
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।
बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् ।
साधारणसभाबाट संस्थापक सेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने छन् ।
यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश सेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पनि पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।
साधारणसभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको उनले बताए ।
बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने उनको भनाइ थियो ।
आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ ।
बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।
बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया 4