+
+

१४ किलो सुन प्रकरणमा भन्सारले माग्यो सीआईबीको प्राविधिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते २०:३७

२९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको अनुसन्धानका लागि भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग मागेको छ ।

फ्लाई दूबईको उडानमार्फत आएका रसुवाका चन्द्र घलेलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा थप चार जना पक्राउ परेका छन् । उनीहरुको प्राविधिक पक्षको विश्लेषणका लागि भन्सार कार्यालयले सीआईबीको सहयोग मागेको हो ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले सीआईबीबाट प्राविधिक सहयोगका लागि केही अधिकृतहरुलाई खटाइएको अनलाइनखबरलाई बताइन् । ‘सुन अनुसन्धानका लागि प्राविधिक सहयोग उपलब्ध गराएका छौं’, उनले भनिन् ।

यसअघि विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धान सीआईबीले गरेको थियो ।

भन्सारले सुन प्रकरणको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वमा समिति बनाएको छ । समितिले छानबिनका क्रममा विमानस्थलका तीन जना सरसफाई कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शेरबहादुर बस्नेत, शुशीला पाण्डे र गणेश चेपाङ छन् ।

घलेको बयानका आधारमा मिनबहादुर घले पनि पक्राउ परेका थिए । उनीहरुको प्राविधिक पक्षको विश्लेषणमा सीआईबीले सहयोग गर्नेछ । सुरुमा छानबिन समितिलाई ५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको थियो । तर, अनुसन्धानले समय लिने देखिएपछि ७ दिन म्याद थप गरिएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।

सुरुमा पक्राउ परेका घलेले विमानस्थलमा शौचालयमा सुन राख्ने गरेको बयान दिएका थिए । त्यसपछि सरसफाई कर्मचारीले सुन बाहिर ल्याउने गरेको बयानमा खुलेको थियो ।

१४ किलो सुन बरामद भएको भोलिपल्टै प्रहरीले विमानस्थलको भन्सार जाँच पास गरेको साढे ६ किलो सुन बरामद गरेको थियो । यो प्रकरणको अनुसन्धान पनि भन्सारले नै गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?