+

सुवास बने भारतमा उपाधि जित्ने पहिलो नेपाली गल्फर

२०८० पुष  १ गते १९:५८ २०८० पुष १ गते १९:५८
सुवास बने भारतमा उपाधि जित्ने पहिलो नेपाली गल्फर

१ पुस, काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयू १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेका छन् ।

रोयल कलकत्ता गल्फ क्लबमा म्याच–प्ले फरम्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९-७ ले पराजित गरे ।

पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् ।

सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

चौथो सिडेड सुवास र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो । पहिलो होल सुवासले जिते । तर दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तिमा एक होलको अग्रता बनाए ।

यसपछि १०औं होल सुवासले जिते र खेललाई बराबरी गरे । १३ औं होलमा सुवासले अग्रता बनाए । तर १४ औं होल फेरि रोहितले जिते । खेल बराबरीमा पुग्यो ।

यसपछि १५ औं, १६ औं र १८ औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिँदा ३–अपको अग्रता बनाए ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए ।

२० औं होलमा हार बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४–अप पुर्‍याए । २४ औंदेखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८–अपको अग्रता बनाउन सफल भए । २८औं होल बराबरी भएपछि सुवासले २९ औं होल आफ्नो पक्षमा पार्दै सानदार जित हासिल गरे । सन् १८९२ मा सुरूआत भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन् ।

सुरुको दुई दिन स्ट्रोक–प्ले फरम्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच–प्लेका लागि छनौट भएका हुन् ।  स्ट्रोक–प्लेमा सुवास १–ओभर ७३ र २–अण्डर ७० खेल्दै चौंथो भएका थिए ।

नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत छन् ।

सुवास तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय