाल र अम्बर गुरुङका गीत सुनेर हुर्किए । तर, उनी सबै जनराका गीत गाउँछन् ।

‘भ्वाइस अफ नेपाल’ किन त ? कार्यक्रमको लोकप्रियताले उनलाई यहाँसम्म ल्याएको रहेछ । ‘भ्वाइसको टीआरपी राम्रो छ । यहाँबाट आएपछि कार्यक्रम र रेकर्ड पाउँछौ र मान्छेले चिन्ने मौका पाउँछन्’ उनी सुनिए, ‘धेरै गीत रेकर्ड गरेँ मैले । गीत त चिन्छन् तर मान्छेलाई नचिन्ने खालको हुन्छ । यहाँ आएपछि नोगेन लिम्बु भनेर चिन्छन् । यहाँको टीआरपी हेरेर आएको म चाहिँ । राम्रो भैरहेको छ ।’

अहिले आफूलाई ‘फाइनलिस्ट’ भएको महसुस गरिरहेका रहेछन् उनी । ‘सुरुमा त सेलेक्ट नै हुँदिन कि भन्ने लागेको थियो । एउटा मात्र चेयर घुमेको हो । त्यसपछि ब्याटलमा पास हुँदिन जस्तो लाग्यो । पास भएँ । नकआउट पनि कट्यो । अहिले फाइनलिस्ट हुँ भन्ने आभाष भैरहेको छ’ उनले भने ।

उनी गीत गाउने शिल्प र प्रस्तुतिमा भ्वाइसले मद्दत गरेको बताउँछन् । ‘माइक समात्दा पनि कसरी समाउने, प्रस्तुति र टेक्निक धेरै कुरा सिकाइरहनुभएको छ उहाँहरुले । गजब भैरहेको छ’ उनी भन्छन् ।

उनी फेरि सुरुमै फर्किए । उनी जितेपनि र हारेपनि संगीतमै क्रियाशिल हुने बताउँछन् । ‘भ्वाइसमा आउनुअघि पनि म्युजिकमा थिएँ । यहाँ जितेपनि म्युजिकमा र हारेपछि पनि म्युजिकमा । मैले गर्न सकिन भने पनि आगामी पुस्ताका लागि बाटो बनाउन खोजेको छु’ उनी विश्वस्त सुनिए ।

‘भ्वाइस अफ नेपाल’को सिजन ५ को लाइभ राउण्ड आगामी सातादेखि सुरु हुँदैछ । उक्त राउण्डमा छनोट भएका प्रतिस्पर्धीसँगको कुराकानीलाई प्रस्तुत जाँदै जानेछौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?