
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा कांग्रेसको १४औं महाधिवेशनबाट बनेको शेखर–गगन पक्षको बैठक बसेको थियो । सो छलफलपछि पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले गगन र आफ्नो कामगराइको तरिकामा फरक हुन सक्ने तर एजेण्डामा फरक मत नभएको बताए ।
‘एजेण्डामा महामन्त्रीजी र मेरोमा एकइन्च पनि फरक छैन, उहाँको उमेर, मेरो उमेर फरक छ । उहाँको सोचाइ, मेरो सोचाइ फरक छ’ उनले भने, ‘उहाँको स्टाइल अफ फङ्सनिङ (काम गर्ने तरिका) र मेरो स्टाइल अफ फङ्सनिङ फरक छ, तर एजेण्डामा फरक छैन ।’
शेखर कोइरालाले आफू पक्षको भेला मंगलबार बोलाएका थिए । तर महामन्त्री थापाले आफूसँग सल्लाह नगरी बोलाएको भन्दै सहभागी नहुने बताएका थिए । त्यसपछि संस्थापनइतर पक्षका अरु नेताहरुको पहलमा भेला एक दिन पछि सारिएको थियो ।
नेता कोइरालाले आफूहरुको यो छलफल नियमित भएको बताए ।
प्रतिक्रिया 4