
१ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघको व्यावसायिक प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा भएको भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवम् व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको हो ।
रुसी महासंघको प्रतिनिधि मण्डलसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सिधा हवाई सम्पर्क स्थापित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
‘नेपाल–रुस बीचको कूटनीतिक सम्बन्ध बलियो छ । सयौं नेपाली विद्यार्थीहरु इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन्, रुसका तर्फबाट पनि वार्षिक १० हजारको हाराहारीमा नागरिकहरु नेपाल घुम्न आउने गरेको सन्र्दभमा सिधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मुलुकलाई फाइदा पुग्छ,’ अध्यक्ष मल्लले भने ।
काठमाडौंसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनका क्रममा रहेकाले दुई मुलुकबीच सिधा हवाई सम्पर्क सञ्जाल विस्तार गरेर आर्थिक सहकार्य र व्यापारिक साझेदारी गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
नेपालको कृषि, पर्यटन, उद्योग, एवम् आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ ।
चेम्बर पदाधिकारीहरुसँगको भेटमा रुसी महासंघको व्यावसायिक प्रतिनिधि मण्डलले पनि नेपालमा सिधा हवाई सम्पर्क सञ्जाल विस्तारका लागि आफूहरुले पहल गर्ने बताएका थिए ।
हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाइ छ ।
चेम्बर पदाधिकारीसंगको भेटवार्तामा रुसी महासंघको टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्व बजारबारे चासो राखेका थिए ।
प्रतिक्रिया 4