
काठमाडौं । इलामका ३३ वर्षीय विनोद राईले घर छाडेको दशक भयो । एसएलसीपछि अवसर खोज्दै उनी काठमाडौं खाल्डोमा भासिए । अनि सुरु भयो संघर्षको सिलसिला । पछिल्लो सप्ताहन्त ‘भ्वाइस अफ नेपाल’को सेटमा भेटिएका उनी ‘नोस्टाल्जिक’ सुनिए ।
‘म मेरो तरिकाले संघर्ष गर्छु भनेर निस्किएको हो । परिवारले यो गर, त्यो गर भनेर बन्देज गर्नुभएन । रोकछेक गर्नुभएन । किनभने गाउँमा अवसर धेरै छैन,’ काठमाडौं आउनुको कारणबारे उनले भने ।
संगीतमा लाग्ने परिवारको पहिलो पुस्ता हुन् उनी । सानैदेखि गीत सुन्न र गाउन रुचाउने स्वभावका यी ठिटा मेलापर्वमा दाजुहरुले गर्ने रमाइलोबाट प्रभावित भए ।
उनको जीवन संघर्ष फिल्मको पटकथाजस्तै लाग्छ । जसलाई उनी सम्झन र कुरा गर्न चाहँदैनन् । तर संगीतमा सफल हुने उनको हुटहुटी अझै गतिशील छ । यही हुटहुटी बोकेर उनी भ्वाइसको सिजन ५ मा लाइभ राउण्डको तयारीमा छन् ।
कोच मिलन नेवारको समूहबाट प्रतिस्पर्धी हुन् उनी । ब्लाइण्ड अडिसनमा चारै कुर्सी घुमाएर कोचको मन जितेका विनोदसामु अब लाइभ राउण्डमा दर्शकको मन जित्नुपर्ने चुनौती छ ।
‘लाइभ राउण्ड भन्ने बित्तिकै दबाब भइहाल्छ । किनभन्दा सातामा दुई गीत तयार गर्नुपर्ने हुन्छ । गीतका शब्द सम्झनुपर्नेदेखि यही समय दर्शकलाई भोटिङको लागि आश्वस्त तुल्याउनुपर्ने हुन्छ । सबै कुरा एकैपटक मिक्स भइरहेको छ,’ उनले भने ।
अहिलेसम्मको अनुभव गजबको छ उनको । ‘म प्रभावित छु । सबैजना सहयोगी छन् । देश तथा विदेशबाट हामी सबैजना साथीभाइ भेला भएका छौं । एकापसमा भावना साटासाट भइराखेको छ,’ उनले भने ।
उनका लागि द भ्वाइस अफ नेपालको प्लाटफर्म संगीतलाई प्राविधिक रुपमा बुझ्नेदेखि ब्याण्डसँग समन्वय गर्ने काममा लाभदायक बनेको छ । ‘हामीसँग ब्याण्ड थिएन । म्युजिकल ब्याण्डसँग समन्वय गरिरहेका छौं । त्यसले सुधार भइरहेको छ । गीत आफैंले सिक्ने हो,’ विनोदले अनुभव सुनाए ।
गफमा विनोद ‘मच्योर्ड’ सुनिए । हुन सक्छ भोगाइबाट उनले जीवनमा धेरै कुरा सिके । उनलाई भ्वाइसको प्लाटफर्म कुनै पाठशालाजस्तो लागिरहेको छ । उनी यसलाई सकारात्मक रुपमा लिनुपर्ने तर्क गर्छन् ।
‘यस्ता प्लाटफर्मलाई सकारात्मक ढंगले लिएमा आफूलाई मद्दत हुन्छ । तर जित्नैपर्छ भन्ने एटिच्युडले घमण्ड उत्पादन हुन्छ । जित्न होइन, सिक्न आउनेलाई महासागर जस्तो हो । यहाँबाट आफू र कला एक्स्पोज हुन्छ । पाठशालाजस्तो हो यो प्लाटफर्म,’ उनले भने ।
दशक लामो सांगीतिक यात्रामा विनोदले कति हैरानी खेपे, गनिसाध्य छैन । तर उनलाई थाहा छ । भ्वाइस माध्यम मात्रै हो । भ्वाइसपछि पनि संगीत र जीवन निरन्तर हुन्छ । ‘जितेपछि अर्को संघर्ष सुरु हुन्छ । हारे पनि त्यहींबाट सुरु हुन्छ,’ उनले कुराकानी टुंग्याए ।
‘भ्वाइस अफ नेपाल’को सिजन ५ को लाइभ राउण्ड आगामी सातादेखि सुरु हुँदैछ । उक्त राउण्डमा छनोट भएका प्रतिस्पर्धीसँगको कुराकानी अनलाइनखबरले प्रस्तुत गरिरहेको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4