
काठमाडौं । केही महिनाअघिसम्म निर्माता तथा निर्देशक नीर शाह उपन्यासकार विजय मल्लको नाट्य कृति ‘कोही किन बर्बाद होस्’मा आधारित कथानक फिल्म बनाउने तयारीमा थिए । तर तत्काललाई यो फिल्मको निर्माण स्थगन भएको छ ।
अब भने शाहको आगामी फिल्मलाई लिएर नयाँ खबर छ । साहित्यकार कुमार नगरकोटीले लेखेको एक कथामा शाहले फिल्म निर्माण गर्दैछन् । नीर शाह फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मको छायांकन चैत वा वैशाखदेखि सुरु गर्ने तयारी छ ।
‘फेन्टासी’ र स्वरैकाल्पनिक कथावस्तुमा बन्न लागेको यो फिल्मको निर्देशन नयाँपुस्ताको कुनै एक निर्देशकले गर्ने शाहले अनलाइनखबरलाई बताए । केही समयअघि एक औपचारिक कार्यक्रममा शाहले कुमार नगरकोटीको कथामा फिल्म बनाउने आफ्नो जीवनको ठूलो इच्छा रहेको बताएका थिए ।
नगरकोटीले पनि आफूले लेखेको कथामा शाहले फिल्म बनाउने इच्छा गरेकाले आफूले कथा लेखेको बताए । प्रकाशित एक कथामाथि यो फिल्म आधारित हुने नगरकोटीको भनाइ छ । ‘मैले लेखेको कथामा फिल्म बनाउने उहाँको ठूलो इच्छा थियो,’ नगरकोटीले भने, ‘यो फेन्टासी र सररियल कथा हुनेछ ।’
नगरकोटी अतिथि लेखक रहेको फिल्म ‘लालपुर्जा’ यसअघि प्रदर्शन भइसकेको छ । शाहले भने पछिल्लोपटक ‘परदेशी २’ मा अभिनय गरेका थिए । राष्ट्रियसभाको आगामी चुनावका लागि शाहको नाम पनि यतिबेला चर्चामा छ । शाहले पनि आफू राष्ट्रियसभा सदस्यको आकांक्षी भएको बताए ।
प्रतिक्रिया 4