
२९ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नियामक निकायहरुको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको उनले बताए ।
काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक रहेको भन्दै उनले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने बताए ।
बजारमा कुनैपनि कुराहरु सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्नुपर्नेमा उनको जोड थियो ।
आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरु राख्नुपर्ने उनले बताए ।
‘बजार फैलिने क्रममा छ । बजारको विकासलाई दीर्घकालीन, सस्टेन र संस्टेनिबिलिटी दुई वटा कुरामा जोड्नुपर्नेछ । गभर्नेन्सको प्रोटोकलमा हामीले उल्लेखनीय प्रगति गरिसकेका छौँ । तर हामी आफैंले पनि काम गर्ने प्रणालीमा बदलाव ल्याउनुपर्नेछ । पुरानो मानसिकतामा रह्यौं भने अघि बढ्न सक्दैनौं,’ उनले भने ।
राज्यको भूमिका भनेको सिक्काको दुई वटै पाटाको क्षमता हेर्नसक्ने र त्यसैअनुसारको नीति ल्याउनसक्ने र बाटो खोल्न सक्ने हुनुपर्ने उनको भनाइ थियो ।
‘सरकारले इकोसिस्टम बनाउने हो । चाहे त्यो १० कित्ते नीति होस् वा १० प्रतिशतको नीति होस् । वा त्यो लकिन पिरियडको नीति होस् वा दफा ३८ को सञ्चालकहरुको हस्तान्तरण सम्बन्धी कुरा होस् । सम्पूर्ण इकोनोमी र फाइनान्सियल इकोसिस्टम व्यवसाय जगतको विकासको लागि हो,’ उनले भने ।
व्यवसाय कसरी फैलिन्छ भन्ने कुराको कोर बुझ्न नसकेको भन्दै उनले जति फ्रिडम दिन सकियो व्यवसाय त्यति नै राम्रो हुने बताए ।
‘हाम्रो काम भनेको बजारलाई स्याकल गर्ने होइन । बजारलाई खुला छोड्ने हो तर गल्ती गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने हो । तर गल्ती गर्छ भनेर अनुमानमा सरकारले कडा नीति ल्यायो भने व्यवसाय फस्टाउँदैन,’ उनले भने ।
अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरु केन्द्रित हुनुपर्ने बताए ।
प्रतिक्रिया 4