
२९ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, बीमामा किन सहभागी हुने भन्ने धारणा छ,’ उनले भने ।
अहिले बीमा सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ । ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ,’ अर्थमन्त्री महतले भने ।
बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउने गरेको उनको भनाइ थियो ।
बीमामा देखिएका समस्या समाधानका लागि यससँग जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नुपर्नेमा मन्त्री महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘बीमा कम्पनीहरुले लिने बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहींनेर सर्भेयरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ,’ मन्त्री महतले भने ।
कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्ने भन्दै उनले बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताए ।
प्रतिक्रिया 4