+
+
भ्वाइस अफ नेपाल सिजन ५ :

भ्वाइसमा महिला सशक्तीकरणको सन्देश दिंदै फेथओम ब्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १८:४९

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को स्टेजमा अहिले एउटा ‘फिमेल ब्याण्ड’को जगजगी छ । ‘फेथओम’ नामको यो ब्याण्डले आफ्ना हिट ट्रयाकबाट दर्शकको मन जितेको छ ।

ब्याण्डमा तीन सदस्य छन्- सुप्रिना घलान (कम्पोजर र भोकलिस्ट), मोनालिसा श्रेष्ठ र भूमिका बुद्धाचार्य (र्‍यापर) । कलेजमा पढ्दै गरेका यी तीन ठिटीले सन् २०१७ मा गठन गरेको ब्याण्डले ‘भ्वाइस अफ नेपाल’को स्टेजमा कोच मिलन नेवारको समूहबाट प्रतिस्पर्धा गरिरहेको छ ।

छँदाखाँदाको जागिर छाडेर यी तीन युवती ब्याण्डको भविष्य र पहिचानको लागि उपाधि जित्ने लडाइमा छन् । लाइभ राउण्डको प्रतिस्पर्धा आगामी सातादेखि सुरु हुँदैछ र यसका लागि उनीहरुको स्पष्ट रणनीति छ- गो विद् द फ्लो (परिस्थितीअनुसार अघि बढ) । अनलाइनखबरसँग कुरा गर्दै उनीहरुले संगीतप्रति आफूहरुको अभिरुचि सेयर गरे ।

सानैदेखि संगीतमा रुचि भएका सुप्रिना र भूमिकालाई सन् २०१७ मा ब्याण्ड बनाउन अर्को सदस्य जरुरी थियो । त्यसबेला उनीहरुले मोनालिसालाई भेटाए । मोनालिसा अडिसनबाट ब्याण्डसँग जोडिइन् । ‘साथी हो राख्दिम न त भनेर हुँदैन । मनोरञ्जन फिल्डमा पहिल्यैदेखि रुचि थियो । अडिसन दिएँ अनि छनोट भएँ’ ब्याण्डसँग जोडिएको किस्साबारे मोनालिसा सुनिइन् ।

अनि उनीहरुले ब्याण्डको नाम राखे -फेथ (विश्वास) र ओम (भगवान) । उनीहरु यो नामलाई संगीतप्रतिको लगाव र अभिरुचिसँग जोड्न चाहन्छन् ।

ब्याण्डकी मुख्य भोकलिस्ट हुन् सुप्रिना । उनी आफ्नो ब्याण्डले नेपाली विशेषतासहितको मेलोडी र आरएण्डबी गीत गाउने बताउँछिन् । ‘हामी र्‍याप मिश्रण गरेर गीत गाउँछौ । नेपालमा भर्खर भित्रिएको जनरा हो यो । पश्चिमा मुलुकमा पहिल्यै सुरु भएको हो । हामी र्‍यापमा हार्मोनाइज गर्छौं । यो नेपाली विशेषतासहितको गीत हो’ सुप्रिना सुनिइन् ।

ब्याण्ड बनाउने प्रक्रियामा सुप्रिनाको संगीतप्रतिको झुकाव महत्वपूर्ण छ । उनले सानैदेखि एमिनेम र एट्सेभेन सुन्न थालिन् । अनि उनको गायकी यी गायकबाट प्रभावित हुन थाल्यो । त्यही स्टाइलमा उनले नेपालीमा गीत कम्पोज गर्न थालिन् । खासमा सुप्रिना र भूमिका व्यक्तिगतरुपमा भ्वाइसमा भाग लिन पुगेका थिए । दुबैजना अलग-अलगरुपमा छनोट पनि भए । तर, भ्वाइस अफ नेपालले यी तीनलाई ब्याण्डकै रुपमा सहभागि हुने मौका दियो । त्यसपछि ब्याण्डमा थपिइन् मोनालिसा ।

