प्रत्येक दिन विश्वमा फोक्सोको क्यान्सरबाट औसत पाँच हजार मान्छेको मृत्यु हुने तथ्यांक छ । नेपालमा दिनहुँ औसत सात जना फोक्सोकै क्यान्सरबाट मृत्यु भएको पाइन्छ ।
यस हिसाबले हेर्दा फोक्सोको क्यान्सरबाट हुने मृत्युको भयावह अंकचित्र सामुन्ने आउँछ । फोक्सोको क्यान्सर किन हुन्छ ? कसलाई बढी जोखिम छ ? यसको लक्षण कस्तो हुन्छ ? उपचार र बच्ने उपाय के हुन् ? हामीले क्यान्सरोग विशेषज्ञ डा. अरुण शाहीलाई सोधेका थियौं ।
कसरी हुन्छ फोक्सोको क्यान्सर ?
फोक्सोको क्यान्सर हुने मूल कारण भनेको धुम्रपान नै हो । त्यसपछि रक्सी पनि यसमा जिम्मेवार छ । यसको अर्थ यो होइन कि, चुरोट वा रक्सी नखानेहरु जोखिममुक्त छन् । बढी जोखिमबर्गमा चाहिँ चुरोट र रक्सी खानेहरु छन् भन्ने हो ।
त्यसबाहेक धुँवा, धुलो वा वायु प्रदूषणको सम्पर्कमा रहने, कमजोर प्रतिरोधी क्षमता भएका, फोक्सोको दीर्घ रोग भएकाहरुलाई फोक्सोको क्यान्सर हुनसक्छ ।
फोक्सोको क्यान्सर भएमा त्यसको कुनै संकेत देखिन्छ ?
फोक्सोको क्यान्सर भए, नभएको छातीको एक्स रे बाट पनि अनुमान लगाउन सकिन्छ । क्यान्सर भएमा छातीमा दाग देखिन्छ ।
त्यसबाहेक यसको स्पष्ट लक्षण भनेको निरन्तर खोकी लाग्नु, आवाज परिवर्तन हुनु, कफ आउनु, स्वाँ स्वाँ हुनु, छाती दुख्नु, खकारमा रगत आउनु, सास लिन कठिन हुनु हो । हुन त अन्य समस्यामा पनि यस्तो हुन्छ, त्यसैले क्यान्सर हो वा होइन भन्नका लागि अतिरिक्त परीक्षण जरुरी हुन्छ ।
यदि फोक्सोको क्यान्सर देखिएमा के कस्तो उपचार हुन्छ ?
कुनैपनि क्यान्सरलाई हामीले विभिन्न चरणमा छुट्याउने गरेका छौं । जस्तो पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण, चौथो चरण । यदि फोक्सोको क्यान्सर सुरुवातमै पत्ता लाग्यो भने शल्यक्रियाबाट सहज उपचार गर्न सकिन्छ । यो भनेको प्रारम्भिक चरणमा गर्न सकिने उपचार हो । अर्थात पहिलो र दोस्रो चरणमा ।
तेस्रो चरणमा पुगेछि शल्यक्रियासँगै किमोथेरापी, रेडियोथेरापी गर्नुपर्ने हुनसक्छ । चौथो चरणमा शल्यक्रिया गरिदैन । किमोथेरापी, इम्युनोथेरापी र टार्गेटेड थेरापी गरिन्छ ।
यी उपचार सजिलै पाउन सकिन्छ त ?
पाटन अस्पतालले अमेरिकाको ‘म्याक्स फाउन्डेसन’सँग समन्वय गरेर विभिन्न क्यान्सरमध्ये केही क्यान्सरको निःशुल्क औषधि उपलब्ध गराइरहेको छ ।
एक किसिमको रगतको क्यान्सर ‘सीएमएल’को सम्पूर्ण औषधि पाटन अस्पताल र भरतपुर अस्पतालमा निःशुल्क पाइन्छ । त्यस्तै ‘जिस्ट’ एक किसिमको पेटको क्यान्सर यसको पनि सम्पूर्ण औषधि निःशुल्क पाइन्छ ।
एक किसिमको फोक्सोको क्यान्सर ‘रोस वान’को औषधि र एक किसिमको मिर्गौलाको क्यान्सरको औषधि निःशुल्क पाइन्छ । साथै पछिल्लो केही हप्ता यता स्तन क्यान्सरको हर्मोन पोजेटिभ चौथो स्टेटको बिरामीको औषधि पनि पाटन अस्पतालमा निःशुल्क पाइन्छ ।
क्यान्सरको केही औषधि पाटन अस्पतालको साथै भरतपुर क्यान्सर अस्पतालमा पनि निःशुल्क पाइन्छ । पाटन अस्पताल र भरतपुरमा उपचाररत बिरामी मात्र हैन अन्य अस्पतालमा उपचाररत बिरामीले पनि यो निःशुल्क औषधि लिन सकिन्छ ।
क्यान्सरको उपचारलाई थप प्रभावकारी बनाउन के गर्नुपर्छ ?
