२८ मंसिर, काठमाडौं । नेपाली फुटबलमा कोही एक खेलाडीले आफ्नो उपस्थिति जनाउन लगातार संघर्ष गरेका छन् भने ती हुन्, आशिष लामा ।
भर्खर उनी २९ वर्षका भए । तर आफूले फुटबलको छोटो खेल जीवनमा धेरै मोड देखेको मान्छन्, आशिष ।
नेपालका राष्ट्रिय फुटबल खेलाडीले अस्ट्रेलियालाई गन्तब्य बनाउँदा त्यहाँ पुग्ने सुरुआती समूहमा पर्छन्, उनी ।
त्यहाँ पुगेर पनि फुटबल खेल्नकै लागि फेरि नेपाल आउनेमा पनि उनी नै अगाडि छन् ।
अहिले उनी बुटवल–लुम्बिनी एफसीका आइकोनिक खेलाडी हुन् । नेपाल सुपर लिग एनएसएलको पहिलो सिजनमा २०७८ सालमा यसै टिमका लागि खेलेका आशिषले आफ्नो टिम भने फेरेनन् ।
अस्ट्रेलियामा पनि फुटबल नै खेलिरहेका आशिषको अहिले तत्कालका लागि योजना हो, आफूले सकेसम्म यो खेलमा संलग्न रहने ।
सुरुआती खेल जीवन
नुवाकोट घर भएका आशिष जन्मे हुर्केको भने काठमाडौंमै हो । अनि उनले फुटबल सिकेको पनि काठमाडौंमै ।
त्रिपुरेश्वरको विश्वनिकेतन स्कुल पछाडि जुन मैदान छ, त्यहीं फुटबल सिके । अनि त्यसै छेउको एनआरटीमा आवद्ध भए । एनआरटीका प्रशिक्षक राजु शाक्य उनको खेलबाट प्रभावित थिए र किशोर उमेरमै अनुबन्ध गरेका थिए, चार वर्षका लागि ।
तर त्यहाँ उनी लामो समय रहेनन् र प्लस–टुको तयारीका लागि यो खेलबाट केही समय टाढिए ।

यसबीच लाहुरे बन्ने योजनासहित उनी केही समय भारततर्फ पनि गए । तर उनको यो सपना पनि पूरा भएन ।
काठमार्डौ फर्केयता उनले तल्लो डिभिजनमा फुटबल खेले । वर्ष ०६९ मा उनले नवज्योति युवा क्लबका लागि सहिद स्मारक लिगको ‘सी’ डिभिजन खेले ।
त्यसको अर्को वर्ष उनले ‘बी’ डिभिजन खेले, टुसाल युथ क्लबका लागि ।
वर्ष ०७५ मा उनले पहिलो पल्ट ‘ए’ डिभिजन खेले र उनको क्लब थियो, मनाङ मर्स्याङ्दी । उनले मनाङका लागि राष्ट्रिय लिग पनि खेले । उनी त्यहाँ एकै वर्ष मात्र टिके ।
मोफसलका गोल्डकपहरूमा उनले सुरुमा ब्वाइज युनियन र त्यसपछि हिमालयन शेर्पाका लागि खेले । आशिषको खेल जीवनमा त्यसपछि पालो आयो, एपीएफको । उनले वर्ष ०७६ र ०७८ मा लगातार दुई पल्ट एपीएफका लागि ‘ए’ डिभिजन खेले ।
त्यसमध्ये उनको खेल जीवनको सबैभन्दा निर्णायक मोड भने वर्ष ०७८ कै लिग रह्यो ।
उनले त्यसमा नौ गोल गर्दै एपीएफका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको चारैतर्फ चर्चा सुरु भयो ।
सबैले उनलाई चिन्न थाले, फरवार्डका रूपमा उनले आफूलाई स्थापित गरे । तर क्लबले उनलाई खासै केही पनि गरेन् । उनलाई लागेको थियो, यस विभागीय टिममा उनको निश्चित रूपमा प्रगति हुनेछ । तर उनले अपेक्षा गरे अनुसार स्थिति बनेन् ।
उनी मान्छन्, त्यो क्षण उनको खेल जीवनको सबैभन्दा अप्ठ्यारो र दुःखको मोड थियो । त्यसपछि त हो, उनले आफ्नो गन्तब्यलाई विदेश बनाएको ।
अन्तर्राष्ट्रिय खेल जीवन
आशिषले नेपालका लागि सबैभन्दा पहिले खेल्ने अवसर पाएको भने सन् २०१९ मा हो, जति बेला नेपाली टिमका प्रशिक्षक थिए, योहान कालिन । त्यो वर्षको मार्चमा नेपालले कुवतेविरुद्ध कुवेत सिटीमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमै उनले डेब्युको अवसर पाए । त्यति बेला उनले ‘स्टार्टिङ लाइन’ मै मौका पाए ।
उनी ६१ मिनेट मैदानमा रहे र उनलाई भरत खवासले सब्टिच्युट गरेको थियो । उनले आफ्नो दोस्रो खेलका लागि थप दुई वर्ष कुर्नु पर्यो । सन् २०२१ को विश्वकप छनोटमा चाइनिज ताइपेई विरुद्धको खेलमा प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले उनलाई अवसर दिए । त्यसपछि पनि उनी नेपाली टिमबाट भित्र बाहिर भइरहे ।
अल्मुताइरी छँदा नै उनले अन्तिम पटक नेपालका लागि सन् २०२२ मा खेले, मोरिससविरुद्ध ।
नेपालका लागि प्रदर्शन
कुल क्याप : ५
प्रतिक्रिया 4