+
+

संकल्प यात्रामा एमालेले गुमाएको अवसर

दोलालघाटमा माछा तार्दै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनाउने नेता–कार्यकर्ताले सुनकोशी किनारमा स्थानीय माछा दैनिक खपत कति हुन्छ ? ती माछा मार्नेहरुको आर्थिक अवस्था कस्तो छ भन्ने जानकारी राखे होलान् ?

ध्रुव लम्साल ध्रुव लम्साल
२०८० मंसिर २८ गते १८:३७
Photo Credit : Balkot/Facebook

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमाले अहिले देश दौडाहा अभियानमा छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा सम्पन्न हुने अन्तिम चरणमा छ ।

प्राय: पार्टीका शीर्ष नेतृत्व काठमाडौं केन्द्रित भइरहेको बेला नेतृत्व पंक्ति गाउँ–गाउँ/टोल–टोल पुग्नु आफैंमा राम्रो हो । यस्ता घटनाक्रमले पार्टी नेतृत्व र कार्यकर्ताबीच देखिएको अविश्वासको खाडल पुर्ने काम पनि गर्छ ।

तर दैनिक सयौं कार्यकर्ता अघि–पछि लगाएर सुरु गरेको संकल्प यात्राबाट एमालेले एउटा महत्वपूर्ण अवसर भने गुमाएको छ । भन्नलाई ‘समृद्धिका लागि संकल्प यात्रा’ भनिएपनि कार्यक्रमको तामझाम हेर्दा विगतका कार्यक्रममा भन्दा कुनै फरकपन देखिंदैन ।

कार्यकर्ता फूलका माला लिएर गौंडामा केही घण्टा उभिन्छन्, नेता भेटेपछि माला लगाइदिन्छन्, नारा लगाउँदै कोणसभा स्थलमा पुग्छन् नेतृत्वको एकोहोरो भाषण सुन्छन् र घर फर्किन्छन् । नेताहरुले पनि हरेक ठाउँको भाषणमा सरकारको आलोचनामा समय खर्चिंदै आएका छन् ।

आम नागरिक अहिले नेताको भाषण सुन्न होइन । उनीहरुलाई प्रश्न गरेर जवाफ सुन्न चाहन्छ । विभिन्न न्युज पोर्टल र टेलिभिजन स्क्रिनमा एमाले, माओवादी, कांग्रेस र मधेशवादी दलका नेताहरूको फरक–फरक कुरा आए पनि गाउँमा टाढा बसेको एउटा मान्छेले पुराना सबै दल र नेताको व्यवहार उस्तै देखिइरहेको छ ।

यदि साँच्चै एमाले नेतृत्वले भने जस्तै ‘समृद्धिका लागि संकल्प यात्रा’ बनाउन चाहेको भए अहिले भएकै खर्चमा कार्यक्रमलाई निकै भव्य बनाउन सक्थ्यो । यही कार्यक्रममा एमालेले केन्द्रीय, नेता, जनवर्गीय संगठनका नेता, स्वयंसेवक गरेर दैनिक तीनसय जना भन्दा बढीलाई खटाएको छ ।

यी मध्ये हरेक क्षेत्रमा दैनिक २५ जनालाई जनताका कुरा सुनेर गुनासो टिपोट गर्ने जिम्मेवारी दिएको भए आम जनताका गुनासा नेतृत्वसम्म पुग्थ्यो । वास्तवमै मुलुकलाई समृद्ध बनाउने हो भने भाषण गरेर मात्रै हुन्न । कुन ठाउँको समस्या के हो त्यसको पहिचान गरेर समाधानका उपाय खोज्नुपर्छ । कुनै पनि समस्या पहिचानका लागि पहिला अध्ययन गर्नुपर्छ अनि मात्रै उपाय खोज्न सकिन्छ ।

एमालेले मानोस् नमानोस् आम नागरिकमा अहिले एक खालको आक्रोश छ । मुलुकमा भ्रष्टाचार बढ्नु, बेरोजगार बढ्नु र महँगी नियन्त्रण नहुनुमा कांग्रेस, माओवादी र एमाले नै मूल कारक हो भन्ने भाष्य स्थापित भइसकेको छ । अहिले देखिएका बेथितिका सन्दर्भमा एमालेका नेताहरूको भाषण सुन्दा लाग्छ एमालेहरू यो सब समस्याको जड कांग्रेस–माओवादी हो भनेर उम्कने प्रयास गर्दैछन् तर, तल्लो तहका जनता एमालेले भन्दैमा नपत्याउने अवस्थामा पुगिसकेका छन् ।

धेरै कुरा छाडौं । अहिले धेरै स्थानीय तहमा एमालेकै मेयर, उपमेयरदेखि वडासदस्यसम्म निर्वाचित छन् । जहाँ आफ्ना पार्टीका जनप्रतिनिधि निर्वाचित छन् तिनका काम गर्ने शैली, जनतासँग तिनको सम्बन्ध, गुनासा र समस्या सम्बोधन जस्ता विषयमा सामान्य सर्वेक्षण गरेको भए पनि केही न केही नयाँ कुरा आउने थियो । जहाँको स्थानीय तहमा एमालेको नेतृत्व छैन, ती स्थानका जनप्रतिनिधि र एमाले कार्यकर्ताको सम्बन्ध कस्तो छ भन्ने विषयमा छलफल गर्न सक्थ्यो ।

