
१ पुस, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चबाट अवकाश हुँदा चोखो रहने आफ्नो चाहना भएको बताएका छन् ।
आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले न्याय क्षेत्रमा ३० वर्ष काम गरेको र अब बाँकी साढे ६ वर्षको समय पनि निष्ठा र इमान्दारीमा रहेर काम गर्ने बताएका हुन् ।
प्रस्तावित न्यायाधीश पौडेलले भ्रष्टाचारले राज्यको आत्मा नै मार्ने आफ्नो धारणा रहेको पनि बताए । ‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ, भष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ, मेरो अनुभूति त्यो किसिमको छ’ उनले भने, ‘आजसम्म ३० वर्ष काम गरेँ । निष्ठा र इमान्दार रहेर काम गरेँ, मेरो बाँकी साढे ६ वर्ष छ, चोखो भएरै निस्कन चाहन्छु ।’
यसअघि उच्च अदालतको न्यायाधीश रहेका पौडेलले अदालती शुल्कका कारण नेपालको न्याय महंगो नभएको बताए । समयमा मुद्दा सुनुवाइ नहुने, तारेख धाइरहनुपर्ने र वकिलको शुल्कका कारण न्याय महंगो भएको उनको भनाइ छ ।
‘अदालतमा लाग्ने शुल्कका कारण न्याय महंगो भएको होइन, महंगो हुनुको धेरै कारण छन् । विलम्ब भयो भने अदालत जानुपर्यो, बस भाडा चाहियो, वकिलको फि तिर्नुपर्यो’ उनले भने ।
कानुन व्यवसायीले पनि कसैले धेरै र कसैले कम शुल्क लिने गरेको गुनासो आएको भन्दै उनले यसलाई व्यवस्थित गर्न संसदले कानुन बनाउन सक्ने बताए ।
प्रतिक्रिया 4