‘विदेशतिरको भ्वाइस हेर्दा ब्याण्डले पर्फम गरेको देख्थ्यौं । तर नेपालमा यो कन्सेप्ट आएको थाहा थिएन । भ्वाइसको टीमले नै बोलाएपछि ब्याण्डलाई लिएका हौं’ भ्वाइस अफ नेपालमा सहभागिताबारे मोनालिसाले भनिन् ।

‘लाइभ राउण्ड’को दबाबमा यतिबेला सबै प्रतिस्पर्धी देखिन्छन् । नहुन पनि किन, कोचभन्दा दर्शकीय रुचिमा जित र हार निर्भर हुन्छ । भूमिका भन्छिन्- गो विथ द फ्लो । युनिभर्सको फेभर छ भने राम्रो हुन्छ । पर्फमेन्सको लागि हामीले भरपुर मिहेनत गरेका छौं ।’ भन्नुको अर्थ, यी तीनजनाले आफूहरुले बाँकी चरणका लागि दबाब महसुस नगरेको बताए ।

उनीहरुलाई भ्वाइसको यो यात्रा संगीतको कक्षाजस्तो पनि बनेको छ । यसबीचमा उनीहरुले संगीतका सैद्धान्तिक पाटा सिके । मुख्य कुरा लगनशिलता र प्रतिबद्धता सिके । ‘हामीले संगीतबारे औपचारिकरुपमा सिकेका त छैनौं तर अरुको सुनेर र देखेर सिकेका छौं । म्युजिकमा गाउँदा पनि नोटेसन हुँदो रहेछ । हामीले सुन्दै सिकिरहेका छौं’ भ्वाइसको प्लाटफर्म आफ्ना लागि कति लाभदायक छ भन्ने बारे उनीहरु खुले ।

अनि ब्याण्ड कहिलेसम्म त- यो प्रश्नमा उनीहरु गम्भीर सुनिए । भूमिकाले झ्वाट्टै भनिन्- जहिलेसम्म सास छ । जबसम्म शरिरले साथ दिन्छ ।’

भ्वाइस सकिएपछि एल्बम ल्याउने तयारी छ ब्याण्डको । ‘जतिसक्दो चाँडो ल्याउँछौ । ब्लाइण्ड अडिसनमा पनि हाम्रो ओरजिनल गीत त दर्शकले सुनिसक्नुभयो’ मोनालिसाले भनिन् ।

भ्वाइसजस्ता प्लाटफर्मले संगीतमा करिअर बनाउन जुर्मुराएको नयाँ पुस्तालाई साथ दिने उनीहरुको विश्वास छ । ‘हामीले धेरैपटक डाउनफल भोगेका छौं । त्यसबेला बलियो पिलर चाहिन्छ भन्ने हामीलाई लाग्यो । भ्वाइसको प्लाटफर्म बलियो पिलर हुने रहेछ । यसले गर्दा चिनाउने रहेछ । यहाँबाट हाम्रो पहिचान पनि त बन्यो नि’ सुप्रिनाले भनिन् ।

‘फेथओम’सँग दोस्रो उपाय छैन । कसरी हुन्छ संगीतलाई अघि बढाउने चुनौति र सम्भावना उनीहरुसामु छ । ‘हामीसामु सेकेण्ड अप्सन छैन । जसरी भएपनि ब्याण्डलाई अघि बढाउने हो । हामी सबै विद्यार्थी हौं । जागिर छाडेरै अहिले ब्याण्ड र भ्वाइस अफ नेपालमा लागेका छौं’ सुप्रिना सुनिइन् ।

नेपालमा फिमेल ब्याण्डलाई टिक्न र चल्न चुनौति भैरहेको बेला फेथओमजस्ता फिमेल ब्याण्डले नारी सशक्तीकरणको सन्देश दिएको बुझ्न सकिन्छ । ब्याण्डले गाउने गीतमा पनि हामी त्यो महसुस गर्न सक्छौं ।

‘भ्वाइस अफ नेपाल’को सिजन ५ को लाइभ राउण्ड आगामी सातादेखि सुरु हुँदैछ । उक्त राउण्डमा छनोट भएका प्रतिस्पर्धीसँगको कुराकानीलाई प्रस्तुत जाँदै जानेछौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?