अध्यक्ष केपी शर्मा ओलीले दोलालघाटमा माछा तार्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाउने नेता–कार्यकर्ताले सुनकोशी किनारमा स्थानीय माछाको दैनिक खपत कति हुन्छ ? ती माछा मार्नेहरुको आर्थिक अवस्था कस्तो छ भन्ने जानकारी राखे होलान् ? जनकपुर, चितवन वा भारतबाट कति माछा आउँछ ? जानकारी राखेको भए राम्रै हुन्थ्यो होला ।

पटक पटक खादा माला प्रयोग नगर्ने निर्णय गरेको नेतृत्वले सिन्धुपाल्चोकमा एक सय किलोको माला ग्रहण गर्दा कत्ति लज्जाबोध गरेन । एमाले नेतृत्वको गलामा देखिएको माला किसानले आफ्नै बारीमा फुलेका फूलबाट बनाएका थिए वा विदेशबाट आयात भएर सदरमुकामको बजारसम्म आइपुगेको फूलबाट किनेर बनाएका थिए ? यदि बारीमा थियो भने मंसिर अन्तिमसम्म पनि फूल किन किसानकै बारीमै रह्यो ? यदि आयातित फूल थियो भने आफूलाई राष्ट्रवादी ठान्ने एमालेको यस्तो तामझाम केका लागि ? एमालेको सभा हुँदैछ भनेर कसैले फूल खेती पक्कै गरिदिएको थिएन होला ।

यो यात्रालाई एमालेले ‘मिसन–८४’ पनि भनेको छ । दोस्रो पटक प्रधानमन्त्री हुँदा अध्यक्ष ओलीले गोबर ग्यासदेखि पानीजहाज, सुरुङमार्ग समेतको उद्घाटन गरिसकेका छन् । घोषणापत्रमा लेखेकै कुरालाई आधार मान्ने हो भने अग्रगामी छलाङको सिद्धान्त अनुरूप एमालेले अबको घोषणापत्रमा अन्तरिक्ष यात्राको बारेमा लेख्नुपर्ने अवस्था छ । किनकि समृद्धिका लागि मुलुकमा केके आवश्यक हुन्छ सबै लेखिसक्यो । फेरि पनि गर्न नसकिने स्वादिला कुरा लेख्दैमा जनताले पत्याउँछन् ?

एनसेल, वाइडबडी, ओम्नी जस्ता प्रकरणमा एमाले सहित कांग्रेस, माओवादीका नेताहरू विभिन्न सन्दर्भमा जोडिइसकेका छन् । भ्रष्टाचारका सन्दर्भमा कांग्रेस माओवादीलाई गाली गर्दैमा एमालेले माफी पाउने अवस्था छैन ।

देशमा रोजगार नपाएर सुत्केरी श्रीमती बाबु–आमालाई जिम्मा लगाएर भविष्य खोज्दै खाडी हिंडेको छोराको बाबु होस् या स्नातक तहका लागि निजी कलेजमा ८ लाख तिर्नु भन्दा ८ लाख थपेर अष्ट्रेलिया पठाउनुमा फाइदा देख्ने अभिभावक गुनासै गुनासोका पोका बोकेर बसेका छन् । एमालेले ‘मिसन–८४’ मा ती रुष्ट अभिभावकले पनि ‘मिसन–८४’ नै भनिरहेको एमाले नेतृत्वले कहिले बुझ्ने ?

जे भए पनि नेताहरु शहर केन्द्रित भएको र जनताबाट टाढिएको गुनासो बढिरहेका बेला एमाले नेतृत्वले गाउँ पुगेको छ । चुनावदेखि चुनावसम्म शहरमै रमाउने नेतृत्व दलबलसहित भए पनि गाउँमा पुग्दा कार्यकर्तामा एकखालको उत्साह पैदा भएको छ । झुलाघाटदेखि चिवाभन्ज्याङसम्म दुई हप्ते यात्राका क्रममा ठाउँ–ठाउँमा काउली, मुला, गोलभेंडा, कुखुरा बिक्री भयो । विभिन्न कारणले खाडीको भिसा नलागेर गाउँमै अल्झिएका किसानका लागि केही मात्रामा भए पनि स्थानीय उत्पादन गाउँमै खपत हुनु आफैंमा एउटा उपलब्धि हो ।

आउँदो पुस ५ गते विषेश कार्यक्रम गर्दै एमालेले यात्राको उपलब्धिको बारेमा व्याख्या गर्ने तिथि तय गरिसकेको छ । यो यात्रामा देखिएको भीडलाई असाध्यै ठूलो उपलब्धि मान्दै अघि बढ्यो भने ‘मिसन–८४’ मा शीर्ष तहका नेताहरु नै पराजित हुनेमा कुनै शंका छैन । आशा गरौं, अब एमालेले आफ्ना कुरा सुनाउने मात्रै हैन । जनताका कुरा सुन्ने पनि संस्कारको विकास गर्ने छ ।

(लम्साल नेपाल पत्रकार महासंघका पूर्व सचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?