
३० मंसिर, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।
प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् ।
मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रहरीले भने झडपपछिको असहज स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बताउँदै आएको छ ।
मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराएपछि उपमेयर पक्षधरले प्रदर्शन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर सिम्रौनगढमा मेयर र उपमेयर तथा केही वडाध्यक्षबीच लामो समयदेखि विवाद छ ।
सिम्रौनगढ मधेशका मुख्यमन्त्री सरोज यादवको पनि गृहनगर हो । प्रमुख प्रशासकीय अधिकृत विवादका कारण यहाँका कर्मचारी-शिक्षकले गत साउनदेखि तलब पाएका छैनन् । तलब नपाएका शिक्षक तथा कर्मचारी पनि आन्दोलनमा थिए । त्यसैक्रममा गत बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म नगरसभाले बजेट पारित नगरेका कारण नगरपालिकाको आर्थिक कारोबार ठप्पजस्तै छ ।
६० जना कार्यपालिका स्दस्य रहेको सिम्रौनगढ नगरपालिकामा ३९ जना सदस्य नेपाली कांग्रेसका छन् भने नगर प्रमुख किशोरी साहको पक्षमा २१ जना छन् ।
प्रतिक्रिया 4