कुनैपनि क्यान्सरको उपचार त्यसबेला प्रभावकारी हुन्छ, जब यसलाई सुरुवाती अवस्थामै पत्ता लगाइन्छ । यसका लागि जनचेतना र स्वास्थ्य सेवाको सहज पहुँच दुबै आवश्यक छ । मान्छेहरु कतिपय दुखाई वा रोग सहेर बस्छन् । यसो हुनुमा खर्चको कुरा पनि आउँछ । त्यसैले सरकारले नै क्यान्सरको संभावित जोखिम कम गर्न वा यसको जटिलतालाई न्युनिकरण गर्न व्यापक रुपमा जनचेतना फैलाउने, उपचार सेवा विस्तार गर्ने काम गर्नुपर्छ । साथसाथै सरकारले नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥याउनुपर्छ ।
क्यान्सरको औषधिहरू मंहगो हुने भएकोले आफ्नै देशमा क्यान्सरको औषधि उत्पादन गर्ने वातावरण बनाउनुपर्छ ।
क्यान्सर रोग भइसकेको खण्डमा जतिसक्दो छिटो यो कुन अवस्थामा रहेको छ भनी पहिचान तथा उपचार पाउने व्यवस्था गरिनु पर्छ । र, नागरिकले पनि आफै सचेत हुनुपर्छ । रोग लागेको उपचार खोज्नुभन्दा रोग लाग्नै नदिने उपाय के छन् भनी जान्नुपर्छ ।
के छ त क्यान्सर लाग्नै नदिने उपाय ?
क्यान्सर हुनुमा धेरैजसो कारण हाम्रो खराब जीवनशैली हो । खराब खानपान, आनीबानी क्यान्सरको कारण बनिरहेका छन् । यदि हामीले चुरोट रक्सी खाएनौ भने मात्र पनि ९० प्रतिशत भन्दा बढी क्यान्सर र अन्य दिर्घरोगको जोखिमबाट बच्न सक्छौँ । विश्व स्वास्थ्य सङ्गठनले पनि सुर्तीजन्य पदार्थ र रक्सीको सेवन नगर्नु नै स्वास्थ जीवनको पहिलो सर्त मानेको छ ।
पछिल्लो समय हाम्रो खानपान एकदमै धेरै परिवर्तन भएको छ । फस्ट फुड, प्याकेट फुड र जंकफुड हाम्रो दैनिक खाना भएको छ । यस्ता खानेकुराले क्यान्सर लगायत अन्य दीर्घरोगको जोखिम बढाएको छ । यस्ता विभिन्न रोगहरूको जोखिम रोक्न हामीले खानपान परिवर्तन गर्नुपर्छ ।
प्याकेटफुड, जंकफुड भन्दा पनि पहिले देखी नेपालीहरूले खाँदै आएको खाना दाल, भात, तरकारी, अचार आदि साधारण खाना नै स्वास्थ्यकर हुन्छ ।
अहिले मान्छेहरूले कामलाई बढी महत्व दिन्छन् । काम काम भनेर आराम गर्ने समय पनि छुटाउँदैनन् । तर, कामसँगै आरामको लागि समय पनि छुट्टाउनु पर्छ । दैनिक ६ देखी ८ घण्टा आराम गर्नुपर्छ ।
कतिपय दिनमा सुत्ने रातभर काम गर्ने गर्छन् भने त्यो गलत हो । हामीले प्रकृतिको नियम अनुसार चल्नुपर्छ । दिनमा काम गर्ने र रातको समयमा आराम गर्नुपर्छ ।
तनावको कारण पनि विभिन्न शारीरिक तथा मानसिक समस्या बढी रहेको छ । आजभोलि हामी चाहिने भन्दा बढी तनाव लिन्छौँ । आफूसँगै अरूको चिन्ताले मानिसको तनाव बढाएको छ । फलानोले गाडी चढ्यो, फलानो विदेश गयो अरूको कुरा सोचेर हामीले तनाव लिन थालेका छौँ । जुन तनावको कारण निद्रा पनि राम्ररी लाग्दैन, खाना पनि रुच्दैन र क्यान्सर लगायत विभिन्न रोगको जोखिम बढ्छ । त्यसैले अनावश्यक तनाव पनि लिनु हुँदैन । समग्रमा स्वस्थ खानपान, जीवनशैली नै रोगमुक्त जीवनको सूत्र हो ।
प्रतिक्रिया 4